०७ असार २०८३, आइतबार

पंकजलाई ‘थारो’ भनेर जिस्क्याएपछि दम्पतीको टाउकोमा बज्रियो ५ किलोको  घन

फागुन ११, २०८१
बुटवल
पंकजलाई ‘थारो’ भनेर जिस्क्याएपछि दम्पतीको टाउकोमा बज्रियो ५ किलोको  घन

चार छोरा/बुहारी रोजगारीको शिलशिलामा देशबाहिर भारतमा छन् । दुई छोरी पनि विवाहपछि आ-आफ्नो घर दाङमा । सन्तानबाट सन्तुष्ट थिए प्युठानको माण्डवी गाउँपालिका– २ का ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षकी श्रीमती हुकुमा । निरोगी उनीहरू घरमा खेती किसानी गरेर दिन बिताइरहेका थिए । छोराहरू विदेशमा रहेकाले घरमा आउने विषयमा बेला-बेला फोनमा कुराकानी हुन्थ्यो । छोराहरू चाँडै घर फर्कने कुराकानी पछि शुक्रबार पनि सधैंझैँ खाना खाएर सुते रामबहादुर र हुकुमा ।

भोलिपल्ट (शनिबार) बिहान अबेरसम्म पनि रामबहादुरको घरको ढोका खुलेन । हिउँद मास, खासै काम पनि छैन, अबेरसम्म सुतेका होलान् भन्ने अनुमान छिमेकीले गरे ।

१० बजेसम्म पनि ढोका नखुेलपछि छिमेकीलाई शंका लाग्यो- कतै केही त भएन ? तर, ढोका खोल्ने आँट कसैले पनि गरेनन्, नजिकैको तिरामस्थित प्रहरी चौकीमा खबर गरे । प्रहरी आएर भित्र पस्दा दुवै जना वीभत्स अवस्थामा मृत भेटिए ।

जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले टाउको घन बजारेर वीभत्स हत्या गरेको अवस्था शव भेटिएको बताए । रामबहादुरका सहोदर दाइका छोरा (भतिज)ले रिसइबी साधेर हत्या गरेको खुलेको बस्यालले बताए ।

प्रहरीले हत्यामा संलग्न मृतकका भतिज पर्ने ३४ वर्षका पंकज परियार लाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पंकजलाई उनकी श्रीमतीले छाडेर गएकी रहिछन् । उनीहरूका सन्तान पनि नरहेको बस्यालले जानकारी दिए ।

‘पंकजकी श्रीमतीले छाडेर गएपछि रामबहादुर र हुकुमाले उसलाई (पंकज)लाई थारो भनेर जिस्काइरहँदा रहेछन्, त्यहीँ रिसमा हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन,’ बस्यालले लोकान्तरसँग भने, ‘दुवै जनालाई पाँच किलोको घनले टाउकोमा हानेर वीभत्स हत्या गरेको खुलेको छ । उनीहरूले प्रतिकार गर्न सकेको अवस्था देखिएन । घटनामा अन्य पनि संलग्न रहे/नरहेको बारे केही खुलेको छैन, हामीले अनुसन्धान अघि बढाइरहेका छौं,’ उनले थपे ।

null

घनले हानेर हत्या गरेपछि रगताम्य घन ५० मिटर टाढा फालेको अवस्थामा प्रहरीले फेला परेको छ । 

हत्यापछि हुकुमीले पटुकामा बाँधेर राखेको २२० रुपैयाँ पनि पंकजले निकालेर लगेका थिए । २२० मध्ये २० रुपैयाँ आफूले घन फालेको ठाउँमा खसालेको उनले बताएका छन् । उक्त २० रुपैयाँ पनि पंकजले भनेको ठाउँमा प्रहरीले फेला पारेको छ ।

दम्पतीको हत्यापछि गाउँ शोकमा डुबेको छ । माण्डवी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रकाश वलीले पंकजले रगत लागेको ज्याकेट घरमा लुकाएर राखेको प्रहरीले फेला पारेको बताए । ‘राति हत्या गरेको रहेछ, भोलिपल्ट आफैं त्यो घरमा गएर ढोका हानेर नखुलेपछि यहाँ यस्तो घटना घटेछ भन्दै हिँडेपछि वडामा जानकारी आएको थियो ।’ ​

प्युठान प्रहरीका प्रवक्ता इन्स्पेक्टर केशव केसीले घटनाको अझै विस्तृत अनुसन्धान प्रहरीले गर्ने बताए ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की पछिल्लो समय समाजमा बढ्दो भौतिकवाद, भोग्यवाद र पारिवारिक विखण्डनले आपराधिक गतिविधि बढाउँदै लगेको बताउँछन् । ‘परिवारभित्र बेमेल, आपराधिक घटना र अपराध बढ्दो देखिन्छ,’ कार्कीले भने, ‘सम्पत्तिका नाममा परिवारमा भवितव्य घटेका छन् । सोसल मिडियाबाट हेरेर/देखेर, लागुपदार्थको दुर्व्यसनीमा परेर तथा पेसेवर र संगठित अपराधका कारण पनि यस्ता घटना मौलाउँदै गएका छन्,’ कार्कीले थपे, ‘नेपाली समाज पारिवारिक विखण्डनतर्फ गएको जस्तो देखिन्छ ।’

लुम्बिनी प्रदेशमा पछिल्लो समय हत्या र अपराधका घटना बढ्दै गएका छन् ।

कमेन्ट गर्नुहोस्