
चिनियाँ नागरिक वाङ हिमिल चायमिलको अपहरण गरेको अभियोगमा ४ भारतीय नागरिक पक्राउ परेका छन् । अर्कातर्फ पीडित भनिएका वाङ आफैं पनि अनलाइन ठगीमा संलग्न रहेको तथ्य खुलेको छ ।
अपहरणमा संलग्न ४ जनामाथि अनुसन्धान गर्दा पक्राउ परेकामध्येका अफा सारुनेस शेख भारतीय प्रहरीमा जागिर खाएर कारबाहीपछि बर्खास्तीमा परेका व्यक्ति हुन् ।
मंगलबार दिउँसो साढे १ बजेतिरै वाङलाई शंकास्पदरूपमा भारतीय नम्बर प्लेटको कारमा हालेर लगिएको थियो । प्रहरीलाई भने दिउँसो सवा ३ बजे मात्रै सूचना आयो ।
तत्कालै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले प्रहरी वृत्त लैनचौरमा खटिएका प्रहरीलाई अलर्ट गराएका थिए ।
त्यतिबेला वाङलाई अपहरण गरी गाडीमा भारतीय नागरिकहरू क्रमशः शेख, आशुतोष दत्रेय थ्रोट, अनमोल खारमत र अनमोल शिरसतले राखेर फर्पिङ कटाइसकेका थिए ।
वाङलाई शेखले भारतीय प्रहरीमा रहँदाको फोटो समेत देखाएर धम्क्याएको खुलेको छ ।
ठमेलको एक होटलबाट उठाइएका वाङ र अपहरणकारी भनिएका भारतीय नागरिकको हुलिया प्रहरीले होटलकै सीसीटीभी हेरेर पत्ता लगाएको थियो ।
लगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरमार्फत इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय चितवनलाई समेत फोटो र गाडीको हुलिया पठाई विशेष निगरानी बढाउन भनियो ।
वाङलाई लिएर गएको गाडी भीमफेदी इलाका प्रहरी कार्यालयको चेक प्वाइन्टभन्दा केही मिटर अगाडि रोकियो ।
राति ८ बजेको समयमा वाङ एकातिर भागे र चालकलाई गाडीमै छाडेर अन्य तीनजना भारतीय अर्कातिर भागे ।
अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षकको टोली भीमफेदी पुगेर त्यहाँको स्थानीय प्रहरीको सहयोगमा जंगलमा सर्च गर्यो ।
सर्च गर्दा ३ भारतीय नागरिक भीर पार गर्न नसकेर रोकिएको अवस्थामा फेला परे । अनुसन्धान कार्यालयका अनुसार ४ जना भारतीय नागरिकलाई पक्राउ गर्दा राति ११ बजेको थियो ।
चिनियाँ नागरिक वाङ भने फर्पिङ चल्ने गाडीमा चढे । प्रहरीले फर्पिङ चेक प्वाइन्टमा उनलाई नियन्त्रणमा लियो । पाँचैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान कार्यालयले सोधपुछ गरिरहेको छ ।
एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘प्रारम्भिक अनुसन्धानमा वाङ पीडित देखिएपनि घटनाक्रम सुन्दा भारतीय नागरिकहरू पनि वाङबाट पीडित देखिन्छन् ।’
वाङ आफैं अनलाइन स्क्यामर !
अनुसन्धान कार्यालयले चारजना भारतीय नागरिकसँग सोधपुछ गर्दा अर्को नयाँ तथ्य फेला पर्यो । अपहरित भनिएका वाङ आफैं अनलाइन ठगीमा संलग्न स्क्यामर रहेको पाइयो ।
पक्राउ परेका भारतीय नागरिकका आफन्त (भान्जा र भाइ)को बैंक खाता नम्बर र ओटीपीमार्फत वाङले अन्य स्क्यामर प्रयोग गरेर रकम आफ्नो खातामा ट्रान्सफर गरेको अनुसन्धानबाट खुलेको छ ।
त्यो कुरा वाङले पनि स्वीकार गरिसकेका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार पक्राउ परेका चारैजना भारतीय पनि महाराष्ट्र प्रहरीबाट वारेन्ट जारी भएका आरोपी हुन् ।
उनीहरूकै आफन्तले उजुरी हालेका थिए । मुद्दा अहिले पनि चलिरहेको छ ।
विगत तीन महिनाको अवधिमा वाङले हाल पक्राउ परेका भारतीय नागरिकको आफन्तका खाताबाट साढे ३ करोड रुपैयाँ ट्रान्सफर गराएका थिए । उक्त रकम वाङले विदेश पठाइसकेका छन् ।
वाङले प्रहरीमा बयान दिएअनुसार थाइल्यान्डको बैंककका एक चिनियाँ नागरिककै योजनामा उनले उक्त स्क्याम चलाएका हुन् ।
वाङले पक्राउ परेका ४ भारतीय नागरिकका आफन्तलाई खातामा ट्रान्सफर भएको रकमको डेढ प्रतिशत दिने शर्तमा खाता नम्बर र ओटीपी लिएका थिए । वाङले पैसा नदिएपछि पीडितहरू भारतीय प्रहरीको शरणमा पुगेका थिए ।
‘घटनाको प्रकृति हेर्दा पीडित भनिएका वाङमाथि नै अनुसन्धान गर्नुपर्ने देखियो,’ अनुसन्धान कार्यालयका प्रमुख एसएसपी भट्टराईले भने, ‘दोभासे लगाएर वाङसँग बयान लिने काम भइरहेको छ ।’
प्रहरीले वाङको मोबाइल फरेन्सिक ल्याबमा पठाउने भएको छ । अनलाइन स्क्याममा वाङ एक्लै हुन् वा अन्यको पनि संलग्नता छ भन्नेतर्फ पनि प्रहरीको अनुसन्धान अघि बढ्ने जानकारी भट्टराईले दिए ।
हेर्नुहोस् भिडिओ :