
के तपाईंको दिनको धेरैजसो समय रील्स स्क्रोल गर्दै बितिरहेको छ? यो बानीले केही समयका लागि रमाइलोको अनुभूति गराउन सक्छ । तर, के तपाईंलाई थाहा छ लामो समयसम्म मोबाइलमा रील हेर्ने बानीले तपाईंको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ? विशेष गरी, बालबालिकामा बढ्दो यो प्रवृत्तिप्रति स्वास्थ्य विशेषज्ञहरू चिन्तित देखिएका छन् ।
स्वास्थ्य विशेषज्ञहरू भन्छन्, अत्यधिक मात्रामा रील हेर्ने बानी स्वास्थ्यका लागि धेरै हिसाबले हानिकारक हुन सक्छ। यसले कुनै पनि काममा लामो समयसम्म ध्यान केन्द्रित गर्ने क्षमतालाई कमजोर बनाउँछ। साथै, लगातार मोबाइलमा समय बिताउँदा शारीरिक सक्रियता घट्छ, जसले दीर्घकालीन रूपमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
रील्सको लत कति हानिकारक छ?
विशेषज्ञहरूका अनुसार, रील्स हेर्ने बानीले मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव पार्न सक्छ। रील्समा छिटोछिटो सामग्री परिवर्तन भइरहने भएकाले कुनै पनि काममा लामो समय ध्यान केन्द्रित गर्न कठिन हुन्छ।
साथै, अनुसन्धानहरूले देखाएका छन् कि रील्स हेर्दा डोपामाइन नामक न्यूरोट्रान्समिटर सक्रिय हुन्छ, जसले मानिसलाई अस्थायी रूपमा आनन्द प्रदान गरे पनि दीर्घकालीन रूपमा मानसिक सन्तुलन बिगार्न सक्छ।
‘ओपन अवेयरनेस’ अभ्यासले दिन्छ समाधान
हार्भर्ड मेडिकल स्कूलका विशेषज्ञहरूले रील्सको लतबाट बच्न ध्यान (मेडिटेसन) र योग जस्ता उपायहरू अपनाउन सुझाव दिएका छन्। यी विधिहरूले मानसिक स्वास्थ्य सुधार गर्ने, राम्रो निद्रा लाग्ने र रील्सको अत्यधिक प्रयोगका कारण उत्पन्न हुने समस्याहरूलाई कम गर्न मद्दत गर्ने उनीहरूको भनाइ छ।
विशेषज्ञहरूका अनुसार, ‘ओपन अवेयरनेस मेडिटेसन’ एक प्रभावकारी उपाय हुन सक्छ। यो अभ्यास दिनमा १० मिनेट मात्र गर्दा पनि मनोदशा सुधार गर्न सकिन्छ।
हार्भर्डका विशेषज्ञहरूका अनुसार, ओपन अवेयरनेस मेडिटेसन जुनसुकै स्थानमा गर्न सकिन्छ-घरमा, अफिसमा, वा यात्रा गर्दा। यसको शुरूआत ‘सास लिने ध्यान' (ब्रीदिङ मेडिटेसन) बाट गरिन्छ।
कसरी गर्ने ?
आँखा बन्द गरेर गहिरो श्वास लिनुहोस् र फाल्नुहोस्। यसले शरीरमा अक्सिजनको मात्रा बढाउँछ र स्नायु प्रणालीलाई शान्त पार्छ।
आफ्नो सासमा ध्यान दिनुहोस्। यदि मन भड्कियो भने, पुन: सासमा केन्द्रित गर्नुहोस्। १० मिनेटसम्म नियमित अभ्यास गर्दा तनाव ४० प्रतिशत कम हुन सक्छ।
आफ्नो शरीरका सबै भागलाई महसुस गर्नुहोस्, वातावरणलाई अनुभूति गर्नुहोस् र विस्तारै आँखा खोल्नुहोस्।
यो साधारण ध्यान विधिले रील्स हेर्ने बानीले सिर्जना गर्ने समस्याबाट जोगिन मद्दत गर्न सक्छ। मानसिक स्वास्थ्यलाई स्थिर राख्न र ध्यान केन्द्रित गर्ने क्षमतालाई सुधार गर्न यसको नियमित अभ्यास गर्नुपर्छ।
यदि तपाईंलाई रील्स हेर्ने बानी नियन्त्रण गर्न गाह्रो भइरहेको छ भने माथि उल्लेख गरिएका उपायका अलवा विशेषज्ञसँग परामर्श लिन सक्नुहुनेछ । उनीहरूले दिने सुझावका आधारमा आफ्नो मानसिक र शारीरिक स्वास्थ्यलाई सामान्य बनाउन सक्नुहुनेछ ।