
नेपथ्य ब्यान्डको सातौं अस्ट्रेलिया यात्राको क्यानबेराबाट भव्य शुरूआत भएको छ ।
नेसनल कन्भेन्सन सेन्टरको ‘रोयल थिएटर’मा भएको कन्सर्टमा दर्शकले भरपुर साथ दिएका छन् ।
हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा लामो समयसम्म सेवा गरेकी लिन्डा साठीकै दशकदेखि यस मुलुकमा आयोजना हुने विश्व प्रसिद्ध ब्यान्डहरूको कन्सर्ट हेर्दै हुर्किएकी हुन्।
‘१७ वर्षअघि पहिलोपटक सिड्नीमा मैले नेपथ्यको कन्सर्ट हेरेकी थिएँ, त्यसयता अस्ट्रेलियामा आयोजित नेपथ्यका पाँचवटा कन्सर्ट हेरिसकेकी छु र यो छैटौं हो’, उनले भनिन् ।
कन्सर्टको शुरूआत ‘कोशीको पानी’बाट गरिएको थियो । त्यसपछि क्रमशः ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’ प्रस्तुत भए । ‘आँगनैभरि’ गाउने बेला गायक अमृत गुरुङले ३५ वर्षअगाडि आफूले तयार पारेको यो गीत अहिले सुनाउन पाउँदा बेग्लै आनन्द मिल्ने गरेको उल्लेख गरे ।
त्यसपछि नेपथ्यका सर्वकालिक हिट गीतहरु ‘लामपाते सुरती’, ‘चरी मर्यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाए ।
गीत गाउने क्रममा अमृतले अस्ट्रेलियामा नेपाली दर्शकको साथ पाइरहँदा एक मनले खुशी र अर्को मनले दुःखी पनि महसुस भइरहेको उल्लेख गरे ।
‘तपाईंहरू यहाँ आएर उज्ज्वल भविष्यका लागि संघर्ष गरिरहनु भएको देख्दा असाध्यै खुशी छु’, उनले भने, ‘तर, यत्तिका ऊर्जावान् तन्नेरीलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता-कता नरमाइलो पनि भइरहेको छ ।’

नेपाली भाषालाई भावी पुस्तासम्म विस्तार गर्न र नेपालमा रहेका आफन्तसँग बारम्बार भेट्न गई उताको सम्पर्कलाई पनि जीवित राख्न उनले थप अनुरोध गरे ।
‘तपाईंहरूलाई अब रुकुमतिर लैजान्छु’ भन्दै उनले ‘शीरफूल’ गीत सुनाए । त्यसपछि उनले पुरानो खाताबाट अर्को नेपथ्य गीत निकाले– ‘बिन्ती छ मेरो ए मेरी मायालु, एउटा चिठी कोरी पठाइदेऊ’।
मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली अस्ट्रेलिया यात्रामा छ ।
यसपटकको शृंखलाबद्ध यात्राका क्रममा क्यानबेरामा पहिलो प्रस्तुति सम्पन्न भएपछि ब्यान्ड अब ‘वेस्टर्न अस्ट्रेलिया’ राज्यको राजधानी पर्थ शहर पुग्नेछ । मार्च ९ मा त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा अबको प्रस्तुति रहनेछ ।
त्यसपछि मार्च १४ मा ब्रिसबेनको ‘द टिभोली’, मार्च १८ मा अस्ट्रेलियाकै पुछारमा रहेको टापु तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’, मार्च २१ मा एडिलेड सहरको ‘हिन्डले स्ट्रिट म्युजिक हल’, मार्च २४ मा मेलबर्नको ‘फेस्टिभल हल’मा प्रस्तुत भएपछि अन्तिम शो आयोजना गर्न सिड्नीतर्फ लाग्नेछ ।
सिड्नीमा मार्च २९ को साँझ ‘होर्डन पभिलियन’मा आफूलाई प्रस्तुत गरेपछि ब्यान्ड स्वदेश फर्किनेछ ।