
अमेरिकी समयअनुसार शुक्रबार अपराह्न राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच सञ्चारमाध्यमका अगाडि निकै चर्काचर्की भयो । संसारले हेरिरहेको उक्त तनावपूर्ण चर्काचर्की अहिले विश्वभर बहसको विषय बनेको छ ।
दुर्लभ खनिज सम्झौता गर्ने भनेर जेलेन्स्की अमेरिका पुगेका थिए । जेलेन्स्कीलाई ट्रम्पले ह्वाइट हाउसमा राम्रै स्वागत गरे । त्यसपछि दुवैबीच करिब ५० मिनेट कुराकानी भएको थियो । उक्त कुराकानीलाई संसारभर लाइभ हेरिएको थियो । तर, पछिल्लो दश मिनेटमा कुरा नराम्रोसँग बिग्रियो ।
कुराकानी त्यतिबेलादेखि बिग्रन थालेको थियो जब अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले कूटनीतिक तवरबाट मात्र शान्ति हुन सक्ने बताइरहँदा जेलेन्स्कीले ‘कस्तो कूटनीति ?’ भनेर सोधे । जेलेन्स्कीले रुससँग पटक-पटक युद्धविराम गरेको तर त्यसलाई राष्ट्रपति पुटिनले नै उल्लंघन गरेकाले कूटनीतिक पहलले नहुनेमा जोड दिए ।
यसैबीच, भेन्सले अमेरिकाले युक्रेनलाई अहिलेसम्म दिएको सहयोगप्रति युक्रेन आभारी हुनुपर्ने बताए । ‘तपाईंले कहिल्यै हामीलाई धन्यवाद भन्नुभएको छ ?’ भनेर भेन्सले सोधेका थिए ।
त्यसको प्रतिवाद गर्दै जेलेन्स्कीले अमेरिकाले युक्रेनको वास्तविक स्थिति बुझ्नुपर्ने बताए । युद्ध शुरू भएदेखि नै आफू एक्लै लडिरहेको दाबी जेलेन्स्कीको थियो । उनले भेन्सलाई युक्रेनमै आएर वास्तविकता बुझ्न आग्रह गरे ।
यसक्रममा ट्रम्पले हस्तक्षेप गर्दै जेलेन्स्कीलाई अहंकारी नबन्न सल्लाह दिए र अमेरिकाले दिएको सैन्य सहयोगबिना युक्रेन दुई साताभित्रै पराजित भइसक्ने तर्क प्रस्तुत गरे ।
ट्रम्पले जेलेन्स्कीलाई कार्ड खेल्न खोजेको र तेस्रो विश्वयुद्धका लागि जुवा खेलिरहेको आरोप लगाएपछि परिस्थिति थप तनावपूर्ण बन्यो ।
परिस्थिति यतिसम्म तनावपूर्ण बनेको थियो कि सँगै बसेकी अमेरिकाका लागि युक्रेनी राजदूत ओक्साना मार्कारोभा उक्त कुराकानी सुन्न नसकेर अनुहारलाई हातले छोप्दै निहुरिएकी थिइन् ।
त्यसपछि राष्ट्रपति जेलेन्स्कीसहित युक्रेनी प्रतिनिधिहरू त्यहाँबाट निस्केर अर्को हलमा गए । ट्रम्प पनि अर्कोतिर गए । उक्त कुराकानी लगत्तै दिवाभोज गर्ने र खनिज सम्झौता हुने कार्यक्रम थियो ।
अर्को हलमा बसेर पसिना पुछ्दै गरेका जेलेन्स्कीसँग भेट्न अमेरिकी विदेश मन्त्रालयका प्रतिनिधि पुगे र उनीहरूले सम्झौताबारेको नयाँ धारणा के छ ? भनेर सोधे ।
जेलेन्स्कीले आफू ठीक रहेको र सम्झौताका लागि थप वार्ता गर्न तयार रहेको सन्देश ट्रम्पलाई पठाए तर, ट्रम्पले वास्ता गरेनन् ।

ट्रम्पले तत्कालका लागि वार्ता सकिएको, सम्झौता हुन नसक्ने र नयाँ सम्झौता गर्ने भए पूर्ण तयारीका साथ अमेरिका आउन आग्रहसहित ‘धन्यवाद’को खबर पठाए । त्यसपछि जेलेन्स्की ह्वाइट हाउसबाट ‘भोकै’ बाहिरिएका थिए ।
भेटवार्ता तनावपूर्ण रूपमा टुंगिएपछि जेलेन्स्कीले वाशिङ्टन डीसीमा तय भएका आफ्ना विभिन्न सार्वजनिक कार्यक्रम रद्द गरे ।
उनले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकी जनतालाई समर्थनका लागि धन्यवाद दिए भने युक्रेनको स्वाधीनता र स्थायी शान्ति स्थापनाका लागि आफ्नो प्रतिबद्धता दोहोर्याए ।
ट्रम्पसँग माफी मागेनन्
उक्त वार्ता निकै कटुतापूर्ण भएपछि ट्रम्पको समर्थनमा रिपब्लिकन सांसद र जेलेन्स्कीको समर्थनमा डेमोक्रेटहरू बोल्न थाले । ट्रम्पका समर्थकहरूले जेलेन्स्कीले तत्काल माफी माग्नुपर्ने भनाइ सार्वजनिक गरे ।
डेमोक्रेटिक पार्टीका सांसदहरूले भने जेलेन्स्कीलाई ह्वाइट हाउस बोलाएर योजनाबद्ध ढंगबाट ‘आक्रमण’ गरिएको आरोप लगाएका थिए ।
चर्काचर्कीपछि अर्को हलमा गएर बसेका जेलेन्स्की ट्रम्पसमक्ष माफी मागे थप वार्ता हुन सक्ने सन्देश पठाएको कतिपय स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जेलेन्स्कीले त्यसलाई अस्वीकार गरेर ह्वाइट हाउस छोडेका हुन् ।
ह्वाइट हाउसबाट निस्केलगत्तै केहीबेर आराम गरेर जेलेन्स्की फक्स न्यूजको स्टुडियो पुगे । फक्स न्यूजका चिफ पोलिटिकल एंकर ब्रेट बायरले जेलेन्स्कीलाई ‘तपाईंले माफी माग्नुहुन्छ कि नाइँ ?’ भनेर सोधे ।
दुवैपटकको जेलेन्स्कीले ‘माफी’ शब्द उच्चारण गरेनन् । बरू उनले राष्ट्रपति ट्रम्प र अमेरिकी जनतालाई आफ्नो सम्मान रहेको बताए ।
आफूले त्यति गल्ती गरेको महसुस नभएको उनले बताए । उनले त्यहाँ युरोपेली नेताहरूसँग कुरा गरेर थप कदम चाल्ने बताए । त्यसपछि जेलेन्स्की बेलायत हिँडे ।

उनी शनिबार अबेर बेलायत पुग्ने र त्यहाँ बेलायती प्रधानमन्त्री कियर स्टारमरसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै, आइतबार हुने युरोपेली नेताहरूको शिखर बैठकमा उनी सहभागी हुनेछन्, जहाँ उनलाई युरोपेली देशहरूले गर्ने सहयोगबारे छलफल हुनेछ ।
यो घटनापछि युरोपेली संघका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले अमेरिकी राष्ट्रपतिमाथि आलोचना गर्दै भनेका छन्, ‘आज यो स्पष्ट भयो कि स्वतन्त्र विश्वलाई नयाँ नेतृत्वको आवश्यकता छ । हामी युरोपेलीहरूका लागि यो एउटा चुनौती हो ।’
युरोपको समर्थन
जेलेन्स्की र ट्रम्पबीचको तनावपूर्ण छलफलपछि युरोपियन युनियन आयोग अध्यक्ष उर्सुला भोन डेर लेयेन, परिषद् अध्यक्ष अन्तोनियो कोस्टा र संसद् अध्यक्ष रोबर्टा मेट्सोलाले संयुक्त विज्ञप्ति जारी गर्दै जेलेन्स्कीलाई ‘बलियो हुन’ आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘तपाईंको प्रतिष्ठामा युक्रेनी जनताको बहादुरी लुकेको छ । बलियो, साहसी र निडर बन्नुहोस् । तपाईं कहिल्यै एक्लो हुनुहुन्न, प्रिय राष्ट्रपति जेलेन्स्की । हामी न्यायपूर्ण र दीर्घकालीन शान्तिका लागि तपाईंसँग काम गरिरहनेछौं ।’
बेलायती प्रधानमन्त्री स्टारमरले ट्रम्प र जेलेन्स्की दुवै नेतासँग शुक्रबार राति कुरा गरेको डाउनिङ स्ट्रिटका प्रवक्ताले बताएका छन् । युक्रेनका लागि समर्थन कायम राख्दै सम्प्रभुता र सुरक्षामा आधारित दीर्घकालीन शान्तिको मार्ग खोज्न आफूले भूमिका निर्वाह गरिरहेको दाबी स्टारमरको छ ।
जेलेन्स्कीले भने अमेरिका निरन्तर आफ्नो पक्षमा रहनुको विकल्प नभएको बताउँदै आएका छन् ।
यो टिप्पणी लेख्दै गर्दा एक घण्टाअघि मात्र उनले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भनेका छन्, ‘हाम्रो जनताको सुरक्षाका लागि अमेरिकी जनताले धेरै सहयोग गरेका छन् । सबैभन्दा पहिला मानवाधिकार आउँछ, हामी साँच्चिकै आभारी छौं । हामीले अमेरिकासँग बलियो सम्बन्ध मात्र चाहेका हौं र त्यो हामीले प्राप्त गर्छौं ।’
उनले पटक-पटक यही आशयका पोस्ट गरेका छन् ।
जेलेन्स्कीले शनिबार टेलिग्राममार्फत् आफूले अमेरिकाका युक्रेनी समुदायसँग पनि भेट गरेको बताएका छन् । भेटमा उनले ‘युक्रेनको आवाज सुनिनु हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ’ भन्ने कुरा बताएका थिए ।
युक्रेनी प्रेसिडेन्सीका अनुसार अमेरिकामा जेलेन्स्कीले युक्रेनी हवाई टोलीका पूर्वकमाण्डर अन्द्रिय स्मोलेन्स्कीलाई देश रक्षामा उनको भूमिकाका लागि धन्यवाद दिएका थिए । स्मोलेन्स्की हाल अमेरिकामा उपचार गराइरहेका छन् । यो भेट ट्रम्पसँग भेट हुनु अघिको हो कि पछिको हो भनेर जेलेन्स्कीले उल्लेख गरेका छैनन् ।

युक्रेनी सांसद यारोस्लाव झेलेज्नियाकले जेलेन्स्कीलाई धेरै आशावादी नहुन चेतावनी दिएका छन् । उनले पनि टेलिग्राममा एक पोस्ट गर्दै लेखेका छन्, ‘यदि तपाईंले परिस्थिति कुनै तरिकाले आश्चर्यजनक रूपमा सुधार हुन्छ भन्ने सोच्नुभएको छ भने, त्यसमा भर नपर्नुहोस् ।’
ट्रम्पको व्यवहार आलोचनायोग्य रहेको भन्दै फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रों र युरोपेली आयोगकी अध्यक्ष लेयेनले जेलेन्स्कीप्रति ऐक्यबद्धता जनाएका छन् ।
अर्कोतर्फ, रुसले भने ट्रम्प–जेलेन्स्की विवादलाई आफ्नो कूटनीतिक लाभको रूपमा हेर्दै यसलाई पश्चिमी गठबन्धनभित्रको विभाजनको संकेत भनेको छ ।
सम्भावित असर
ट्रम्प–जेलेन्स्की विवादले केवल दुई नेताबीचको असहमति मात्र होइन, अमेरिका–युक्रेन सम्बन्धमा नै नयाँ संकट उत्पन्न गरेको छ । यसले युक्रेन संकट समाधानका प्रयासमा असर पार्नेछ ।
युरोपियन युनियनले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिज्ञा गरे पनि अमेरिकाले आफ्नो सहयोग नीति पुनः समीक्षा गर्नसक्ने संकेत देखिएको छ । साथै, रुसले यो अवसरलाई प्रयोग गरी रणनीतिक फाइदा उठाउन खोजेको छ ।
कूटनीतिक विश्लेषकहरूले अमेरिका र युक्रेनबीचको तनाव गहिरिँदै जाँदा युक्रेनको रक्षा सहायता तथा रुसविरुद्धको पश्चिमी रणनीतिमा ठूलो परिवर्तन आउन सक्ने बताएका छन् । आगामी दिनमा अमेरिकी कांग्रेसमा यस विषयमा बहस चर्किने सम्भावना देखिन्छ ।
युक्रेनमाथि रुसी आक्रमण जारी
जेलेन्स्की र ट्रम्पबीचको तनाव चर्किरहँदा रुसले युक्रेनमाथिको सैन्य आक्रमण थप बढाएको छ । युक्रेनी हवाई सेनाका अनुसार शुक्रबार रातभर रुसले युक्रेनमा कम्तीमा १५४ मानवरहित हवाई यान (युएभी)द्वारा आक्रमण गरेको छ ।

युक्रेनी आपतकालीन सेवाले शनिबार गरेको घोषणा अनुसार ओडेसा क्षेत्रमा भएको रुसी ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् । आक्रमणले एक घरमा आगलागी गराएको साथै परिसरमा रहेका ट्रक र कारमा पनि क्षति पुर्याएको आपतकालीन सेवाले जनाएको छ ।
रुसी सञ्चारमाध्यम रसिया टुडेले राष्ट्रपति पुटिनले पछिल्लो परिस्थितिलाई सजगतापूर्वक नियालिरहेको जनाएको छ । पुटिनले यस विषयमा केही प्रतिक्रिया दिइसकेका छैनन् । यसअघि उनले युरोपेली देशका नेताहरूले ट्रम्पलाई भड्काउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।