
लगातार २ कार्यकाल राष्ट्रपति भएकी विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा फर्किन सक्ने प्रस्ट संकेत दिएकी छिन् । विद्यार्थी राजनीति थालेको क्षेत्र विराटनगर पुगेर सोमबार भण्डारीले एमालेको राजनीतिमा फर्किने प्रस्ट संकेत दिएकी हुन् ।
राष्ट्रपति भइसकेकाले राजनीतिमा फर्किन नहुने भन्दै एमालेभित्रै पनि मत छ । तर, भण्डारीले ‘राष्ट्रपति पद गैर राजनीतिक होइन’ भनेकी छिन् । सँगै आफू राजनीतिमा सक्रिय रहेको पनि बताएकी छिन् ।
‘राष्ट्रपतिको पद गैर राजनीतिक होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु । राष्ट्रिय राजनीतिका समग्र एजेन्डाहरूमा सबै पक्षसँग छलफलमा छु,’ भण्डारीले सक्रिय राजनीतिको भोक व्यक्त गर्दै पत्रकार सम्मेलनमा भनिन्, ‘शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्तन, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेको छु ।’
सोमबार विराटनगर पुगेर पत्रकार सम्मेलन गर्दै भण्डारीले अहिले नै सक्रिय राजनीतिमा जानेबारे आफूले निर्णय लिइनसकेको बताइन् । तर, ‘एमालेमै जन्मेर, हुर्केर आएको हुँ, जाँदा त्यहीँ जाने हो’ भनेर अर्थपूर्ण सन्देश दिन भ्याइन् ।
‘दलीय राजनीतिमा लागेर अब पद र जिम्मेवारी लिने कि नलिने भन्नेमा अहिले नै म प्रवेश गरिसकेको छैन । त्यसैले अब भोलि कुन दलमा काम गर्ने भन्ने पनि कुरा आउँछ होला,’ भण्डारीले प्रस्ट पार्दै भनिन्, ‘म नेकपा एमालेमै जन्मेर, हुर्केर यो ठाउँमा आएको हुनाले अब पार्टीमा जाँदाखेरि त्यहीँ नै जाने कुरा आउँछ । तर, त्योचाहिँ छलफलको चरणमा प्रवेश गरेको छैन ।’
उनले यतिमात्रै बोलिनन्, आफूसँग उपराष्ट्रपति भएका नन्दबहादुर पुन पासाङ माओवादीको राजनीतिमा आउन लागेको भन्दै खुशीसमेत प्रकट गरिन् ।
‘म राष्ट्रपति, उहाँ उपराष्ट्रपति भएर ७ वर्ष सहकार्य गरेका हौं । उहाँ राजनीति गरेरै आउनुभएको हो,’ पासाङ माओवादीमा सक्रिय हुने गरी कार्यक्रममा देखिन थालेकोमा भण्डारीले भनिन्, ‘उहाँ युवा हुनुहुन्छ । अनुभव पनि छ । यसैले उहाँ राजनीतिमा आएकोमा खुशी नै लागेको छ । उहाँलाई मेरो शुभेच्छा छ ।’
भण्डारी दोस्रो कार्यकालमा २०७२ कात्तिक ११ देखि २०७९ फागुन २८ गतेसम्म ७ वर्ष नेपालको राष्ट्रपति भएकी थिइन् । यही अवधिमा माओवादी नेता पुन पनि उपराष्ट्रपति भएका थिए । तर, पछिल्लो केन्द्रीय कमिटी बैठकमा माओवादीले पासाङलाई उपाध्यक्षको हैसियतमा सहभागी गराएको छ । तर, उनलाई दिइने पदको विषयमा पार्टीले निर्णय लिइसकेको छैन । एमालेमा खेल्नका लागि माओवादीले समेत पासाङलाई पार्टीमा आउने गरी बाटो खोलिदिएको चर्चा यी दुवै पार्टीमा छ ।
भण्डारीलाई पुनः राजनीतिमा ल्याउने विषयमा शुरूआतदेखि बोल्दै आएका एमाले नेता कर्ण थापाले सदस्यता नै नवीकरण गर्नुले धेरै सन्देश दिएको बताए ।
‘पूर्व राष्ट्रपति राजनीतिमा फर्किने निश्चित नै छ, किनकि उहाँले सदस्यता नवीकरण नै गरिसक्नुभयो । आफ्नो इच्छाले भन्दा पनि एमालेभित्रै उहाँ आउनुपर्यो, पार्टीलाई सम्हाल्नुपर्यो भन्ने ठूलो पंक्ति छ,’ थापाले भने, ‘त्यसका लागि यो सबै बैठक, तयारी होला भन्ने लाग्छ । यसै शिलशिलामा उहाँ जन्मेको भूगोलमा पुगेर छलफल र आफ्नो स्थिति बुझिरहनुभएको होला भन्ने देखिएको छ ।’
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट स्रोतले भण्डारीको भन्दा अरूको चाहनाले यो विषय आइरहेको बतायो । ‘एमालेका केही असन्तुष्ट नेता र एमालेबाट विभाजित भएर गएका माधव नेपाल पक्षका नेताहरूले धेरै हल्ला चलाउने गरेका छन् । उनीहरूलाई आउने चुनावमा सुरक्षा चाहिएको छ,’ ओलीनिकट स्रोतले भन्यो, ‘पूर्व राष्ट्रपति आफैंले राजनीतिमा आउने गरी प्रभावकारी रूपमा तयारी गर्नुभएको हो भन्ने लाग्दैन । लामो समय राष्ट्रपति भएको, पार्टीमा योगदान गरेको हिसाबले केही कार्यक्रममा सहभागी हुनु र मान्छे भेट्नुलाई अस्वाभाविक मान्न मिल्दैन ।’
राजनीतिमा आउनका लागि कुनै पोजिसनको कुरा नभएको र महाधिवेशन पनि निकट नभएकोले अहिले गरिएका अनुमान हचुवा भएको ओलीनिकट स्रोतको दाबी छ ।
तर, एमालेमा फर्किने बाटो हेरिरहेकी भण्डारीले पनि आफू थप हतारिएको संकेत गर्दै सक्रियता बढाएकी छिन् । मोरङको आदर्श बहुमुखी क्याम्पसबाट राजनीति थालेकी विद्याले त्यहीँ पुगेर पत्रकार सम्मेलन गरिन् ।
सोही ठाउँलाई केन्द्र बनाएर भेटघाटको क्रम बढाउनु, त्यस्तै अभिव्यक्ति दिनुलाई उनले सक्रिय राजनीतिका लागि हतार गरेको रूपमा व्याख्या हुन थालेको छ ।

आफू पढेको, विवाह गरेको, बसेको विराटनगरमा भण्डारीले झण्डै एक साता बसेर राजनीतिक भेटघाट र कार्यक्रममा सक्रियता बढाउँदै छिन् ।
‘कुनै कार्यक्रम विशेषलाई मात्रै गएको भए एकदुई दिनमै फर्किने परिस्थिति बन्थ्यो । तर, उहाँले कम्तीमा एक साताको कार्यक्रम पूर्वको मोरङ आसपास राख्नु अर्थपूर्ण छ,’ एमाले स्रोत भन्छ, ‘हरेक दिन कार्यक्रम राखिनु, आफूले २०३० देखि २०४०/४१ सम्म विद्यार्थी राजनीति गरेको भूगोलमा भेटघाट गर्न खोज्नुको सन्देश रणनीतिक छ ।’
एमाले नेता थापा परिस्थितिले भण्डारीको खोजी भएको बताउँछन् ।
‘मदन भण्डारीको हत्या हुनेसम्मको कठिन परिस्थितिसँग उहाँ जुध्नुभयो । कठिन परिस्थितिको सामना गर्नुभयो । अनेक प्रतिकूलतालाई सहँदै सांसद, केन्द्रीय उपाध्यक्ष र राष्ट्रपतिसम्म बन्नुभयो,’ थापाले भने, ‘यो उहाँको चाहना थिएन । हिजो पनि चाहेर/खोजेर नेतादेखि राष्ट्रपतिसम्म हुनुभएको होइन, आवश्यकता र परिस्थितिले हो ।’
कठिन अवस्थाको सामना गरेर आएकाले फेरि पनि एमालेभित्रैबाट भण्डारीको खोजी भएको दाबी थापाको छ । ‘उहाँ पद खोज्नुहुन्न । कुनै आकांक्षा नै राख्नुहुन्न । तर, पटक–पटक पार्टी पंक्ति र देशले उहाँको आवश्यकता महसुस गरिरहेको छ । जताततै निराशा छ । यसका लागि परिस्थितिको विश्लेषण गरेर आवश्यक परे उभिनुपर्छ भन्नेमा उहाँ हुनुहुन्छ,’ थापाले भने, ‘आउनुपर्छ भन्ने ठूलो जनमत छ । उहाँसँग भेटेर भन्छन्, बाहिर भन्दैनन् । हामी केही नेतामात्रै बोलिरहेका छौं । तर, एमालेको बहुसंख्यक पदाधिकारी, केन्द्रीय सदस्य, मन्त्री र सांसद निरन्तर उहाँसँग भेटिरहेका छन् । राजनीतिमा आउन आमन्त्रण गरिरहेका छन् ।’
पछिल्लो समय एमालेमा देखिने गरी प्रभाव र सक्रियता बढाउन नसकेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत भण्डारीलाई पार्टीमा सक्रिय गराउन खोजेको बताइन्छ ।
भण्डारी एमालेमा फर्किऊन् भन्नेमा पृथ्वीसुब्बा गुरुङ, गोकुल बास्कोटा, कर्णबहादुर थापा, आनन्द पोखरेल, खगराज अधिकारी, कृष्ण राई, डोरमणि पौडेलसहितका नेता रहेको चर्चा हुने गरेको छ ।
पुस १९ गते एमाले उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा, सपना र ताराहरू’ पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथि पनि पूर्व राष्ट्रपति विद्या भण्डारीलाई बनाइएको थियो ।
नेतृत्वसँग असन्तुष्ट नेताहरूले खुलेरै पूर्व राष्ट्रपतिको पक्षमा वकालत गरेका छैनन् । तर, आफ्नो प्रभाव भएका जिल्लामा भण्डारीका लागि माहोल बनाइरहेको एक नेता बताउँछन् ।
‘पार्टीभित्रको शतप्रतिशतजस्तो शक्ति र होल्ड अध्यक्ष ओलीसँगै छ । तर, यो होल्ड असन्तुष्ट नेतासहितको हो । खुलेर कोही पनि अहिलेसम्म अध्यक्षविरुद्ध लाग्न सक्नुभएको छैन,’ एमालेका एक नेताले भने, ‘तर, सधैं ओलीबाट पार्टी चल्न सम्भव छैन भनेर कतिपयले जिल्ला–जिल्लामा भण्डारीका लागि माहोल बनाउने र उहाँलाई वैकल्पिक नेताको रूपमा अगाडि सार्ने गरी काम गरिरहनुभएको छ ।’
अध्यक्ष ओलीविरुद्ध दाउपेचको राजनीति गर्नु नकारात्मक भए पनि भण्डारीको नाममा वामपन्थीबीच एकीकरण गरेर जानुपर्ने स्वस्थ मतलाई स्वाभाविक मान्नुपर्ने थापाले बताए ।
‘एकथरि केपी ओलीविरुद्ध दाउपेचको राजनीति गरौं भन्ने छन् । यो नकारात्मक हो । तर, अर्कोथरि वामपन्थी एक हुनुपर्छ भन्ने छन्,’ थापाले भने, ‘वामपन्थी सबैले स्वीकार्ने पात्रको रूपमा भण्डारी अगाडि हुनुहुन्छ । मनैदेखि यो कुराको विश्लेषण गर्ने, भन्ने र सुन्ने ठूलो पंक्ति छ ।’
गत पुसमा एमालेको सचिवालय बैठकलगत्तै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बूढानीलकण्ठस्थित निवासमै पुगेर भण्डारीसँग भेटवार्ता गरेका थिए ।
भण्डारी एमालेमा सक्रिय हुने चर्चाका बीच उनले साढे दुई घण्टसम्म महत्त्व दिएर भेटेको चर्चा एमाले वृत्तमा छ । भण्डारी एमालेमा सक्रिय हुन खोजेकोबारे ओलीले केही समयअगाडि प्रतिक्रिया पनि दिएका थिए ।
गत साउनमा बसेको सचिवालय बैठकमा ओलीले आफूहरूले चाहेमात्र भण्डारी एमालेको राजनीतिमा आउने बताएका थिए ।
भण्डारीको नाममा अरूले नै राजनीति गर्न खोजेको भन्दै ओलीले पार्टीमा खेल्ने र विवाद गर्नेगरी नलाग्न चेतावनी दिएका थिए ।
‘राष्ट्रपति भइसकेपछि उहाँ राष्ट्रिय सम्मानसाथ बस्नुपर्छ । फेरि एमालेको राजनीतिमा आउनु राम्रो होइन,’ ओलीले भनेका थिए, ‘अरू कसैले पनि त्यस्तो चाहना राखेर उहाँलाई पार्टीमा सक्रिय गराउँछौं भन्नु सही होइन ।’
पार्टीमा कसैले खेल्न खोजे कारबाही गर्ने चेतावनी समेत ओलीले दिएका थिए ।
मदन भण्डारीको ७२ औं जन्मजयन्तीका अवसरमा गत असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रमपछि ओली थप सशंकित बन्न पुगेका थिए ।
एमाले अध्यक्ष रहेका ओलीलाई विशेष अतिथि बनाउँदा भण्डारी सो कार्यक्रममा प्रमुख अतिथि बनेकी थिइन् । आफूले आदर्श मान्ने नेता र आफैंले हुर्काएको संस्थाको कार्यक्रममा नजाँदा गलत सन्देश जाने भएकाले ओलीले अनिच्छापूर्वक सो कार्यक्रममा सहभागिता जनाइएको बताइन्छ ।
ओली मदन भण्डारी फाउन्डेसन आफ्नै कारण खुलेको र आफ्नै इच्छाअनुसार चल्नुपर्छ भन्ने मान्यतामा छन् । तर, पार्टीमा भण्डारीलाई सक्रिय गराउन चाहनेले ओलीलाई नियतवश अप्ठ्यारोमा पार्न खोजेका छन् ।
ओलीले पार्टी बैठकमा अरूले भण्डारीलाई सक्रिय नगराओस् भन्दै राखेको चाहना पूरा भएको छैन । बरु मदन भण्डारी फाउन्डेसनमार्फत भण्डारीले सक्रिय हुने तयारीलाई निरन्तर अगाडि बढाउँदै आएकी छिन् ।
विराटनगर बस्दा ठूला कार्यक्रमभन्दा भण्डारीले सबै क्षेत्रका व्यक्तिसँग भेटघाट कार्यक्रम राखेकी छिन् । श्रीमानसमेत रहेका मदन भण्डारीको नामबाट खुलेको मदन भण्डारी स्मृति प्रतिष्ठान, मदन भण्डारी ट्रमा सेन्टरको कार्यक्रम भण्डारीको प्राथमिकतामा रहेको छ । त्यस्तै, मनमोहन विश्वविद्यालयको कार्यक्रम र पार्टीसँग जोडिएका संस्थाको कार्यक्रमलाई भण्डारीले प्राथमिकतामा राखेकी छिन् ।
दलका नेता, नेतृत्वसँग असन्तुष्ट समूह, विज्ञ, व्यापारी, विद्यार्थी, अभियन्तासहितसँग भेटघाट गर्ने र आफ्नोबारे उनीहरूको धारणा बुझ्ने प्रयास भण्डारीले गरेको बताइन्छ । विराटनगरमा भण्डारीको कार्यक्रमलाई एमाले मोरङका पूर्व पदाधिकारीहरूले सहजीकरण गरिरहेको स्रोतले लोकान्तरसँग बतायो ।