नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थाबारे टिप्पणी गरेका छन्। सोमबार बिहान फेसबुकमा एउटा पोस्ट लेख्दै उनले ‘राजावादी’हरूले शाहलाई राजा हुँदा पनि सुखले बस्न नदिएको आरोप लगाउँदै अहिले नागरिक जीवनमा आएपछि पनि उचालेर बस्न नदिएको टिप्पणी गरेका हुन् ।
'ज्ञानेन्द्र शाहलाई ‘राजावादी’हरूले राजा हुँदा पनि सुखले बस्न दिएनन् । ‘मौसुफ त चक्रवर्ती सम्राट हो’ भनेर उचालेर राजतन्त्र समाप्त पार्ने ठाउँमा पु्र्याए भने अहिले सामान्य नागरिक भएका बेला पनि आनन्दले आफ्नो व्यापार-व्यवसाय गर्न दिइरहेका छैनन् र फेरि ‘राजा हुनुपर्छ’ भनेर उचालेर हैरान पारिरहेका छन्,' उनले लेखेका छन् ।
७८ वर्षको उमेर, छोरा पारसको अनियन्त्रित स्थिति, दाजुको वंश विनाश र २४० वर्ष पुरानो राजतन्त्रको समापनका घटनाहरू उल्लेख गर्दै उनले भनेका छन्, 'यस परिस्थितिमा उनलाई नबिथोलेर परिवारसँग बस्न दिनु नै राजावादीहरूले उनलाई सहयोग गरेको कुरा ठहर्छ।'
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको शपथ खाएर उपप्रधानमन्त्री, मन्त्री, र सांसदका रूपमा कार्य गर्ने व्यक्तिहरूले अब भने गणतन्त्र फालेर राजतन्त्र फर्काउँछौं भन्नु 'हुटिट्याउँले आकाश थाम्नु जस्तै' हुने उनको भनाइ छ ।
यस्तो छ उनको स्टाटस