२६ असार २०८३, शुक्रबार

स्वास्थ्य मन्त्रालयमा स्थापित ‘हेल्लो हेल्थ’बाट १३० गुनासो सम्बोधन

पुस २५, २०८१
काठमाडौं
स्वास्थ्य मन्त्रालयमा स्थापित ‘हेल्लो हेल्थ’बाट १३० गुनासो सम्बोधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ ‘हेल्लो हेल्थ’ले १३० गुनासो सम्बोधन गरेको छ ।

नागरिकबाट प्राप्त ती गुनासा रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारका विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख डाक्टर अनुप बास्तोलाले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय मातहत तथा समग्रमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या संकलन तथा समाधान गर्ने उद्देश्यले गत महिना एकाइ गठन गर्ने निर्णय गरेका थिए ।

पैसा नलाग्ने नम्बर १११५ तथा मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२ का साथै मन्त्रालयको आधिकारिक फेसबुक र एक्स ह्याण्डलमा गएर सेवा सम्बन्धमा गुनासो तथा जानकारी दुवै लिने प्रबन्ध गरिएको छ ।

एकाइमा गत पुस ९ गतेसम्म प्राप्त विवरण अनुसार सबैभन्दा धेरै गुनासा अस्पताल सेवासँग सम्बन्धित ४१ दर्ता भएका छन् । यसैगरी, बीमा सेवा २५, पारिश्रमिकसम्बन्धी १४ र प्रशासनिक १५ वटा गुनासा दर्ता भएका छन् ।

सुझाव सम्बन्धी ८ तथा अन्य २१ गुनासा दर्ता भएकामा आवश्यकताअनुसार तत्काल तथा प्राथमिकता दिएर सम्बोधन गरिएको एकाइ प्रमुख बास्तोलाले जानकारी दिए । यसअघि भइरहेको रोग तथा खोपसम्बन्धी जानकारी लिने दिने काम पनि एकाइले गरिरहेको बास्तोलाले बताए ।

मन्त्री पौडेलले आमनागरिकको चाहना अनुसार स्वास्थ्य सेवा सुधार गर्ने क्रममा गुनासो सुन्दै सुनुवाइसमेत गर्ने गरी आवश्यक परे नीतिसम्बन्धी सुधार समेत गर्न सक्ने उद्देश्यले एकाइ गठन गरिएको बताए । ‘आम नागरिकलाई आफ्ना गुनासा भन्ने ठाउँ उपलब्ध होस् भनेर एकाइ गठन गरिएको हो’, उनले भने, ‘आएका गुनासा हरसम्भव सम्बोधनको प्रयास भइरहेको छ । तपाईंका गुनासा निर्धक्कसँग राख्नुस् ।’

उनले नागरिकका धेरै समस्या परेका विषय नीतिगत सुधार आवश्यक परे गर्न तयार रहेको पनि बताए । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पैसा नलाग्ने र गुनासा समेत सम्बोधन हुने भएकाले हेल्लो हेल्थमा गुनासा राख्न आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्