
बारामा यस वर्ष ९३ हजार ३३० मेट्रिकटन चैतेधान उत्पादन भएको छ । जिल्लामा १८ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट उक्त परिमाणमा उत्पादन भएको हो ।
कृषि ज्ञानकेन्द्रका प्रमुख राजनारायण साहले किसानले विभिन्न जातका चैतेधान १८ हजार ३०० हेक्टर क्षेत्रफलमा खेती गरेकामा प्रतिहेक्टर ५ दशमलव १ मेट्रिकटनका दरले उत्पादन भएको जानकारी दिए ।
उत्पादित धान कलैया बजारमा प्रतिक्विन्टल दुई हजार रुपैयाँमा बिक्री भइरहेको कृषि अर्थविज्ञ गणेश महराले बताए । उनका अनुसार चैतेधान बिक्रीबाट किसानले कुल एक अर्ब ८६ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
गत वर्ष जिल्लामा १८ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको थियो । सो वर्ष पनि प्रतिहेक्टर ५ दशमलव १ मेट्रिकटन उत्पादन भएको र बिक्रीबाट दुई अर्ब एक करोड ९६ लाख रुपैयाँ बराबर आम्दानी भएको थियो ।