३२ असार २०८३, बिहीबार

सेती नदीबाट अवैध उत्खनन, तीन टिप्पर नियन्त्रणमा

असार ३२, २०८३
कास्की
सेती नदीबाट अवैध उत्खनन, तीन टिप्पर नियन्त्रणमा
फाइल तस्वीर

जिल्ला समन्वय समिति कास्कीले वर्षाको समयमा जिल्लाभर नदीजन्य सामग्री उत्खननमा रोक लगाएको भए पनि रातिको समयमा नदीबाट अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसार भइरहेको पाइएको छ।

जिल्लाका पाँचवटै स्थानीय तहले पनि यस अवधिमा नदीजन्य सामग्री निकाल्न रोक लगाएका छन्। त्यसका बाबजुद चोरीछिपी उत्खनन र बिक्री भइरहेको भन्दै नागरिकबाट गुनासा आएपछि प्रहरीले निगरानी बढाएको छ।

यसै क्रममा पोखरा महानगरपालिका–२५ स्थित सेती गण्डकी नदीबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको अवस्थामा प्रहरीले तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति करिब १०ः२५ बजे सेती गण्डकी नदी किनारमा बालुवा उत्खनन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बालुवा ‘लोड’ गरिरहेका तीन वटा टिप्पर र चालकलाई नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधन र चालकलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकामा पठाइएको थियो। महानगरपालिकाले प्रत्येक सवारीसाधनलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरेर छाडेको उनले बताए।

प्रहरी नायब उपरीक्षक पासवानले नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसारविरुद्ध निगरानी तथा कारबाहीलाई अझ प्रभावकारी बनाइने बताए।

उनले प्राकृतिक स्रोतसाधनको संरक्षणमा सहयोग गर्न र यस्ता गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरे। अवैध कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको उनको भनाइ छ।

जिल्ला समन्वय अधिकारी नवराज बरालले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ अनुसार असारदेखि भदौ मसान्तसम्म नदीबाट उत्खनन र सङ्कलन गर्न नपाइने बताए।

विकास निर्माणका काम प्रभावित नहुने गरी कानुन र मापदण्डको पालना गर्नु आवश्यक रहेको बताउँदै उनले अवैध उत्खनन रोक्न सबै सरोकारवाला निकाय, व्यवसायी र स्थानीय तहलाई जिम्मेवार बन्न आग्रह गरे। निर्णयको अवज्ञा गर्ने जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने उनले चेतावनी दिए।

salt training

कमेन्ट गर्नुहोस्