
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सहायक प्रबन्धक मनोज कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार झाले सेवा प्रवेश गर्दा सन् १९९८ मा मगध विश्वविद्यालय, बोधगया (भारत) बाट प्राप्त बीएस्सी तहको नक्कली शैक्षिक योग्यताको मार्कसिट, इमिग्रेसन सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट र प्रोभिजनल सर्टिफिकेट पेस गरेका थिए ।
उनले २०६४ सालमा ती नक्कली प्रमाणपत्रका आधारमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रमुख सहायक (सहायक केमिस्ट) पदमा शुरू नियुक्ति लिएका थिए ।
पछि सोही झुट्टा कागजात पेस गरी सहायक प्रबन्धक (सातौं तह)मा बढुवा भई ओहोदा, लाभ र सुविधा लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।