१५ असार २०८३, सोमबार

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु सेलिब्रेसन’: आपतकालीन उद्धारका लागि २ वटा हेलिप्याड बनाइने

बुटवल-चन्द्रौटा सडक पनि शिलान्यास हुँदै
माघ ३, २०८१
काठमाडौं
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु सेलिब्रेसन’: आपतकालीन उद्धारका लागि २ वटा हेलिप्याड बनाइने

बहुचर्चित सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ चरणमा आइपुगेको छ  । २०८० माघ ४ गतेदेखि खन्न थालिएको सुरुङमार्गको ब्रेक थ्रु’ (छिचोलिने) यही माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डअन्तर्गत सिद्धबाबा निर्माणाधीन १ हजार १२६ मिटरको सुरुङमार्ग एक वर्षमा ‘ब्रेक थ्रु’को अवस्थामा ल्याइएको इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।

ब्रेक थ्रु गर्ने दिनको लागि एक मिटरको ब्लास्ट बाँकी राखिएको छ । 

‘प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यूसहित विशिष्ट पाहुनाहरूको साथ ब्रेक थ्रु सेलिब्रेसन गर्ने कार्यक्रम माघ ११ गतेलाई छ,’ ज्ञवालीले भनिन्, ‘यो सुरुङमार्गको प्रवेश विन्दु र निकास विन्दुमा इमरजेन्सी रेस्क्युको लागि दुई वटा हेलिप्याड पनि हुन्छ ।’

सुरुङमार्गमा आपतकालीन अवस्थामा उद्धारको लागि भनेर दुई वटा हेलिप्याड बनाइएको इन्जिनियर ज्ञवालीको भनाइ छ ।

हालसम्म सुरुङमार्गको भौतिक र वित्तीय ४० प्रतिशत भएको छ ।

सिद्धबाबा सुरुङ मार्ग आयोजना २०७८ सालमै शुरू भएको हो । सुरुङ मार्ग २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौतामा उल्लेख छ । ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको छ ।

पहाडलाई तराईसँग जोड्ने सुरुङले पश्चिम नेपालको प्रमुख शहर तथा आर्थिक केन्द्र बुटवल भित्रिने प्रवेशद्वारको रूपमा रहेको छ ।

सुरुङमार्गको सञ्चालन हुने बाटोमा आएपछि रुपन्देही, पाल्पा, गुल्मी, बागलुङ, पोखरासम्म जाने आउने मानिसहरूमा खुसियाली छाएको छ ।

अहिले टनेलको ढलान र लाइटिङको काम पनि भइरहेको छ ।  बाह्रै महिना पहिरो झरेर मानवीय र भौतिक क्षति गरेपछि दीर्घकालीन समाधानको लागि पाल्पाको तिनाउ गाउँपालिका–३ मा सुरुङमार्ग बनाउने पहल रुपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य तथा अर्थमन्त्री विष्णु पौडेलले योजना अघि सारेका थिए ।

सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–गोरूसिंगे–चन्द्रौटा सडक खण्डको शिलान्यास गर्ने कार्यक्रम पनि छ ।

सडक आयोजनाका प्रमुख कुशलता न्यौपानेले प्रधानमन्त्री सुरुङमार्गको ‘ब्रेक थ्रु’ सेलिब्रेसन गर्न आउँदा त्यही मौकामा सडकको औपचारिक शिलान्यास कार्यक्रम राखिएको उनले बताइन् ।

बुटवल जीतगढीमा शिलान्यास कार्यक्रम गर्ने तयारी रहेको इन्जिनियर ज्ञवालीले बताइन् । 

‘सडकको काम शुरू भइसकेको छ, पहिलो पुलहरू बन्नेछन्, अहिले बुटवल नारायणगढ जस्तो जताततै भत्काइँदैन । जति बनाउने हो त्यति भत्काउँदै अघि बढनेछ,’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्