०३ असार २०८३, बुधबार

गौशाला घटना फलोअप : अझै किन खुलेन सुस्मिताको मृत्युको कारण ?

पुस २८, २०८१
काठमाडौं
गौशाला घटना फलोअप : अझै किन खुलेन सुस्मिताको मृत्युको कारण ?

गौशालास्थित एक होटलमा मृत फेलापरेकी कागेश्वरी मनोहराकी २२ वर्षीया सुस्मिता खड्काको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

गौशाला वृत्तले सुस्मिताको शव पोस्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको ११ दिन बितिसकेको छ । 

गत पुस १७ गते होटलको कोठामा मृत फेलापरेकी सुस्मिताको हत्या भएको आशंका गरिएको थियो । सुस्मितासँगै उक्त होटलमा गएका ओखलढुंगा सुनकोशी गाउँपालिका– ३ सिस्नेरीका २३ वर्षीय देवबहादुर थापा पनि पुस २० मा गृहजिल्लामै झुन्डिएको अवस्थामा मृत फेला परे । 

उनीहरूबीच प्रेम सम्बन्ध रहेकोबारे परिवार जानकार थियो । थापा जापान गएर फर्किएका थिए । सुस्मिता पनि जापानिज भाषा पढिरहेकी थिइन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाले घटनाको अनुसन्धान गर्दा तत्काल मृत्युको कारण खुल्न सकेको थिएन । घटनास्थल वरपर कुनै शंकास्पद वस्तु वा अन्य कुनै तथ्य फेलापरेको थिएन । मात्रै राति सँगै बसेका थापा फरार भएको खुल्यो । प्रहरीले खौज्दै गर्दा उनी पनि झुन्डिएको अवस्थामा मृत फेला परे । 

सुस्मिताका आफन्तले प्रहरीमा थापाविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका थिए । गौशाला वृत्तका डीएसपी सुकदेव खनालले शवको पोस्टमार्टम रिपार्ट नआइकन मृत्युको कारण नखुल्ने बताए ।

उनले लोकान्तरसँग भने, ‘कुनै/कुनै घटनामा पोस्टमार्टम रिपोर्ट आउन समय लाग्छ, हामीले भिसेराका लागि पनि पठाएका छौं । रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ ।’

प्रहरीका अनुसार पीडित र पीडक दुवैको मृत्यु भएको अवस्थामा मृत्युको कारण खुल्न समय लाग्छ । 

‘अब यो घटनामा सुस्मिताको मृत्युको कारण पत्ता लगाउनेबाहेक अरू कानूनी प्रक्रिया अगाडि बढ्ने देखिँदैन,’ गौशाला वृत्तका एक अनुसन्धान अधिकृतले भने, ‘घटना वारदातमा संलग्न भनिएका थापाको नै मृत्यु भएपछि प्रतिवादी कसलाई बनाउने ?’  
 

salt training

कमेन्ट गर्नुहोस्