०३ असार २०८३, बुधबार
‘स्क्यामर’को जगजगी

छाडेनन् प्रहरीका बहालवाला एसएसपीसम्मलाई, खसी बेचेको पैसा बैंकमा राख्नेबित्तिकै गायब

पुस २०, २०८१
काठमाडौं
छाडेनन् प्रहरीका बहालवाला एसएसपीसम्मलाई, खसी बेचेको पैसा बैंकमा राख्नेबित्तिकै गायब

नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई मोबाइलमा एउटा म्यासेज आयो । तीन दिनअघि आएको उक्त म्यासेजमा लेखिएको थियो,‘एउटा महंगो सामान ५० प्रतिशत छुटमा पाइएको छ । १० हजार पठाइदिनू, बुक भइहाल्छ ।’ जुन सामान उनलाई चाहिएको पनि थियो ।

ह्वाट्सएपमा आएको उक्त म्यासेजको विश्वसनीयता परीक्षण समेत नगरी ती एसएसपीले तुरुन्तै म्यासेजमा उपलब्ध गराइएको खातामा रकम ट्रान्सफर गरिदिए । एसएसपीले पछि उक्त नम्बरमा फोन लगाउने प्रयास गरे । तर, फोन लागेन। अपराध अनुसन्धान गर्ने प्रहरीकै रकम स्क्यामरले झ्वाम पारिदिए ।

एक साताअघि अवकाशप्राप्त एक एसएसपीलाई इसेवाको लागो राखिएको ह्वाट्सएप नम्बरबाट फोन आयो । उनले फोन रिसिभ गरे । ‘म इसेवाको मुख्य कार्यालयबाट बोलेको, तपाईंलाई बोनस दिने तयारीमा छौं । खाता खोल्नुहोला’, भन्दै फोन आएपछि ती पूर्व एसएसपी खुशी भए । उनलाई फोनमा साढे नौ हजार बोनस दिने भनिएको थियो । फोनमा कुरा भएबमोजिम इसेवाको खाता मात्रै के खोलेका थिए, उनको बैंक खातामा रहेको एक लाख १५ हजार गायब भयो । 

स्क्यामरले दुईदेखि तीन मिनेटको बीचमा उक्त रकम झिकीसकेको थियो । प्रहरीले अनुसन्धान गर्दा उक्त रकम रौतहटको गौरबाट झिकेको पाइयो । 

पोखरामा एक महिलालाई वान–एक्स वेट क्यासिनोबाट बोलेको भन्दै फोन आयो । ५० लाखको चिठ्ठा परेको र उक्त रकम पाउन पाँच लाख रूपैयाँ पठाइदिन भनियो । ती महिलाले पाँच लाख रूपैयाँ तुरुन्त पठाइदिइन् । स्क्यामरले चलाखीपूर्ण तवरले तुरुन्तै चार लाख रूपैयाँ तिनै महिलालाई पठाइदिए । 

ती महिलालाई फोन गरेर स्क्यामरले फेरि १० लाख पठाउन भन्छन् । ती महिलाले निष्फिक्री १० लाख ट्रान्सफर गरिदिन्छिन् । स्क्यामरले दुई लाख रूपैयाँ पठाइदिन्छ र उक्त रकम बोनस भन्छ । यसैगरी पटकपटक गरी ती महिलाले ५७ लाख रूपैयाँ पठाएपछि मात्रै उनी छाँगाबाट खसेजस्तै हुन्छिन् । जतिबेला उनले आफू ठगिएको चाल पाइन् । अनि पुगिन्, प्रहरीको शरणमा ।

दुई हप्ताअघि नेपाल सरकारकै एक जना पूर्वसहसचिवको ह्वाट्सएपमा फोन आयो । ‘सर म कृषि विकास बैंकबाट बोलेको । खाता केवाईसी अपडेट गर्नुपर्‍यो । खाता नम्बर र ओटीपी पाउँ’ भन्दै फोन आएपछि ती पूर्व सहसचिवले सबै विवरण दिए । उनको खातामा रहेको दुई लाख ७५ हजार रूपैयाँ एकछिनमै गायब भयो । 

तीन दिनअघि मात्रै पोखराका एक कृषकलाई स्क्यामरले फोन गरेर खाता अपडेट गर्नुथियो भन्दै सबै विवरण मागे । खसी बेचेर आएको २५ हजार मध्ये उनले १५ हजार रूपैयाँ बैंकमा जम्मा गरेका थिए । स्क्यामरले त्यही १५ हजार पनि खाताबाट चोरिदिए ।

१५ दिनअघि नागर्जुन नगरपालिकाका वडासदस्य स्क्यामरको निसानामा परे । उनलाई खाता अपडेटको लागि भन्दै सबै विवरण मागेर तीन लाख रूपैयाँ स्क्यामरले चोरिदिए । यो महिनाभित्र भएका यी घटनाले स्क्यामरले धेरैलाई निसाना बनाएको देखिन्छ ।  कति उजुरी दिन पुगेका छन् । कति पुगेका छैनन् । 

जसबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र साइबर ब्यूरोले अनुसन्धान गरिरहेका छन् । सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीका अनुसार स्क्यामरले पाँच सय भन्दा बढी मोबाइल नम्बरहरू प्रयोग गरेर सर्वसाधारणलाई झुक्याएर उनीहरूको खाताको रकम चोरी गरेका छन् । 

स्क्यामरले फेसबुक म्यासेन्जेर, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, भाइबर, इमो लगायतबाट फोन गरेर स्क्यामरले विभिन्न डिजिटल वालेटको नाम लिएर ओटीपी नम्बर माग्दै रकम चोरी गर्ने गरेको प्रहरीमा उजुरी थुप्रै परेका छन् । 

‘क्यामरले इसेवा, खल्ती लगायत डिजिटल वालेटमा पटक–पटक गलत पासवर्ड राखेर वालेट टेम्प्रोररी बन्द गर्ने र त्यही समय वालेट प्रयोगकर्तालाई कल गरेको पाइयो’, एसपी बोगटीले भने,‘तपाईंको वालेटमा समस्या आएको छ । हामी सेवाप्रदायक कम्पनीबाट बोलेको भनी ओटीपी माग्ने र क्षणभरमै वालेटमा भएको पैसा बैंक खातामा ट्रान्सफर गर्ने गरेको देखिन्छ ।’

सीआईबीले विभिन्न वालेट कम्पनीका व्यवस्थापन पक्षलाई छलफल गरेर यी कम्पनीमा काम गरेका पूर्वकर्मचारीको विवरण समेत माग गरेको छ । एसपी बोगटीले भने,‘हामीलाई एउटा शंका भनेको यी वालेट कम्पनीहरूकै पूर्वकर्मचारीको संलग्नता छ छैन भन्ने हो, त्यसतर्फ पनि अनुसन्धान अघि बढाएका छौं ।’ 

सीआईबीका अनुसार यी वालेट कम्पनीहरूको सिष्टम कमजोर हुँदा स्क्यामरले चोरी गर्ने अवसर पाएका हुन् । प्रहरीले स्क्यामरले सर्वसाधरणको पैसा चोरी गरेपनि क्षतिपूर्ति रूपमा सम्बन्धित वालेट कम्पनीले रकम तिर्नुपर्नेतर्फ अनुसन्धान गरिरहेको एसपी बोगटीले जानकारी दिए । 

‘पटकपटक एउटै नम्बरबाट रकम ट्रान्जेक्सन भइरहेको जानकारी त सम्बन्धित वालेट कम्पनीहरूलाई अवश्य नै हुन्छ । यस्तो हुँदा ती कम्पनीहरूले त्यस्ता वालेट सञ्चालन गरेर बसेकालाई शंकाको घेरामा राखेर प्रहरीमा उजुरी गर्नुपर्ने हैन र?’ बोगटीले भने,‘हाम्रो अनुसन्धान पीडितलाई सम्बन्धित कम्पनीले नै क्षतिपूर्ति दिनुपर्ने तवरबाट अघि बढेको छ । ’ 

सीआईबीका अनुसार प्रहरीमा परेको उजुरी अनुसार यो बीचमा पोखरामा ती महिलाको ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारका बहालवाला र पूर्व कर्मचारीहरूको पाँच लाख ५० हजार र विभिन्न कम्पनी तथा सर्वसाधरणको करोडौं रूपैयाँ स्क्यामरले चोरी गरेको विषयमा अनुसन्धान भइरहेको छ । स्क्यामर गिरोहका एक सदस्यलाई पक्राउ गरेर सोधपुछ भइरहेको एसपी बोगटीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्