
टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापामगरले आफ्नी श्रीमती ईश्वरी भुजेलको हत्या गरेको स्वीकार गरेका छन् ।
आफू तनाब, रिस र पारिवारिक विवादका कारण घटनास्थलसम्म पुगेको र ईश्वरीको घाँटी रेटेर हत्या गरेको बयान दिएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार थापामगरविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेसँगै सार्वजनिक भएको अभियोगपत्रमा उनले घटनाको विस्तृत विवरण खुलाएका छन् ।
बयानअनुसार भुजेलसँग लामो समयदेखि वैवाहिक सम्बन्धमा दरार आएको, आफू अर्की महिलासँग प्रेम सम्बन्धमा रहेकाले विवाद झन् चर्किएको र त्यसैबीच वैवाहिक करणी तथा सम्बन्धविच्छेदका मुद्दासमेत अदालतमा विचाराधीन रहेको बताएका छन् ।
घटना भएकै दिन बिहान थापामगर श्रीमतीलाई सैनिक ब्याण्ड गुल्म र त्यसपछि काठमाडौं जिल्ला अदालतमा भेटेर मुद्दा मिलापत्र गर्ने प्रयासमा गएका थिए ।
‘भुजेल अदालतमा उपस्थित भइनन्, साँझ घरमा पुग्दा छोरा र घरमा काम गर्ने युवतीबाट अपमानजनक व्यवहार भयो,’ थापामगरले बयानमा भनेका छन्,‘मानसिक रूपमा अत्यधिक तनाबमा भएपछि घरबाट निस्कँदा ड्युटी सकेर घर फर्किरहेकी श्रीमती देखेँ । गाडी रोकेर सधैं गाडीमा राख्ने गरेको बटनवाला चक्कु लिएर पछ्याएँ, सडक पेटी उक्लिँदै गर्दा समातेर घाँटी रेटेर मरिहोला भनेर हिँडेँ ।’
भुजेलको हत्यापछि चक्कु सडक किनारामा फालेर गाडी चढी त्यहाँबाट निस्किने क्रममा प्रहरीले आफूलाई पक्राउ गरेको भुजेलले बयानमा उल्लेख गरेका छन् ।
‘प्रहरीतर्फ जाँदै गर्दा म पक्राउ परेँ, अनुसन्धानका क्रममा मेरै रोहबरमा हत्या गरिएको चक्कु प्रहरीले बरामद गरेको हो,’ थापामगरले भनेका छन् ।
थापामगरले आफू र आचार्य थर गरेकी एक युवतीबीच प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् । सरकारी वकिल कार्यालयले ती युवतीलाई पनि प्रतिवादी बनाएको छ ।
‘सामाजिक सञ्जालमा सँगै भिडियो बनाउने क्रममा उनको र मेरो सम्बन्ध शुरू भएको हो, त्यसकै कारण श्रीमतीसँग पटक–पटक विवाद, प्रहरीमा उजुरी, मिलापत्र र अन्तत: वैवाहिक करणी तथा सम्बन्धविच्छेदका मुद्दासम्म पुग्यो,’ थापामगरले भनेका छन्,‘श्रीमतीले आफ्नो नाममा वैवाहिक करणीको मुद्दा दर्ता गरेपछि सम्बन्ध थप बिग्रिएको हो ।’
थापामगरले आफूले मुद्दा फिर्ता लिएर मिलापत्र होस् भन्ने चाहना राख्दै आएको दाबी पनि गरेका छन् ।
थापामगरले घटनामा आचार्य थरकी ती युवती, पुजन थापा क्षेत्री, विक्रम थापामगर वा अन्य कसैको संलग्नता नरहेको जिकिर गरेका छन् । घटनास्थलको सीसीटीभी फुटेजमा देखिएको व्यक्ति आफू नै भएको स्वीकार गर्दै त्यसमा देखिएकी स्कुटर चालक आफ्नी श्रीमती ईश्वरी भुजेल भएको सनाखतसमेत गरेका छन् ।
‘मैले श्रीमती ईश्वरी भुजेलको चक्कुले घाँटी रेटी कर्तव्य गरी मारेकोमा कानूनबमोजिम सहन–भोग्न मञ्जुर छु,’ थापामगरले भनेका छन् ।
सरकारी वकिल कार्यालयले थापामगर, आचार्य, थापा र विक्रम थापामगरलाई प्रतिवादी बनाएको छ । गत जेठ २२ गते पयुँटारमा थापामगरले भुजेललाई चक्कु प्रहार गरी हत्या गरेका थिए ।
मृतक भुजेल सैनिक ब्याण्ड नारायणहीटीमा सुवेदार पदमा कार्यरत थिइन् । प्रतिवादी थापामगर पनि विगतमा सेनामै जागिर खाएर छाडेका थिए ।