०९ साउन २०८३, शनिबार

कीर्तिपुरमा ‘डेडिकेटेड बर्न अस्पताल’ निर्माणमा चौधरी ग्रुपको सहयोग

माघ १८, २०८१
काठमाडौं
कीर्तिपुरमा ‘डेडिकेटेड बर्न अस्पताल’ निर्माणमा चौधरी ग्रुपको सहयोग

कीर्तिपुर अस्पतालमा रहेको बर्न सेन्टरलाई देशकै जलन उपचारको प्रमुख अस्पतालका रूपमा विस्तार गर्ने सरकारको योजनामा चौधरी ग्रुपले सहकार्य गर्ने भएको छ।  

बिहीबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरी, सांसद चन्द्र भण्डारी, कीर्तिपुर अस्पतालका प्रतिनिधि, बर्न सेन्टरका चिकित्सकसहित सरोकारवालासँगको बैठकमा जलन उपचारको डेडिकेटेड अस्पताल निर्माण गर्ने सरकारको योजना अन्तर्गत चौधरी ग्रुपसँगको सहकार्यमा पहिलो चरणको काम अगाडि बढाउने समझदारी भएको हो । 

कीर्तिपुर नगरपालिका र फेक्ट नेपालद्वारा संयुक्त रूपमा सञ्चालित कीर्तिपुर अस्पतालमा चौधरी ग्रुपको सहयोगमा बर्न अस्पताल निर्माण कार्य अगाडि बढ्ने भएको हो । 

मन्त्री पौडेलले मुलुकमा विशिष्टिकृत सेवासहितको जलन उपचार केन्द्र निर्माण गर्ने सरकारको योजनामा चौधरी ग्रुपसँगको सहकार्य महत्त्वपूर्ण हुने बताए । उनले भने, ‘माननीय विनोद चौधरीज्यूले जसरी डेडिकेटेड बर्न सेन्टर निर्माणका लागि चासो राख्नुभयो र आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो, यसले सरकारको लक्ष्य प्राप्तिमा ठूलो सहयोग पुगेको छ ।’

उनले चौधरी ग्रुपसँगको सहकार्यमा कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको जलन अस्पताल निर्माण हुने विश्वास व्यक्त गरे । कीर्तिपुरलाई जलन उपचारमा देशकै विशिष्टिकृत अस्पताल बनाउने र बाँकी ६ वटा प्रदेशमा रहेका जलन वार्ड विस्तार कार्य पनि सँगैसँगै भइरहेको मन्त्री पौडेलले जनाए । 

सांसद चौधरीले नेपालमा सुविधासम्पन्न जलन उपचार केन्द्रको अभाव भएकाले आफूले यसलाई प्राथमिकतामा राखेको बताए । कांग्रेस नेता चन्द्र भण्डारीसँगको कुराकानीपछि नेपालमा विशिष्टकृत सुविधासहितको जलन अस्पताल स्थापना गर्ने लक्ष्य लिएको सांसद चौधरीले बताए । 

‘माननीय चन्द्रजीको जुन दुर्घटना भयो, उहाँले नेपालमा डेडिकेटेड बर्न अस्पतालका लागि सरकारसँग निरन्तर पहल गरिरहनुभएको थियो, त्यसमा खासै प्रगति नभएको मैले पाएँ । उहाँसँगको कुराकानीपछि मैले यसको आवश्यकता नेपालमा महसुस गरेँ,’ उनले भने, ‘त्यहाँ काम गर्दै आउनुभएको चिकित्सकहरूसँग कुराकानी भयो । मन्त्रीज्यूले सकारात्मक रूपमा लिनुभयो । करिब तीन महिनाको हाम्रो पहलले अब सार्थकता पाउँदैछ ।’

काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्याँस लिक भएर आगलागी हुँदा कांग्रेस सांसद भण्डारी गम्भीर घाइते भएका थिए । नेपालमा उपचार सम्भव नभएपछि उनको भारतमा उपचार भएको थियो । सांसद भण्डारीले नेपालमा डेडिकेटेड जलन अस्पताल निर्माणका लागि सरकारसँग माग गर्दै आएका छन् । 

अघिल्लो वर्ष सरकारले कीर्तिपुरको बर्न अस्पताललाई देशकै प्रमुख जलन उपचार केन्द्रका रूपमा विस्तार गर्ने घोषणा गरेपनि काम अगाडि बढ्न सकेको थिएन । नयाँ सरकार निर्माण भएसँगै कांग्रेस सांसद पौडेल स्वास्थ्यमन्त्री बनेपछि उनले अघिल्लो सरकारको योजनालाई अगाडि बढाएका हुन् । 

स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा चौधरी ग्रुपले राष्ट्रिय जलन उपचार केन्द्र निर्माणका लागि सहयोग गर्न लागेको हो । सांसद चौधरीले सरकारसँगको समन्वयनमा केन्द्रको भवन निर्माणका लागि छिट्टै काम शुरू गरिने जानकारी दिए। 

फेक्ट नेपालका अध्यक्ष डा. भरत प्रधानसहित उपस्थित छलफलमा चौधरी फाउण्डेसनले बर्न अस्पताल निर्माणबारे आफ्नो कार्ययोजना प्रस्तुत गरेको थियो । ‘हामीले सरकारसँगको समझदारी अनुसार तोकिएकै समयमा काम सम्पन्न गर्नेछौं’, फाउण्डेसनले भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्