२९ जेठ २०८३, शुक्रबार
कांग्रेसभित्रको राजनीति

कांग्रेसका ११ भाइ देउवाको दैलोमा पुग्दा शेखर टीममा उत्साह !

फागुन ८, २०८१
काठमाडौं
कांग्रेसका ११ भाइ देउवाको दैलोमा पुग्दा शेखर टीममा उत्साह !

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा आफ्नै टीमबाट सभापतिको उम्मेदवार बन्नुपर्ने सुनिश्चितता खोज्दै ११ भाइ नेता सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पुगेपछि डा. शेखर कोइराला समूह पनि उत्साहित देखिएको छ ।

आफूहरूलाई रणनीति बनाउन सहज हुने गरी प्रतिस्पर्धी टीममा गतिविधि हुन थालेको भन्दै शेखर टीम खुशी देखिएको हो । महामन्त्री गगन थापालाई पनि रोक्ने गरी देउवा टीममा माहोल बन्नु आफूहरूका लागि खुशीको कुरा भएको उनीहरूको हिसाब छ । 

‘हाम्रो टीमबाट फेरि पनि शेखर दाइले सभापतिमा उठ्ने गरी दौडधूप गरिरहनुभएको छ । औपचारिक रूपमा १५ औं महाधिवेशनका लागि सभापतिको तयारी गर्छु भनेर घोषणा गर्ने पनि उहाँ पहिलो नेता हो,’ शेखरनिकट स्रोतले भन्यो, ‘महाधिवेशन तत्काल हुँदै छैन । तर, पनि संस्थापन पक्षका ११ नेताले सभापतिको निवासमा पुगेर पुरानै टीमलाई सशक्त बनाउनुपर्‍यो भन्दै गरेको याचना हाम्रो लागि शक्ति र रणनीतिक मौका हो ।’

देउवा निवासमा संस्थापनका नेताहरूले आफूहरू कमजोर रहेको रहेको, तर शेखर र गगनहरूले मात्रै महाधिवेशनको तयारी थालेको निष्कर्ष निकालेका थिए । यसलाई शेखर पक्षले संस्थापनले आफूहरूबाट जोखिम महसुस गरेको अर्थमा बुझेको देखिन्छ ।

‘उनीहरूले खुलेरै शेखर र गगन महाधिवेशनको तयारीमा होमिइसके, तर हाम्रो बलियो टीम कता हरायो भनेर सभापतिलाई प्रश्न गरे । यतिमात्रै होइन, हामी जो भए पनि एकजना हुनुपर्छ, मिलेर अगाडि बढ्छौंसम्म भने,’ शेखर निकटका ती नेता भन्छन्, ‘महाधिवेशन नजिक आउँदा बनाउनुपर्ने रणनीतिका लागि प्रतिस्पर्धी समूहले अहिलेदेखि नै ठाउँ दिनु हाम्रा लागि सकारात्मक हो ।’

गत शुक्रबार नेता कृष्णप्रसाद सिटौलाले अन्य १० नेतालाई देउवा निवासमा उतारेका थिए, जसमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउँद र उमाकान्त चौधरी सहभागी थिए । 

नेताहरूले यही टीमबाट १५ औं महाधिवेशनको पनि तयारी गर्नुपर्ने माग गरेपछि देउवाले प्रस्ट सन्देश दिएनन् । तर, देउवाले ‘निरन्तर सहयोग गर्नुभएको छ, महाधिवेशन नजिक आएपछि यही टीमबाटै सभापतिको उम्मेदवार तोक्छु, अहिले आ–आफ्नो जिम्मेवारीको काम गर्नुस्,’ भनेर फर्काएका थिए । 

देउवाले यति बोलिदिएपछि ११ भाइ देउवाको भावी उत्तराधिकारी यही टीमबाट हुने आशा लिएर फर्किएका छन् । सभापतिको आश्वासनपछि सभापतिमा दाबेदारी गरिरहेका महामन्त्री थापाबाट समेत आफूहरूलाई जोखिम नहुने उनीहरूको बुझाइ छ ।

तर, यसले उनीहरू भन्दा आफूहरूलाई महाधिवेशनको तयारी गर्न सहजता भएको बुझाइ शेखर पक्षको छ । 

null

सो समूहका नेता डा. शेखर कोइरालाले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा प्रेस युनियनले गरेको कार्यक्रममा आफूले उम्मेदवारी घोषणा गरिसकेको बताए । ११ भाइको सक्रियताले आफूलाई केही फरक नपर्ने उनले बताए । 

‘११ भाइको सक्रियताको कुरा उठ्यो, १४औं महाधिवेशनमा पनि उहाँहरूले देउवालाई सपोर्ट गरेकै हो । १५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा मैले गरिसकेको छु,’ पत्रकारको प्रश्नमा शेखरले भने, ‘महाधिवेशन २०८२ मंसिरमा हुनुपर्छ, मैले केन्द्रीय समितिमा राखिरहेको छु । केही अप्ठ्यारो पर्‍यो भने १ वर्ष थप्ने व्यवस्था विधान र ६ महिना थप्ने व्यवस्था संविधानले गरेको छ । तर, चुनावपछि गर्‍यो भने कांग्रेसको अवस्था नाजुक हुन्छ ।’

शेखरनिकटका अर्का नेता सिटौला, सिंह र निधिले जोखिम देखेकाले देउवालाई मनाउन खोजेको बताउँछन् । 

‘यसमा धेरै रडाको एक/दुई जनालाई हो । सिटौला, निधि, प्रकाशमान तिनैजना सभापतिमा उठिसकेका छन् । दुवैपटक उनीहरूले आफू जितेनन्, तर देउवालाई जिताए । यसैले देउवाको साथविना हाम्रो केही पनि हुँदैन भन्नेमा उनीहरू छन्,’ ती नेताले भने, ‘यसैले सिटौलाले चलाखी गरेर नेताहरूलाई जम्मा गरेका हुन् । तर, बाध्यतावश बोले पनि देउवा तत्काल भित्री कुरा बोल्नेवाला छैनन् ।’

समय आउँदा आरजुको व्यवस्थापनकै कुरा आए पनि शेखरले नै गर्न सक्ने समेत ती नेता बताउँछन् । आफूहरूले नसक्ने स्वीकारोक्तिसहित शशांकलाई पनि यसपटक उनीहरूले च्यापेको ती नेताले दाबी गरे । 

‘उनीहरू तीनैजनाले दुईवटा महाधिवेशनमा पाएको मतले उनीहरूको हैसियत पुष्टि गर्छ,’ ती नेता भन्छन्, ‘यसैले उनीहरूले हामीहरू बीच विवाद छैन, जो भए पनि हुन्छ भनेका हुन् । एकातिर शेखरले बलियो दाबेदारी गत महाधिवेशनमा दिनुभयो । यसैले त बीपीको छोरा भनेर उनीहरूले शशांकलाई यसपटक च्यापेका हुन् ।’ 

तर, शशांक बीपीको छोरा हुनुबाहेक उनीसँग उल्लेख्य टीम र सामर्थ्य नभएको ती नेता बताउँछन् ।

‘बीपीको छोरा हुनुको विरासत शशांकसँग छ । तर न टीम छ, न राजनीतिक रूपमा कुनै प्रस्ट योजना, कार्यक्रम र दृष्टिकोण छ,’ ती नेता भन्छन्, ‘आज के भन्ने र भोलि के भन्ने सामान्य समझसमेत उहाँमा देखिँदैन । यसैले अर्को टीममबाट देखाइरहेका कमजोर अनुहार र विकल्प नै हाम्रा लागि शक्ति हुन् ।’

११ भाइ भनिए पनि नेता एनपी साउँद आफूहरूको टीममा आइसकेको ती नेता बताउँछन् । 

‘एनपीसमेत ११ भाइको बैठक भन्दै पुगेको देखियो । तर, उहाँले त्यसको केही दिनमै शेखर दाइसँग सार्वजनिक कार्यक्रममा मञ्च शेयर गर्नुभयो,’ ती नेता भन्छन्, ‘एनपी हाम्रोतिर खुलेरै आइसके । अरू पनि आउनेवाला छन् । हामीलाई थप रणनीति बनाउन उनीहरूले नै बल दिएका छन् ।’ 

महामन्त्री थापाले परिस्थिति बुझ्ने विश्वास

बूढानीलकण्ठमा ११ नेतामध्येका दाबेदारले आफ्नो लागि भन्दा गगनलाई देउवासँगको हिमचिमबाट टाढा राख्नुलाई पनि रणनीति बनाएको शेखर पक्षको विश्लेषण छ । 

‘पछिल्लो समय संयुक्त सरकारमा सत्ताको सहजताका लागि सभापति देउवाले महामन्त्री थापालाई इन्गेज गर्नुभएको छ । किनकि गगनलाई इन्गेज नगरे उहाँले सत्ता र शक्तिका विकृति भण्डाफोर गर्नुहुन्छ । यस्तो भए समीकरणमै प्रश्न उठ्ने र आफ्नो लागि सत्तामा असहजता हुने बुझाइ देउवाको देखिन्छ,’ तीन नेता भन्छन्, ‘महामन्त्रीजीले पनि सभापतिलाई नचिढ्याइकन साथ दिँदै सत्ताको पनि आलोचनात्मक समर्थन गर्नुभएको छ । तर, ५ महिनायता गगन थापाको आवाजमा धारिलोपन छैन । बरु रक्षात्मकता छ ।’

अहिले सभापतिसँग ट्युनिङ मिलेको दाबी गरे पनि महामन्त्री थापाको मोह भंग भएरै छाड्ने पर्खाइमा शेखर पक्ष छ । ‘अहिलेका ११ भाइको चाहना आफ्नो लागि होइन, गगनलाई सभापतिसँग ढिम्किन नदिने चाल हो । किनकि ५० वर्ष कम उमेरका गगन पार्टी सभापति बन्ने हो भने हामी सबैको राजनीति सधैँका लागि सकिन्छ भन्नेमा उहाँहरूमात्रै होइन, ५० वर्ष माथिका सबै नेता छन्,’ ती नेता भन्छन्, ‘गगनजस्तो चलाख मान्छेले यो कुरा सहजै बुझ्नुभएको छ । जसोतसो अहिलेको समीकरण टिकेर प्रधानमन्त्री भए भने पहिलो दिनदेखि नै देउवाले गगनलाई इन्ट्री दिँदैनन् । यो कुरा गगनले जति छिटो बुझ्छन्, त्यत्ति छिटो उनी र शेखर टीमका लागि फाइदा हुन्छ ।’

गगन थापा

महामन्त्री थापाले सबै कुराको ‘क्याल्कुलेसन’ गर्नुपर्ने उनले बताए ।

‘गगनजस्तो क्षमता भएको, विषयवस्तुतको प्रशस्त ज्ञान भएको र जुनसुकै पोजिसनमा बसेर पनि काम गर्न सक्ने नेतालाई ठूलो पदको महत्त्वाकांक्षा हुनु स्वाभाविक हो । उहाँको खटाइ र सक्रियता पनि लोभलाग्दो छ,’ ती नेता भन्छन्, ‘तर, गगनजस्ता धारिला नेताले ओलीको सरकारलाई डिफेन्ड गरेको कत्ति पनि सुहाएको छैन । बौद्धिक जमातका खगेन्द्र संग्रौलादेखि कृष्ण खनालसम्मले गगनलाई ‘शेरबहादुर सेकेन्ड’ भन्न थाल्नुभएको छ ।’

२०७८ मा बनेको शेखरसहितको टीम नै आगामी महाधिवेशनमा गगनका लागि उचित विकल्प हुने जिकिर उनले गरे । ‘विषयवस्तुको ज्ञान र क्षमता मात्रै भएर राजनीतिमा नपुग्ने रहेछ । हाम्रा बौद्धिक नेता प्रदीप गिरी सहमहामन्त्री पनि हुनुभएन,’ ती नेता भन्छन्, ‘महामन्त्री थापाले कांग्रेसको नेतृत्व गरुन् भन्ने चाहना नेता/कार्यकर्ता, बौद्धिक जगत र मिडिया सबैतिर छ । प्रतिस्पर्धामा गणितीय कुरा मुख्य हुन्छ ।’

संस्थापनमा गगनका लागि बाटो बाटो बन्द गर्नुपर्छ भन्ने मत हुनु भनेको शेखर–गगन मिल भन्ने सन्देश रहेको समेत ती नेता बताउँछन् ।  ‘हिजो एउटै टीमबाट लडेकाले आज पनि उहाँ प्राविधिक रूपमा शेखर टीमकै महामन्त्री हो । अहिले संस्थापनले गगनलाई ढिम्किन दिन हुँदैन भनेरै प्रस्टै सन्देश दियो,’ ती नेता भन्छन्, ‘त्यसैले अब शेखरलाई संसदीय दलको नेता, प्रधानमन्त्री र एकपटक सभापति बनाउन लाग्नुपर्छ । त्यसपछि लगातार दुईपटक सभापति बन्ने विषय गगनका लागि उपयुक्त र व्यावहारिक हो भन्ने हाम्रो बुझाइ छ ।’

यस्तो हुँदा अबको प्रधानमन्त्री गगन थापा हो भनेर २०८४ को चुनावमा जान सकिने ती नेता बताउँछन् । 

‘कांग्रेसमा अहिले ६० वर्ष नाघेका नेता धेरै छन् । एक्लै लड्दा गगनलाई बुढाहरू मिलेर सभापतिमा हराइदिनेछन् । हाम्रै समूह पनि अपेक्षित बलियो हुने छैन,’ ती नेता भन्छन्, ‘यसैले रिस्क लिनुभन्दा गगनजीले परिस्थितिको क्याल्कुलेसन गर्नुपर्छ भन्नेमा हामी छौं । शेखरलाई एकपटक प्रधानमन्त्री र सभापति बनाए २०८४ मा गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दा कांग्रेसले जित्छ ।’

शेखर ठूलो रणनीतिक नेता नभएकाले गगनका लागि एक्लै वा देउवाभन्दा शेखर उचित विकल्प हुने ती नेता बताउँछन् । ‘शेखर रणनीतिक हुनुहुन्न । उमेरको हिसाबले पनि एकपटक भन्दा सभापति र प्रधानमन्त्रीमा दाबेदारी गर्ने स्थितिमा हुनुहुन्न । यसैले एकपटक शेखरका लागि गगनले अप्ठ्यारो मान्नुपर्दैन,’ ती नेता भन्छन्, ‘यस्तोमा सभापति शेखरलाई बनाएर एकपटक उपसभापति बन्छु अनि त्यसपछिका दुईवटा महाधिवेशन विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता नेताको समेत साथबाट १० वर्ष सभापति बन्छु, प्रधानमन्त्री बन्छु, भन्नु गगनका लागि सबैभन्दा सहजताको विषय हो ।’

आफ्नै तयारीलाई बलियो बनाउँदै गगन

महामन्त्री थापाले सभापतिमा उठ्ने तयारी स्वरूप देशदौडाहाका कार्यक्रम निरन्तर अघि बढाएका छन् । पार्टी महामन्त्रीसमेत भएकाले उनलाई सभापतिमा तयारी गर्न सहजता भएको छ । शेखर टीमले चाहे पनि गगन सभापतिमा लडेरै छाड्ने गरी तयारीमा लागेको नेताहरू बताउँछन् । 

‘हिजो शेखरसँगै एउटै टीमबाट लडेको हो । तर, तत्काल नै शेखर टीमसँग नजिक हुने सम्भावना छैन, किनकि महामन्त्रीज्यू टीम नै बनाएर महाधिवेशनको तयारी गर्नेगरी गृहकार्यमा लाग्नुभएको छ,’ गगननिकट स्रोतले भन्यो, ‘यसका लागि पुरानो र नयाँ पुस्तासँग संवाद, देशदौडाहा सबै एकैपटक भइरहेको छ । सभापतिले आरजुको व्यवस्थापन गगनबाटै हुने विश्वास भित्रीरूपमा गर्नुभएको छ ।’

देशैभरबाट गगनको माग भएको ती नेता बताउँछन् । 

‘जिल्ला–जिल्लाको आधिकारिक निकायबाट उहाँलाई नै निमन्त्रणमा आएको छ । देउवाभन्दा पछाडि जनता र कार्यकर्ताको माग नै गगन आउनुपर्छ भन्ने छ,’ ती नेता भन्छन्, ‘गगन देउवाको नजिक भयो भनेर चर्चा गरेका छन् । गगन जनता र कार्यकर्तामा जानुभएको छ । काठमाडौंकेन्द्रित बैठक र भेटघाटको अर्थ छैन ।’

राजनीतिक विश्लेषक केशव दाहाल कसैको आशीर्वादमा भरपर्ने भन्दा क्षमता देखाउने नेता कांग्रेसमा आवश्यक भएको बताउँछन् । 

‘अब गुट, मान्छे र महाधिवेशनमा संख्या पुर्‍याएर मात्रै नेता बन्ने र यसका लागि आशीर्वाद देऊ भनेर देउवाको दैलो धाएर हुँदैन,’ दाहाल भन्छन्, ‘देउवाको लिगेसी ब्रेक गर्नेले कांग्रेसको मात्रै होइन, नेपाली राजनीतिको कल्याण गर्छ । आजको समयको माग पनि एजेन्डा, राजनीतिक संकट यी छन् र समाधान गर्नका लागि विचार, एजेन्डा चाहिन्छ । यसैले मात्र नवीन कांग्रेस बन्छ, जसका लागि योग्यता, क्षमता, सपना र सक्रियता आवश्यकता छ ।’ 

यस्तो आवश्यकतालाई गगन थापा र शेखर कोइरालाले एजेन्डाबाट प्रमाणित गर्नुपर्ने उनी बताउँछन् । 

‘शेरबहादुर र उनको लिगेसीबाट कांग्रेस अब चल्दैन । आशीर्वाद र गुटबाट नेता बन्न पनि अब सम्भव छैन,’ दाहाल भन्छन्, ‘गगनमा एक खालको हुटहुटी देखिन्छ । गगन वा शेखर को हो, उहाँहरूको व्यवहार र एजेन्डाबाट प्रमाणित हुने हो ।’

पढ्नुहोस्, यो पनि:

सभापतिमा गगनलाई रोक्न देउवासामु कांग्रेसका ‘११ भाइ’को एकस्वर !
 

salt training

कमेन्ट गर्नुहोस्