०७ साउन २०८३, बिहीबार

जीसीएफबाट मान्यता पाउने पहिलो वाणिज्य बैंक बन्यो एनआईएमबी

पुस २५, २०८१
काठमाडौं
जीसीएफबाट मान्यता पाउने पहिलो वाणिज्य बैंक बन्यो एनआईएमबी

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ग्रीन क्लाइमेट फन्ड (जीसीएफ)बाट मान्यता प्राप्त गर्ने नेपालकै पहिलो निजी क्षेत्रीय संस्था र पहिलो वाणिज्य बैंक बनेको छ। 

यो मान्यता प्राप्त गरेपछि  बैंकले ५० मिलियन डलरदेखि २५० मिलियन डलरसम्मका परियोजनाहरू व्यवस्थापन गर्न सक्षम भएको छ। यस उपलब्धिले नेपालको निजी क्षेत्रलाई जलवायु वित्तका क्षेत्रमा महत्त्वपूर्ण फड्को मार्न सहयोग पुर्‍याएको बैंकले जनाएको छ । 

ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) ऐतिहासिक पेरिस सम्झौताको एउटा महत्त्वपूर्ण तत्व हो, जुन संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन फ्रेमवर्क सम्झौतामा (यूएनएफसीसीसी) आवद्ध १९४ देशहरूले सन् २०१० मा स्थापना गरेका थिए।

जीसीएफ विश्वकै सबैभन्दा ठूलो जलवायु कोष हो, जसले ‘जलवायु परिवर्तनविरुद्ध अन्तर्राष्ट्रिय समुदायले तय गरेका लक्ष्यहरू प्राप्त गर्न र विकासशील देशहरूलाई आफ्नो राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी)का महत्वाकांक्षाहरू पूरा गर्न सहयोग पुर्‍याउने’ लक्ष्य राखेको छ।

एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले भने, ‘जीसीएफबाट मान्यता प्राप्त गर्न पाउँदा हामी सम्मानित महसुस गर्दैछौं। हामी यस अवसरलाई उपयोग गरी नवीन र परिवर्तनकारी जलवायु परियोजनाहरू कार्यान्वयन गर्न प्रतिवद्ध छौं। मान्यता प्रक्रिया निकै चुनौतीपूर्ण थियो र यसलाई सफल बनाउन वित्त मन्त्रालय (एनडीए), राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डीएईहरू, परामर्शदाताहरू, र सबै सरोकारवालाहरूलाई धन्यवाद दिन चाहन्छौं।’

यस मान्यतासँगै, एनआईएमबीले निजी क्षेत्रलाई दिगो र हरित लगानीका अवसरहरूको विशाल सम्भावना रहेको स्पष्ट सन्देश दिएको उनको भनाइ छ। एनआईएमबी नेपालको जलवायु लक्ष्यहरू प्राप्त गर्न अग्रसर निजी संस्थाहरूका लागि पुलको रूपमा कार्य गर्नेछ । 

बैंकले जलवायु परिवर्तनको मुख्य चुनौतीहरूको सामना गर्न ऊर्जा उत्पादन र पहुँच, यातायात, जनजीविका, दिगो कृषि, स्वास्थ्य, खाद्य तथा पानी सुरक्षा र प्रतिरोधात्मक संरचनाहरूमा केन्द्रित भई निवारण र अनुकूलन परियोजनाहरूमा ध्यान दिनेछ।

स्थानीय समुदाय, सरकारी निकाय र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यद्वारा एनआईएमबीले यी परियोजनाहरूको प्रभावलाई अधिकतम बनाउँदै नेपालको राष्ट्रिय जलवायु लक्ष्य र जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

एनआईएमबी बैंकले देशभर २७२ शाखा, ८१ शाखारहित बैंकिङ सेवा, २६६ एटीएम र ६५ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ  । 

बैंकले आफ्नो परम्परागत सफलता र नवप्रवर्तनमा आधारित भएर अझ प्रगति गर्दै नेपालकै एक अग्रणी वित्तीय संस्था बन्ने लक्ष्य लिएको छ। बैंकले वित्तीय समावेशीकरण प्रवर्द्धन गर्दै दिगो विकास र उत्कृष्ट ग्राहक सेवामा योगदान पुर्‍याउने प्रतिबद्धता राखेको छ।

कमेन्ट गर्नुहोस्