
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परसिूचकले झन्डै २ महिनापछि २७०० माथिको बिन्दुलाई पुनः परीक्षण गरेको छ ।
दुई महिनाअघि मंसिर अन्तिम साता २७०० बाट झरेको परिसूचकले यससाता (माघ २० देखि २४ गतेसम्म) पुनः उक्त बिन्दुलाई परीक्षण गरेको हो ।
अन्तिमपटक गत मंसिर २६ गते परिसूचक २७१५.७१ को बिन्दुमा कायम भएको थियो । त्यसयता परिसूचकले उक्त बिन्दुलाई पार गर्न सकेको थिएन । विश्लेषकहरूले शेयर बजार साइडवेज मुभमेन्टबाट बाहिर निस्किने प्रयासमा रहेको बताए ।
साताभर नेप्से ४२.०४ अंकले बढ्दा ५१ अर्ब ९५ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साताको पहिलो दुई कारोबार दिन परिसूचक बढ्यो भने, तीन कारोबार दिन केही करेक्सन देखियो ।
अघिल्लो साता (माघ १३ देखि १५ गतेसम्म) शेयर बजार ३.४२ अंकले बढ्दा २७ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो । विश्लेषकका अनुसार गत सातासम्म शेयर बजार २५४५ देखि २६८० सम्मको साइडवेज मुभमेन्टमा चलिरहेको थियो, जसलाई यस साता तोडिएको छ ।
यस साता नेप्से साइडवेज मुभमेन्टबाट बाहिर आएको शेयर विश्लेषक सुभाष ढुंगाना बताउँछन् । पुनः २७०० को बिन्दुमा परीक्षण भएर नयाँ मुभमेन्ट बन्न सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
‘लामो समयदेखि चलिरहेको साइडवेज मुभमेन्ट तोडिएको छ । अब पुनः रि–टेस्ट हुने देखिन्छ’, उनले भने, ‘एउटा क्यान्डल ग्रीन बन्यो भने नयाँ मुभमेन्ट समात्छ ।’ बजार रि–टेस्ट हुँदै २८०० देखि ३००० को साइडवेज मुभमेन्ट बन्न सक्ने उनको आकलन छ ।
जहाँ यस साता बजारमा कारोबार रकमले पनि सपोर्ट गरेको देखिन्छ ।
यस साता यस्तो रह्यो कारोबार
साताको पहिलो कारोबार दिन नै बजारमा उच्च अंकको उछाल देखियो । दोस्रो दिन सामान्य अंकले बढेपछि तेस्रो, चौथो र साताको अन्तिम दिन सामान्य अंकले करेक्सन आयो ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ को बिन्दुमा बन्द भयो । यस दिन बजारमा १२ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन सोमबार २.४१ अंकले परिसूचक बढेर २७३० को बिन्दुमा बन्द भयो ।
तेस्रो कारोबारका दिन मंगलवार परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ को बिन्दुमा बन्द भयो । सो दिन बजारमा सामान्य करेक्सन देखिएको लगानीकर्ताहरूले बताएका थिए ।
साताको चौथो कारोबार दिन बुधवार ४.४५ अंकले घटेर परिसूचक २७११.४५ को बिन्दुमा बन्द भयो । यस दिन १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन परिसूचक ११.६४ अंकले घटेर २९९९.८१ को बिन्दुमा बन्द भयो । बिहीबार बजारमा ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रुपैयाँको कारोबार भयो ।