
वरिष्ठ समालोचक तथा सर्जकहरूले गोपी मैनालीको हालै प्रकाशित कथासङ्ग्रह ‘विशंङ्खलित सपना’ सामान्य कथामा गहन दृष्टि र उत्कृष्ट शैली भएको बताएका छन् ।
साहित्यिक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा उनीहरूले कथाकार मैनालीले आफ्नो कृतिमा नेपाली जनजीवनका भोगाइका उत्कृष्ट अभिव्यक्ति समावेश गरेका बताए ।
संघका सभापति एवं अन्तराष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ कवि एवं कथाकार महेश प्रसाईंले भने, 'शंकर लामिछाने पछि गोपी मैनालीका निबन्ध अलग्गै पहिचान कायम गर्न सफल छन्, कथासङ्ग्रह विशृङ्खलित सपना पनि त्यसैको एक उदाहरण हो ।'
वरिष्ठ समालोचक प्रमोद प्रधानले मैनालीका कथाहरूमा झिनो कथानक भए पनि गहन दृष्टि र उत्कृष्ट शैलीले विशेष भएको बताए ।
चर्चित नियात्राकार प्रतीक ढकालले मैनालीका कथाहरू नेपाली जनजीवनका भोगाइका उत्कृष्ट अभिव्यक्ति हुने गरेको बताए ।
मैनालीका कृतिहरूको अंग्रेजी भाषामा अनुवाद भएमा नेपाली कथाको उचाइको परिचय विश्वव्यापी हुने उनको भनाइ छ ।
यस्तै, चर्चित समीक्षक अनिता कोइरालाले मैनालीका कथाहरूमा मिहिन ढंगबाट मनोविज्ञानको विश्लेषण र भोगाइको अनुभूति सँगालिएको बताइन् ।
सङ्ग्रहमा रहेका सत्र कथामध्ये महेश प्रसाईंले पाँच र प्रमोद प्रधान, प्रतीक ढकाल र अनिता कोइलाबाट ४/४ कथाको विश्लेषण गरेका थिए ।
कार्यक्रममा परिचर्चा कार्यक्रममाथि विषयवस्तुको प्रकाश पार्दै वरिष्ठ समालोचक युवराज मैनालीले मैनालीका कथामा मिहिन मनोविश्लेषण, फराकिलो दृष्टिकोण, ग्रामीणदेखि विश्वव्यापी परिवेश र उत्कृष्ट शैली रहेकोले उनीबाट नेपाली साहित्यले धेरै सिर्जना पाउनु पर्ने बताए ।
स्वागत गर्दै वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीले मैनालीका निबन्ध र समालोचना प्रवृत्तिको विश्लेषण गर्दै कथामा पनि उनको प्रवेशले कथा कस्तो हुनुपर्छ भन्ने पहिचान दिएको बताए ।
'नेपालको निजामती प्रशासनमा रहँदा जसरी उत्कृष्ट छवि कायम गर्नुभएको छ, साहित्यमा पनि त्यही छवि देखिएको छ,' उनले भने ।
वरिष्ठ कवि एवं आध्यात्मिक चिन्तक हरिभक्त सिग्देल महेशले साहित्य, सुशासन र प्रशासनमा समान छवि भएका मैनालीका कथाले नेपाली समाज र विश्व परिवेशलाई बोकेको बताए ।
कथाकार गोपी मैनालीले आफूले आफ्नै परिवेशका घटना र अनुभूतिलाई आख्यानीकरण गरेको र कथाका विषयवस्तु आफ्नै परिवेशका विषय भएको बताए ।