
वर्षौंदेखि अनेक तिकडम गरेर नेता व्यवस्थापन गर्दै आएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्थात् ‘हेडक्वार्टर’लाई चुनौती दिने गरी उपमहासचिव जनार्दन शर्माले गुट खडा गरेका छन् । माओवादीनिकटको अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमार्फत शर्माले आफ्नो गुटको सशक्त उपस्थिति देखाएका हुन् ।
शर्माले हेडक्वार्टरको मात्रै मनोमानी अब नरहने सन्देश निर्वाचन परिणामबाट दिएका छन् ।
पछिल्लो केही समययता विधि, पद्धति, निर्णय र नेतृत्वमा फरक मत राख्दै आएका शर्माले संस्थागतरूपमा क्रान्तिकारीको निर्वाचनमा उम्मेदवार खडा गरेका थिए ।
वर्षौंदेखि एकाधिकारमा पार्टी चलाउँदै आएका प्रचण्डविरुद्ध शर्माले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मै हेडक्वार्टरलाई चुनौती दिनेगरी उम्मेदवारलाई मैदानमा उतारेका थिए । यस क्रममा केन्द्रीय अध्यक्षमा दरिलो चुनौती शर्मा पक्षले दिएको छ । बहुसंख्यक पदाधिकारी आफ्नो पोल्टामा पार्न शर्मा पक्ष सफल भएका छन् ।
विवादपछि ३/४ दिन रोकिएर पुनः भएको मतगणनामा शर्मानिकट अध्यक्षका उम्मेदवार हेमन्त राई मात्रै ७१ मतले पराजित हुन पुगे ।
प्रचण्डनिकटका अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा ६८६ मत ल्याएर विजयी भए । तर, शर्मा निकटका हेमन्तले ६१५ मत ल्याएर चुनौती पेश गरेका हुन् । अध्यक्ष साँघुरो मतले गुमाए पनि क्रान्तिकारीमा वर्चस्व भने शर्मा प्यानलकै देखिएको छ ।
अध्यक्षबाहेकका बहुसंख्यक पदाधिकारी जितेर शर्माले माओवादीमा अब शक्तिशाली गुटको उदय गराएको सन्देश प्रवाह गरेका छन् । अध्यक्ष हेडक्वार्टरले जित्दा उपाध्यक्ष, महासचिव, सचिव, उपमहासचिव र कोषाध्यक्षमा शर्मा पक्षले वर्चस्व जमाएको छ ।
शर्मा पक्षले ९ उपाध्यक्षमध्ये ५, १० उपमहासचिवमध्ये ७, १० सचिवमध्ये ६ वटामा जित हात पारेको छ । शक्तिशाली पद महासचिवमा रोशन थापा र कोषाध्यक्षमा फूलमाया राना मगर पनि शर्मा पक्षबाटै जितेका हुन् ।
सर्वसम्मतको प्रयास सफल नभएपछि शर्माको गुटलाई मात्रै हावी हुन नदिन प्रचण्ड निकटका अरू नेताले पनि उम्मेदवार अगाडि सारेका थिए । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्षमा उपदेश यादव, अर्का उपमहासचिव वर्षमान पुनले सुदिन पौडेललाई अगाडि सारेका थिए । तर, प्रचण्डका उम्मेदवारसँग शर्माको उम्मेदवारले मात्रै फाइट गर्न सके ।
श्रेष्ठ निकटका उपदेशले ३१० मत प्राप्त गरे । अध्यक्षमा वर्षमान निकटका उम्मेदवार सुदिन पौडेलको जम्मा १९२ मत मात्रै आएको छ । आफैंनिकटका श्रेष्ठ र वर्षमानका उम्मेदवार अगाडि सार्दामात्रै प्राविधिक हिसाबले अध्यक्षमा सापकोटा जितेको चर्चा माओवादीभित्र छ । अन्यथा अध्यक्षमा शर्मानिकटका हेमन्तले नै कब्जा गर्ने स्थिति रहेको नेताहरू दाबी गर्छन् ।
सापकोटा प्यानललाई समर्थन गर्न अध्यक्षबाट योगेन्द्र बुढाको उम्मेदवारी फिर्ता गराइएको थियो । बुढालाई कृष्णबहादुर महराले समर्थन गरेका थिए । अन्य उम्मेदवारको सन्तुलन मिलाउन बुढालाई शुरूबाटै स्वतन्त्र उम्मेदवार भन्दै अगाडि सारिएको थियो ।
अर्थात्, माओवादीको आन्तरिक शक्ति सन्तुलनमा हेडक्वार्टरपछि शर्माले आफूलाई शक्तिशाली र वैकल्पिक नेताको रूपमा उभ्याएका छन् । उम्मेदवार खडा गरे पनि श्रेष्ठ र पुन निष्प्रभावी देखिए । पुन पक्षले एक उपाध्यक्ष र दुई सचिव जिते । श्रेष्ठ पक्षले दुई उपमहासचिव र एक सचिव जिते ।
माओवादीका केन्द्रीय सदस्य ओम शर्माले ३२ वर्षे उमेरहद लगाएर गरिएको क्रान्तिकारीको निर्वाचन र त्यसको परिणामले अर्थपूर्ण सन्देश दिएको बताए ।
‘विधि र पद्धतिको विकास गर्न र बाटो खोल्दै नयाँलाई पुस्तालाई अघि बढ्न क्रान्तिकारीको उमेर हदसहितको प्रतिस्पर्धाले बाटो खोलेको छ । विधिको पक्षमा जनार्दन शर्माहरूले सशक्त कुरा उठाउनुभयो । विद्यार्थीले साथ दिए । विधि र पद्धतिबाटै नेतृत्वमा पुग्न सक्ने गरी राजनीतिमा आउने बाटो खुल्यो,’ शर्माले लोकान्तरसँग भने, ‘माओवादीमा सबै पार्टी निकटकाले जितेका हुन्, गुटले जितेको होइन । सधैँ एउटै समूह र सधैँ टीका लगाएर खाने, माथि देखाएर खाइरहने बाटो बन्द भयो ।’

क्रान्तिकारी निर्वाचन र परिणामले २०६४ पछि माओवादीले नयाँ शिराबाट सोच्दैछ भन्ने सन्देश दिएको शर्मा बताउँछन् ।
‘२०६४ पछिको निराशालााई माओवादीले नयाँ शिराबाट सोच्दैछ । विद्यार्थी संगठनमा निर्वाचन गरेर पार्टीकै अरू संगठन र अन्य पार्टीलाई समेत सन्देश दिएको छ । यो माओवादीले देखाएको आशा हो,’ शर्मा भन्छन्, ‘विधि र पद्धतिमा हिँड्दा विद्यार्थीले पनि राजनीतिक प्रतिस्पर्धाबाटै आफूलाई नेतृत्वका लागि काबिल बनाउन पाउनु अवसर हो । अब उनीहरूले शिक्षा र स्वास्थ्यको कुरा उठाएर मुद्दा स्थापित गर्नुपर्छ ।’
अखिल क्रान्तिकारीको मतपरिणामपछि जनार्दन स्वयंले पनि प्रत्यक्ष प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष रहेको प्रतिक्रया दिए ।
उनले बुधबार साँझै सामाजिक सञ्जाल फेसबुकमार्फत् एक टिप्पणी सार्वजनिक गर्दै अखिल क्रान्तिकारीको चुनावको प्रकाशले पूर्ण लोकतन्त्रको पक्षधर माओवादी पार्टी र जन संगठनहरूमा आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न निरन्तर प्रकाश छरिरहने उल्लेख गरे ।
‘यस निर्वाचनका क्रममा प्राप्त केही शिक्षाहरू : जसरी पनि जित्नुपर्छ भन्ने मानसिकतालाई अन्त्य गर्न प्रतिनिधिहरूलाई निर्देशित जनवादको सट्टा स्वविवेक प्रयोग गर्ने उनीहरूको अधिकारको सुनिश्चिता गर्न जरुरी छ। निर्वाचनप्रति नकारात्मक सोच बनाउनुको सट्टा स्वस्थ, स्वच्छ र निष्पक्ष रूपले प्रतिस्पर्धा गराउन सक्षम निर्वाचन आयोग सोही अनुरुपको सहजकर्ता, व्यवस्थापन, दबाबमुक्त रूपमा कार्य सम्पादन गर्ने वातावरण तयार पार्न ध्यान दिनुपर्छ’, शर्माले लेखेका छन् ।
शर्मा निकटका अर्का एक केन्द्रीय सदस्य लक्ष्मण पन्त क्रान्तिकारीको चुनावी अभ्यास र नतिजाको सन्देश अर्थपूर्ण रहेको बताउँछन् ।
‘शान्ति प्रक्रिया हुँदै लोकतान्त्रिक प्रक्रियामा आएपछि पनि पार्टीको तहमा विद्यार्थी र अन्य जनवर्गीय संगठनका तहमा चुनाव र सशक्तीकरणको अभ्यास गरेन भनेर निरन्तर प्रश्न उठेका थिए । हाम्रो माओवादी आन्दोलनमाथि नै प्रश्न उठाउने काम भएको थियो,’ पन्त भन्छन्, ‘अहिले क्रान्तिकारीमा ३२ वर्षको उमेर हद अनि नेतृत्व चयन चुनावमार्फत गरेर माओवादीले उठेका प्रश्न, सशक्तीकरण र लोकतान्त्रिकरणमा हामी छौं भन्ने सशक्त सन्देश प्रवाह गरेको छ ।’
हिजोका दिनमा अति केन्द्रीकृत नेतृत्व रहेको भन्दै माओवादीमा अब ती दिन सकिएको सन्देश प्रवाह भएको पन्त बताउँछन् ।
‘अरू पार्टी पनि ‘वान म्यान’को रूपमा चलेको देखिन्छ । हाम्रै पार्टीको पनि स्थिति त्यस्तै रहँदै आएको छ । हामीलाई स्टालिनवादी मानिँदै आएको छ किनकि केन्द्रीयतावादीको आरोप सधैँ लागिरह्यो,’ पन्त भन्छन्, ‘अभ्यासमा पनि अति केन्द्रीकृत थियो । तर, क्रान्तिकारीको चुनावको सानो फोरममा भए पनि केन्द्रीयतावादी होइन, लोकतान्त्रिक शक्ति हौं भन्ने सन्देश प्रवाह भएको छ ।’
क्रान्तिकारीको चुनावबाट हौसिएको शर्मा पक्ष पार्टी संगठन, अन्य जनवर्गीय संगठनसहितका संरचनामा अब चुनावी बहसको विषयलाई प्रवेश गराउने बाटो खुलेको बुझाइमा छ ।
माओवादीमा पछिल्लो समय अध्यक्ष प्रचण्ड नै आए पनि बाकसमा भोट हालेरै आउनुपर्ने बहस संस्थागत हुँदै गएको उनी बताउँछन् ।
‘नेता विशेषमाथि मात्र होइन, माओवादी आन्दोलनमाथि नै प्रश्न उब्जेका थिए । चुनावलाई सधैँ बेवास्ता गरिएको भन्दै हामी प्रश्न सामना गरिरह्यौं । पछिल्लो समय पार्टीमा पार्टी संगठन कसरी बन्छन्, संगठनमा कसरी ज्यान हाल्न सकिन्छ भन्ने बहस सुषुप्त अवस्थामा थियो,’ पन्तले भने, ‘यस्ता बहस पार्टीका फोरममा मतका रूपमा अगाडि बढेको थियो । त्यो बहसलाई क्रान्तिकारीले एउटा उचाइमा ल्याएको छ, । हामी बाकस थापेर प्रचण्ड पनि चुनिएर आउनुपर्छ भन्ने बहस गर्दै आएका छौं । यो मागको थप पुष्टि क्रान्तिकारीले गरेको छ ।’
जनार्दन समूहकै अर्का एक नेता अब माओवादीभित्र सधैँ खेलेर सन्तुलन मिलाइराख्न प्रचण्डलाई सहज नभएको बताउँछन् ।
‘माओवादी जनयुद्धदेखि अहिलेसम्म झण्डै ३० वर्ष माओवादीभित्र अध्यक्ष प्रचण्डले सन्तुलन मिलाएरै यहाँसम्म आउनुभयो । तर, पछिल्लो केही समययता जनार्दन कमरेडले पार्टीमा नीति, विधि, निर्वाचन, नेतृत्व हस्तान्तरणको विषयलाई बहसमा भित्र्याउनुभएको छ,’ शर्मानिकटका ती नेता भन्छन्, ‘हेडक्वार्टरको दबदबाबीच क्रान्तिकारीमा अध्यक्षदेखि पदाधिकारी र केन्द्रीय सदस्यमा प्यानल बनाएर उम्मेदवार खडा गर्नु र बहुसंख्यक हिस्सा जित्नु सानो सन्देश होइन । अध्यक्षले फेरि पनि सन्तुलन मिलाउन खोज्नुभएकै थियो । तर, अब परम्परागत मोडलको सन्तुलनले काम गर्दैन भन्ने नतिजाले देखायो ।’
पार्टी केन्द्रमा बलियो दबाब र प्रभाव बनाउन सक्ने स्थितिमा शर्मा पक्ष छैन । तर, क्रान्तिकारीको चुनावबाट प्रचण्डनिकटका अन्य नेताभन्दा शर्माले आफूलाई लोकप्रिय र वैकल्पिक नेताको रूपमा उभ्याएका छन् ।
शर्मालाई पछिल्लो समय राम कार्की, सुदन किराँती, राजकुमार शर्मा, अनिल शर्मा, लक्ष्मण पन्त, ओम शर्मासहितका नेताले समर्थन गर्दै आएका छन् ।