२८ जेठ २०८३, बिहीबार

डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन् गरिँदै

फागुन ८, २०८१
डडेल्धुरा
डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन् गरिँदै

डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन् शुरू गरिएको छ । पुरातत्व विभागको टोलीले उत्खनन शुरू गरेको हो छ । 

उत्खनन्‌का लागि गाउँपालिकाले ९० लाख रकम विनियोजन गरेको थियो । सो बजेटको सहयोगमा पुरातत्व विभागको टोलीले २३ दिनदेखि उत्खनन् गरिरहेको छ ।

अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद् भाष्कर ज्ञवालीले बताए ।

पहिलो पटक उत्खनन् गरी अध्ययन, अनुसन्धान शुरू गरिएको यहाँको कलाकृति र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र रहेको उनले बताए । 

अधिकृत ज्ञवालीका अनुसार उत्खनन्‌का क्रममा भग्नावशेषको ‘नम्बरिङ’ गर्ने काम भइरहेको छ । उनले भने, ‘अजयमेरुकोटको विशिष्ट कलाकृति र निर्माणशैली कर्णाली नदी पूर्वका देवल भन्दा फरक छ ।’

उत्खनन्‌मा प्राप्त विवरण अनुसार बीचमा मण्डप बनाएर दायाँबायाँ देवल बनाउने शैली छ । बैठक कक्ष र नाउला विशिष्ट किसिमका छन । अजयमेरुकोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयासस्वरूप पुरातत्व विभागको अर्को टोलीले थप अध्ययन गर्ने उनले बताए । 

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले अजयमेरुकोट जस्ता ऐतिहासिक तथा पर्यटकीयस्थलको संरक्षण र प्रवर्द्धनमा तीनै तहका सरकारको ध्यान जानुपर्ने बताइन् । उनले प्रदेश सरकार यस्ता कार्यक्रममा आवश्यक सहयोग गर्न तयार रहेको बताइन् । 

अजयमेरुकोट संरक्षणको महत्त्व अझ बढ्दै गएकाले स्थानीय तहले संघ र प्रदेश सरकारबाट थप बजेट तथा आवश्यक सहयोग माग गरेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्टले जानकारी दिए । 

अजयमेरुकोटको स्थापना १३औं शताब्दीको उत्तरार्धमा कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयदेव पालले सिञ्जा राज्यसँग लडाइँ गरी जितेर स्वतन्त्र राज्य घोषणा गरी कोट स्थापना गरेको किंवदन्ती छ ।     
     
एकथरिले यस कोटलाई राजा नागी मल्लद्वारा निर्माण गरिएको पनि भन्ने गरेका छन् । यद्यपि प्रमाणहरूले यो कोट कत्युरी वंशजका पाल राजाले निर्माण गरेको पुष्टि भएका छन् । रैका राजवंशका नागी मल्लले १४४१ मा अजयमेरुलाई कब्जा गरेपछि मात्रै अजयमेरुकोट नागी मल्लको कोटका रूपमा चिनिएको बताइन्छ । यस ठाउँमा राजा निरयपालदेवका ताम्रपत्र र १४१९ सम्मका शिलालेखहरू पाइन्छन् । 

अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठकस्थलसहितका ऐतिहासिक वस्तु छरिएर रहेका छन् । हाल अजयमेरुमा रहेका तीन नाउलामध्ये दुई नाउलाको भग्नावशेष मात्र छन् । एक नाउला पानी खान प्रयोग भइरहेको छ । ढुङ्गे देवल र नाउलामा कुँदिएका कलात्मक मूर्तीले प्राचीन वास्तुकला झल्काउँछ ।

अजमेरुकोटको मुख्य दरबार भएको स्थानको डाँडालाई गाड (खोला)ले घेरेको छ । तल गाडदेखि माथि कोट भएको स्थानमा पुग्न १५–२० मिनेट उकालो उक्लनुपर्छ । कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदार बस्ने हवेली भग्नावशेषका रूपमा देखिन्छन् । 

दरबारको संरचना सबै भत्केको अवस्थामा छ । बन्ने बेलामा मुख्य दरबार सात तलाको थियो भनिन्छ । सबैभन्दा माथिल्लो तलाबाट उत्तराखण्डमा कत्युरी राजाबाट निर्माण गरिएको कत्युरी राजवंशको कुलदेवी जगदम्बा भगवतीको मन्दिरको दर्शन गर्ने र जल चढाउने गरिन्थ्यो ।

यही छेउतिर राजाका घोडा बाँध्ने स्थान छ । यसलाई स्थानीयवासी ‘घोलिडाँस’ (घोडाको तबेला) भन्ने गर्छन् । दरबारस्थलको पूर्व–दक्षिणबाट तल गाड (खोला) भएको स्थान सम्म रानीले पानी भर्न र नुहाउन जाने जमिन भित्रबाट कोरेर ढुङ्गाले चिनेर माथिबाट बन्द भएको कोट देखि गाडसम्म जाँदा अँध्यारो नहोस् भन्ने उद्देश्यले बनाएका २५ वटा झ्यालसहितको प्राचीन सुरुङ छन् ।

कोट स्थलदेखि गाडको किनारमा दरबारका मान्छेको बैठक स्थल छ । यसलाई स्थानीयवासी ‘ओखडेकी माँडौ’ भन्छन् । गाडको केहीमाथि दुईवटा देवल छन् । यस्तै करपुटार खेतको सिरानमा पानी खाने तीन वटा प्राचीन नाउला छन् । यो स्थल ऐतिहासिक मल्लकालको दरबार अवलोकनका लागि प्रसिद्ध छ ।  

salt training

कमेन्ट गर्नुहोस्