
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनु नपर्ने बताएका छन् ।
बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउने औषधि नेपालले प्राप्त गरेपछि सहयोगी दाताहरूलाई धन्यवाद दिँदै उनले यस्तो बताएका हुन् ।
विश्व स्वास्थ्य संगठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्स अन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप प्राप्त गरेको हो । क्रमैसँग थप औषधि उपलब्ध हुने संगठनले जानकारी दिएको छ ।
मन्त्री पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनु नपरोस् भनेर मन्त्रालयले मंसिर १ गतेबाट लागू हुने गरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै प्राप्त सहयोग बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
‘देशको प्रमुख स्वास्थ्य समस्या बनिरहेको क्यान्सर नियन्त्रणका लागि हामीले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवर्द्धनका लागि पनि काम गरिरहेका छौं,' मन्त्री पौडेलले सन्देशमा भनेका छन्, ‘कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट वञ्चित नबनून् भनेर हामीले निःशुल्क उपचारको व्यवस्था पनि गरेका छौं ।’
मन्त्री पौडेलले क्यान्सरको उपचारलाई विस्तार गर्दै सबै प्रदेशमा पुर्याउने काम भएको भन्दै यसमा यसमा क्रमैसँग सुधार ल्याउने योजना रहेको उल्लेख गरे ।
प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारका लागि उपयोग हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।
'बाल क्यान्सरको निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णयमा यी औषधिले महत्त्वपूर्ण भूमिका खेल्नेछन्,' उनले भने, ‘क्यान्सर नियन्त्रणमा प्रभावकारी काम गर्ने मन्त्रीज्यूको निर्णयमा बाल क्यान्सरको निःशुल्क उपचार एक महत्त्वपूर्ण निर्णय हो ।’