०२ असार २०८३, मंगलबार
१० वर्षसम्म प्रहरीलाई चक्मा

ठगीका ‘मास्टरमाइन्ड’– लिभिङमा राखेर युवती ठगे, डाक्टर, प्रहरीदेखि पठाओलाई समेत छाडेनन् !

माघ १३, २०८१
काठमाडौं
ठगीका ‘मास्टरमाइन्ड’– लिभिङमा राखेर युवती ठगे, डाक्टर, प्रहरीदेखि पठाओलाई समेत छाडेनन् !

करिब १० वर्षदेखि खोजीको सूचीमा रहेका कुशल ठकुरी भनिने दिनेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । २०७२ देखि प्रहरीले खोजिरहेका घिमिरेको ठगी धन्दा निकै रोचक छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले लामो प्रयासपछि घिमिरेलाई ठमेलबाट नियन्त्रणमा लिन सफल भएको हो । उनलाई पक्रिन एक पीडित युवतीको सहारा लिनुपरेको थियो । 

घिमिरेको ठगीको निशानामा प्रहरी, डाक्टर, चिया पसलेदेखि पठाओ राइडरसमेत परेका थिए ।

आफूलाई भन्सारको कर्मचारी बताउँदै आएका उनले कसैलाई सस्तोमा सुन मिलाइदिन्छु भन्दै त कसैलाई गाडी मिलाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठग्ने गरेका थिए ।

****

सुनसरीको धरान उपमहानगरपालिका– १६ घर भएर काठमाडौंको बूढानीलकण्ठ बस्दै आएका शाक्य थरका एक डाक्टरसँग उनले साढे ९ लाख रुपैयाँ ठगेका छन् ।

घिमिरेले ‘भन्सारबाट सस्तोमा गाडी लिलाम हुँदैछ । पेश्कीबापत १० लाखमा दिनुस्, ३० लाखमा नयाँ स्कोर्पियो मिलाइदिन्छु’ भन्दै ९ लाख ४९ हजार रुपैयाँ ठगेको उजुरी प्रहरीमा परेको छ । 

गाडी धोएर बाहिर निस्कने बेला शाक्यलाई घिमिरेले ‘डाक्टर भएर यस्तो थोत्रो गाडी चढ्ने होइन नि डाक्टर'साब, म भन्सारमा छु, पेस्कीबापत शुरूमा १० लाख खर्च गर्नुभयो भने नयाँ मोडलको स्कोर्पियो मिलाइदिन्छु’ भन्दै कुरा शुरू गरेका थिए । घिमिरेको गफमा शाक्य मख्ख परे । उनले बैंकमार्फत् दुईपटक गरेर ९ लाख ४९ हजार रुपैयाँ पठाएको खुलेको छ । 

ठगीका मास्टरमाइन्ड घिमिरेले पैसा पठाउने बैंक खाता बुवाको नाममा चलाएका थिए । प्रहरीले अनुसन्धान गर्दा घिमिरेको बुवाको खातामा पैसा ट्रान्सफर भएको देखियो ।

अचम्मको कुरा त बुवालाई बैंक खाता खोल्ने बेला घिमिरेले हस्ताक्षर गराएको मात्रै सम्झना छ । आफैं एटीएम कार्ड लिएर उनले दुरुपयोग गर्दै आएका थिए ।

डाक्टर शाक्यसँग साढे ९ लाख ठगेर घिमिरे सम्पर्कविहीन भएपछि घटना प्रहरीसम्म पुग्यो । 

****

शाक्यजस्तै अर्का व्यक्तिलाई पनि घिमिरेले भन्सारबाट क्रेटा गाडी मिलाइदिने भन्दै ठगेका छन् ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ८ घर भएर चन्द्रागिरि नगरपालिका– ११ बस्ने श्रेष्ठ थरका एक व्यक्तिबाट घिमिरेले गाडीको बैना भन्दै ९ लाख ७५ हजार ठगेका थिए । 

****

काठमाडौं महानगरपालिका –१४ बस्ने एक युवतीलाई घिमिरेले गफैगफमा आफूतिर आकर्षित गराए । ठमेलका महंगा होटलमा लगेर खानपिन गराए । डिस्को समेत गए । ‘विवाह गर्छु’ भन्दै लिभिङ टुगेदरमा राखे । 

‘भन्सारले सस्तोमा सुन लिलामी गर्ने भयो, १०/१५ लाखको जोहो गर, म पनि खोज्छु’ भन्दै युवतीबाट घिमिरेले १५ लाख रुपैयाँ फुत्काए । युवतीले विवाह नै गर्ने भएपछि सुन जोड्न मन गरिन् । जब १५ लाख घिमिरेको हातमा पर्‍यो, उनी सम्पर्कविहीन भए । 

****

रामेछापको सुनापति गाउँपालिका घर भएर हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने एक युवतीलाई घिमिरेले सुनको भन्सार तिर्न भन्दै सापटी मागेर १७ लाख रुपैयाँ ठगी गरेको पाइएको छ । हट्टाकट्टा शरीर र गफ गर्न माहिर घिमिरेले ती युवतीलाई समेत लिभिङ टुगेदरमा राखेका थिए । 

****

घिमिरेले प्रहरी सहायक निरीक्षक (असई), हवल्दार र जवानलाई समेत सस्तोमा सुन दिलाइदिने भन्दै ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

घिमिरेले ठगीको रकम राख्न बुवा, श्रीमती, भाइ र साथीहरूको बैंक खाता प्रयोग गर्दै आएका थिए ।

****

घिमिरे एकपटक गाडी रिजर्भ गरेर जाजरकोट पुगे । जाजरकोटसम्म पुग्दा गाडी चालकलाई गफैबाट मख्ख पारे । काठमाडौं फर्किएपछि सुनको सिक्री सस्तोमा दिलाइदिने भन्दै भाडा नै दिएनन् । ४० हजारमा भाडा डील भएको थियो । तर, घिमिरेले तिरेनन् ।

काठमाडौं फर्किएपछि गाडी चालकले घिमिरेसँग सम्पर्क गर्न खोजे । सम्पर्कमा आएका घिमिरे अहिले ५ हजार लिनुस्, पछि अरू फर्काउँछु भन्दै सम्पर्कविहीन भए । 

****

अभियुक्त घिमिरे

काठमाडौंमै पठाओ राइडरलाई समेत घिमिरेले ठगी गर्न भ्याए । एक दिन उनी बालुवाटारबाट कोटेश्वरका लागि पठाओ चढे । पठाओमा १७० रुपैयाँ देखाएको थियो ।

घिमिरेले पठाओ चढेपछि ‘भाइ सुन किन्ने हो ?’ भन्दै प्रश्न गरे । आफू भन्सारको कर्मचारी भएकाले सुन सस्तोमा मिलाइदिन्छु भने । पठाओ चालकले शुरूमा कुरा पत्याएनन् ।

घिमिरेले मोबाइल नम्बर साटासाट गरे । होटल पुगेपछि इन्टरनेटबाट डाउनलोड गरेको फोटो पठाइदिए । पठाओ राइडरले कति पैसा लाग्छ भनेर सोधे । 

‘दुईतोला सुन हो, एक लाखमा मिलाइदिन्छु’ भन्दै घिमिरेले जवाफ फर्काए । शुरूमा बैनाबापत २५ हजार पठाउन भने । पठाओ चालकले २५ हजार रुपैयाँ ई–सेवाबाट पठाए । पैसा आएपछि घिमिरे सम्पर्कविहीन भए । 

****

घिमिरेले आफू केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी हुँ भन्दै २ एयरहोस्टेजलाई क्यानडा पठाइदिने नाममा २० लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घिमिरेले पैसा ठगी गरे पनि पीडितलाई बेलाबेलामा ५/५ हजार पठाएर थामथुम पार्थे । अझ रोचक कुरा त पैसा तिर्न भन्दै उनले ३ जनालाई पठाओमार्फत चेक समेत पठाएका थिए ।

तर, बैंकमा रकम मौज्दात नभएपछि पीडितले चेक बाउन्स गराएर राखे । काठमाडौं परिसरमा समेत चेक बाउन्सका उजुरी परेका छन् ।

चुरोट पिउँदा पनि छाड्दैनथे मास्क ! 

पीडितहरूले प्रहरीमा जानकारी गराएअनुसार उनले चुरोट सेवन गर्दा समेत मास्क खोल्ने गरेका थिएनन् । एक सर्को तान्ने र मास्क लगाइहाल्ने उनको शैली थियो । किन यसो गरेको भनेर कसैले सोध्दा धेरै धूलो छ भन्ने जवाफ दिन्थे ।

प्रहरी बयानमा घिमिरेले वैदेशिक रोजगारीमा जाने तयारी गर्दा ठगिएपछि ठगी गरेर पैसा कमाउन सकिन्छ भनेर आफूले यो धन्दा शुरू गरेको बताएका छन् । 

घिमिरे शुरूमा कोटेश्वरमा डेरा लिएर बसेका थिए । तर, ठगी धन्दा शुरू गरेपछि उनी कोठामा गएनन् । होटल फेर्दै बस्थे । घरबेटीले भाडा नतिरेको र लामो समय सम्पर्कमा नआएको भन्दै कोठामा ताला लगाइदिएका थिए । उनले घरबेटीलाई ८ महिनाको भाडा तिर्न बाँकी छ । 

घिमिरेविरुद्ध ठगी र बैंकिङ कसुरका ९ वटा उजुरी

२०७२ देखि नै ठगीमा संलग्न रहेका घिमिरेविरुद्ध ठगी र बैंकिङ कसुरमा ९ वटा उजुरी परेको अभिलेख फेला परेको छ । अपराध अनुसन्धान कार्यालयमा मात्रै घिमिरेविरुद्ध ९० लाख रुपैयाँ ठगीका उजुरी परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको कर्मचारी र सीआईबीको कर्मचारी भन्दै उनले मानिसहरूलाई ठग्दै आएका थिए । कुशल ठकुरी नामबाट परिचय दिँदै हिँड्ने घिमिरेले सुन, गाडी र वैदेशिक रोजगारीको सपना देखाउँदै ठग्ने गरेको खुलेको छ ।

अथक प्रयासपछि घिमिरे प्रहरीको पञ्जामा

अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार लामो प्रयासपछि घिमिरे प्रहरी नियन्त्रणमा आएका हुन् ।

डीएसपी मधुकुमार थापा नेतृत्वको टोलीले घिमिरेको खोजीका लागि कहिले चितवन त कहिले रुपन्देही प्रहरीसँग समन्वय गरेका थिए ।

विमानस्थल झर्नेबित्तिकै घिमिरेले प्रहरीबाट जोगिन मुखमा मास्क र क्याप लगाइहाल्थे ।

कोटेश्वर जानुछ भने लाजिम्पाटमा पुगेर मोबाइल अफ गर्ने घिमिरे प्रहरीलाई चक्मा दिएर फरार हुँदै आएका थिए ।

एक युवतीलाई पैसा फिर्ता दिने बहानामा ठमेल बोलाएका बेला प्रहरीले तिनै युवतीको सहयोगमा घिमिरेलाई नियन्त्रणमा लिएको जानकारी एसपी आचार्यले दिए । 

‘ठग्न माहिर घिमिरेले चिया पसलेसम्मलाई बाँकी राखेका छैनन्,’ आचार्यले लोकान्तरसँग भने, ‘अरू त अरू, सस्तोमा सुन दिन्छु भन्दै प्रहरीलाई समेत ठगेको पाइयो ।’

भिडियो : 

salt training

कमेन्ट गर्नुहोस्