
अडिओलोजिस्ट तथा स्पिच ल्याङवेज प्याथोलोजिस्ट विद्वान भुसाल स्वास्थ्य क्षेत्रमा बलियो खम्बा मानिन्छन् । एक दशकदेखि काठमाडौंको नर्भिक अस्पतालमा कार्यरत भुसाल अहिले राजधानीसँगै बुटवलमा अटिजमको समस्या देखिएका बालबालिका र तिनीहरूको परिवारमा मल्हम लगाउने अभियानमा जुटेका छन् । अन्य रोगभन्दा ‘च्यालेन्जिङ’ मानिने अटिजम भएका बालबच्चा स्याहार्न भुसालले बुटवलमा श्रवण चाइल्ड केयर सेन्टर सञ्चालनमा ल्याएका छन् ।
विसं २०७२ मा भारतको बेङ्लोरबाट पढाइ सकेका अर्घाखाँचीको सन्धीखर्क–१ का भुसालले त्यसपछि काठमाडौंको नर्भिक अस्पतालमा सेवा शुरूआत गरेका थिए । नर्भिकमा झण्डै पाँच वर्ष सेवा गरेसँगै उनले ‘अटिजम केयर’को आवश्यकता महसुस गरी त्यहाँ केयर सेन्टर सञ्चालन गरे । तर, आफ्नो जन्मभूमिको केन्द्रमा पर्ने बुटवलमा पनि अटिजम भएका बालबच्चाका अभिभावकको दुःख देखेर उनले दक्ष टिमसहित यही सेवा शुरू गरेका हुन् ।
विश्वव्यापी रूपमा बढिरहेको अटिजमको समस्या भएका बालबालिका थेरापीबाट बानी/व्यवहारमा सुधार ल्याउन सकिन्छ भन्ने उनलाई लाग्यो । भुसालका अनुसार नेपालमा अहिले ‘अटिजम’ समस्याको क्षेत्रमा केही प्रगति भए पनि अझै सोचेजस्तो हुन सकेको छैन ।
‘केयर सेन्टरमा अटिजम भएका बालबालिकाको बोलीको विकास, व्यवहारमा परिवर्तन ल्याउने र आँखासम्बन्धी समस्या छ भने भिजन थेरापी गर्ने गरिन्छ,’ भुसाल भन्छन्, ‘दुईदेखि पाँच वर्षको बच्चामा जति शारीरिक रूपमा ओभरल डेभलपमेन्ट हुनुपर्ने हो, त्यो नभई ल्याकिङ छ, त्यो बच्चालाई थेरापीबाट पूरा गर्ने हाम्रो टार्गेट हो ।’
अटिजमको क्षेत्रमा काम गर्ने जनशक्ति नेपालमा अति कम छ । बुटवलको केयर सेन्टरमा सम्भवतः लुम्बिनी प्रदेशकै सुविधासहितको पहिलो रहेको भुसालको दाबी छ ।
‘सबै सुविधासहितको केयर सेन्टर काठमाडौं बाहिरको सम्भवतः हाम्रो नै पहिलो हो,’ डाक्टर भुसाल थप्छन्, ‘हाम्रो क्षमता अहिले जम्मा २४ जना बालबालिकाको हो । उनीहरूको सम्पूर्ण पक्षको सुधारमा जुटेका छौं । केही शुल्क पनि लिएका छौं ।’
सामान्यतः बोल्ने उमेरमा पनि बच्चा बोलेन भने केही न केही समस्या छ भनेर बुझ्नुपर्छ । साढे दुईदेखि तीन वर्षसम्म पनि बच्चाले एउटाबाहेक अरू शब्द भन्न सक्दैन भने अटिजम पो छ कि भनेर सचेत हुनुपर्छ ।
सेन्टरमा विभिन्न विधाका ६ जना ‘थेरापिस्ट’ छन् । उनीहरूले बालबालिकालाई भिजन र बिहेवियरलगायत काम गराउँदै आएका छन् । हरेक महिना अभिभावलाई बोलाएर केयर सेन्टरमा सिकाएका कुराहरू सिकाएर घरमा पनि गराउन अनुरोध गरिन्छ । ‘केयर सेन्टरमा लगेपछि बच्चामा धेरै बानी व्यवहारमा सुधार हुन्छ,’ भुसाल भन्छन्, ‘पाँच वर्षसम्मको बच्चाले केही भनेको बुझ्दैन, दिसापिसाब आएको थाहा नपाएर कपडामा गर्छ भने त्यो बच्चालाई ४/५ महिनामा शौचालय गएर आफैं दिसापिसाब गर्ने र हात धुनेसम्म बनाउन सकिन्छ । यो गर, त्यो गर भनेको नबुझेको बच्चा हामीले थेरापी गर्दै गर्दा बुझ्ने हुन्छन् ।’
सामाजिक व्यवहार नमस्ते, हेलो हाई, बाई नबुझ्ने बच्चा, भर्वल रेस्पोन्स नआएको र बाबामामा नभन्ने बच्चामा धेरै परिवर्तन गर्न सकिन्छ । यो एकै पटक सुधार हुने होइन, बच्चाले जति छिटो आएर थेरापी पाउँछ, त्यति छिटो ‘रिकभर’ हुने उनी बताउँछन् ।
‘जस्तो तपाईंले १५ वर्षको बच्चालाई ल्याउनु र ५ वर्षको बच्चालाई ल्याउनु फरक छ । यस्ता बच्चाको लाइफस्टाइल इजिअर बनाउने हो,’ भुसाल भन्छन्, ‘दुई वर्षको बच्चाको सोच र ८ वर्षको बच्चाको सोच सेम हुँदैन, दुई वर्षको बच्चालाई थेरापी गर्दा उसको अवेरनेस पनि बढ्दै जाँदा लाइफस्टाइल सजिलो बनाउने हो ।’
अटिजम भनेको दिमागको नशासम्बन्धी ‘डिसअडर’ हो । जसको रिजल्टले गर्दा बच्चाको स्पीचहरू दोहोरो कुरा नगर्ने हुन्छ । साढे दुईदेखि ३ वर्षसम्म पनि बच्चाले एउटा मात्र शब्दबाहेक अरू भन्न सक्दैन भने अटिजम पो छ कि भनेर अभिभावक सचेत हुनुपर्छ । अभिभावकमा सचेतना नहुँदा बाबा आमालाई मेरो बच्चालाई के भएको छ भन्ने कुरा थाहा पाउन सक्दैनन् । उनका अनुसार आधारभूत रूपमा बोल्ने उमेरमा बच्चा बोल्न सकेन भने मेरो बच्चामा केही न केही समस्या छ भनेर बुझ्नुपर्छ ।
मोबाइलको कारण पनि बच्चालाई बोली र भाषामा ढिलासुस्ती हुने भएकाले बच्चालाई सकभर मोबाइलबाट टाढा राख्न उनी सुझाउँछन् । बच्चालाई कुरा गर्ने वातावरण भए कुरा गर्ने हो, कोही बच्चासँग वार्तालाप गरे ऊ बोल्ने हो, ऊसँग कोही बोलेन भने कसरी बोल्छ त ? उसले बुझ्न त बुझ्ला, बोल्न सक्दैन, बोल्न ढिलो हुन्छ ।
अटिजम भएका बालबालिका विशेषगरी सामाजिक रूपमा घुलमिल हुन सक्दैनन् । खासगरी सञ्चारमा हुने समस्याका कारण धेरैजसोमा यस्तो समस्या देखिन्छ । उनका अनुसार यस्ता बालबालिका दोहोरो कुरा गर्न नसक्ने, एउटै कुरा बारम्बार दोहोर्याउने, आफ्नो कुरा भन्न नसक्ने खालका हुन्छन् । जसका कारण आँखा जुधाउन नसक्ने, एउटै खेलौनासँग मात्र खेल्ने र काममा ध्यान दिन नसक्ने वा सिकाइमा समस्या हुने गरेको पाइन्छ ।
सामान्यतया अटिजम भएका बालबालिकामा विभिन्न व्यावहारिक समस्या देखिन्छन् । तर, यसलाई कम अटिजम र बढी सक्रिय हुने र गम्भीर खालका समस्या भएका गरी तीन किसिममा विभाजन गरिएको डा. भुसालले बताए । अटिजमको प्रभाव कम र एउटै कुरामा बढी ध्यान दिन सक्ने प्रकृतिका व्यक्ति सफल भएका प्रशस्त उदाहरण छन् । कम बोल्ने, सामाजिक रूपमा घुलमिल हुन नसक्ने भए पनि कुनै एउटै विषयमा घोत्लिने व्यवहारले अध्ययन अनुसन्धानमा प्रगति गरेको पाइन्छ । अटिजम उपचारका माध्यमबाट निको पार्न सकिँदैन, किनकी यो रोग नभएर समयक्रमसँगै मानसिक वृद्धि विकासमा आएको अवरोध हो ।
यस्ता व्यक्तिमा आधारभूत सीप सिकाएर व्यवहार सामान्य बनाउँदै लान सकिने उनी बताउँछन् । यसबाहेक अन्य स्वास्थ्य जटिलता पनि देखिन सक्ने जोखिम हुने भएकाले विभिन्न थेरापी आवश्यक हुने उनको भनाइ छ ।
बच्चाले आवाज निकाल्न थाल्यो र भनेको कुरा बुझ्न थाल्यो भने केयर सेन्टरबाट नर्मल स्कूलमा पठाउने गरिन्छ । सेन्टरमा आएका बच्चामध्ये वर्षमा १०/१२ जना ह्याविट परिवर्तन भएर नर्मल बनाएर पठाउने गरिएको उनी बताउँछन् । बिहान बेलुका थेरापी गर्न ल्याउने पनि गरिन्छ ।
‘केयर सेन्टरमा ल्याइएको बच्चामा परिवर्तन आउन ३ देखि ६ महिना लाग्छ, त्यसपछि कति राख्ने भन्ने कुरामा निर्भर रहन्छ, म यो कुरा सिकेर घर पनि राख्नु थेरापी पनि गराउँछु, स्कूल पनि पठाउँदै सामाजिकीकरण पनि गराउँछु भन्ने अभिभावकले गर्नुपर्छ,’ उनी भन्छन्, ‘तर, बच्चाअनुसार सुधारमा पनि फरक पर्न सक्छ ।’
नोट : विद्वान भुसाल अडिओलोजिस्ट तथा स्पिच ल्याङवेज प्याथोलोजिस्ट हुनुपर्नेमा अन्यथा भएकाले क्षमा याचनासहित सच्याइएको छ -सम्पादक ।