
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथिको छानबिन समितिको विषयलाई लिएर मेयर बालेन साह आक्रोशित बनेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो ‘फ्लोर समर्थक’ बढाउँदै आक्रामक शैलीमा उत्रिने बालेन सबैभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोशित देखिन्छन् ।
काठमाडौं महानगरपालिकाभित्र पर्ने पुरानो बसपार्कमा निर्माणाधीन भ्यूटावरको नक्सा स्वीकृतिका विषयमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँमाथि छानबिन गर्न समिति बनाइएको थियो । तर, छानबिन समितिले गुरागाईँलाई ‘निर्दोष’ देखाएपछि समितिलाई बालेनले बेवास्ता गरेका छन् । यद्यपि, आफू चोखो देखिन बालेनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर सोमबार आफ्नो फेसबूक भित्तामा आक्रोशपूर्ण भनाइ राखे ।
‘महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबैभन्दा ठूलो कुरा सुशासन हो । भ्रष्टहरूविरुद्धको लडाइँ हो’, बालेनले प्रधानमन्त्री ओलीलाई चुनौती दिँदै भनेका छन्, ‘सुशासनका लागि जोसँग जुध्नुपरे पनि तयार छु, तर सम्झौता गर्दिनँ । सुशासन कायम गरेरै छाड्छु ।’
यसअघि पनि प्रधानमन्त्री ओलीका कतिपय निर्णयप्रति बालेनले प्रायःगरी शुक्रबार साँझ आलोचना र टिप्पणी गर्दै आएका छन् । कतिपय सन्दर्भमा प्रधानमन्त्री ओलीले मेयर बालेनको आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीलाई कतिपयले ‘मेयरसँग जुहारी खेलेको’ भनी आरोप समेत लगाउँदै आएका छन् ।
महानगरमा मेयर बालेन स्वतन्त्र, उप¬–मेयर सुनिता डंगोल एमाले र कार्यपालिकाका बहुमत सदस्य कांग्रेस छन् । शहरिया युवा र एमाले–कांग्रेसलाई नरुचाउने शक्ति केन्द्रबाट बालेनले जे गरे पनि राम्रो भन्ने एउटा भाष्य स्थापित छ, काठमाडौंमा । काठमाडौंलाई ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक शहर कायम राख्नुपर्छ भन्ने बालेन स्वयंले त्यसको खिल्ली उडाउँदै दरबारमार्गमा ग्रेनाइट बिछ्याउँदासमेत बालेनले ‘ठीक’ गर्यो भन्ने जमात बढी देखिन्छ ।
संघीय राजधानी, राजनीतिक, कूटनीतिक, व्यापारिक हरेक क्षेत्रले सामरिक महानगरको नेतृत्व गर्ने बालेनको महत्त्व बढ्नु स्वाभाविकै हो । काठमाडौं महानगरपालिकाको मेयरको महत्त्व जति छ, त्यही रवाफका आधारमा बालेनले गरेका सबै काम कानूनभन्दा माथि हुन्छन् भन्न मिल्दैन । भीडबाट निर्णय गराउनु सर्वथा गलत हुन जान्छ ।
महानगरपालिकामा यसअघि एमालेबाट विजयी विद्यासुन्दर शाक्य मेयर भएका कारण पनि महानगरको आन्तरिक कर्मचारी संरचनामा एमालेको पकड राम्रै छ ।
मेयर बनेपछि बालेनले जे जति निर्णयहरू गरे त्यसको विरुद्धमा एमालेबाट वडाध्यक्षमा विजयी भएकाहरू बाधक बने । प्रशासकीय अधिकृत गुरागाईँले पनि एमालेको कर्मचारी संगठनप्रति झुकाव राख्ने चाल पाएपछि बालेन झन् बिच्किए ।
प्रशासकीय अधिकृतले बालेनका हरेक योजनामा प्रश्न उठाउन खोजेपछि उनलाई हटाउन गरिएको खेलमा बालेन सफल हुन सकेनन् । महानगरपालिका प्रशासकीय अधिकृतविहीन बन्यो । काठमाडौं महानगरपालिकामा प्रशासकीय अधिकृत जान मान्दैनन् भन्ने आमकर्मचारी र सर्वसाधारणमा सन्देश गएपछि बालेन आक्रोशित देखिन्छन् ।
त्यही झोकमा प्रधानमन्त्री ओलीले नाकाबन्दी लगाएको भनी बालेनले सिधै भनेका छन्– ‘सुशासनका लागि जोसँग जुध्नुपरे पनि तयार छु, तर सम्झौता गर्दिनँ । सुशासन कायम गरेरै छाड्छु ।’ बालेनले आफ्नो कमजोरी छोप्नका लागि ‘सुशासन’को सहारा लिएर संघीय सरकारप्रति प्रहार गर्न खोजेका छन् ।
प्रशासकीय अधिकृत गुरागाईँ दोषी नठहरिएपछि उनी पुनर्बहाली हुने र आफ्नो नैतिक हार ठहरिने बुझेर बालेनले धम्कीपूर्ण भाषामा भने– ‘जोसँग जुध्नु परे पनि तयार छु ।’
यही मेसोमा एमालेबाट विजयी भएकी उपमेयर सुनिता डंगोलले छानबिन समितिको प्रतिवेदन बुझ्नुपर्ने मत राखेपछि बालेन एमालेप्रति झन् आक्रोशित बनेका छन् । विद्यासुन्दर मेयर हुँदा शहरी विकास आयोजनामा कार्यरत सुनिता एकाएक एमालेको समर्थनमा उपमेयर विजयी बनेकी हुन् ।
शहरिया कोर नेवारी परिवारमा हुर्केकी उनी बढी आलोचना सहन सक्दिनन् । पार्टीमा त्यस्तो लामो काम गरेर खारिएको, दुःख झेलेको कार्यकर्ता पनि होइनन् । मेयर बालेनसँग जुध्दा उनका समर्थकबाट साइबर आक्रमणमा पर्ने त्रासमा उपमेयर डंगोल खासै बोल्दिनन् ।
एमालेको हाइकमान्डले उपमेयर डंगोललाई ‘प्रशासकीय अधिकृतको विषय के हो ? त्यसबारे बोल्नुपर्छ, पार्टीबाट जितेपछि पार्टीको लाइन लिनुपर्छ,’ भनेपछि आइतबार प्रशासकीय अधिकृत गुरागाईँमाथिको छानबिन समितिले तयार पारेको प्रतिवेदन बुझ्नुपर्छ भनेर पहिलोपटक बोलेकी थिइन् ।
यसअघि न्यूरोडको बाटो फराकिलो बनाउने विषय लगायतमा एमालेबाट निर्वाचित वडाध्यक्षहरू बालेनका विरुद्ध बोलेका थिए । कार्यपालिकामा कांग्रेसको बहुमत छ । अहिले महानगरका प्रवक्ता वडा नं. १७ का अध्यक्ष नवीन मानन्धर छन् । नेपाली कांग्रेस काठमाडौं– ७ क्षेत्रीय समितिका सचिवसमेत रहेका मानन्धरले प्रशासकीय अधिकृत बालेन अनुकूल ल्याउन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग पटक–पटक भेट गराएका थिए ।
सत्ता साझेदारीमा प्रधानमन्त्री ओलीको सहमतिविना उक्त कार्य सफल नहुने जवाफ सिंहले दिएपछि बालेन र मानन्धरको योजना विफल भएको थियो । यी सबै प्रकरणमा प्रशासकीय अधिकृत गुरागाईँको महानगरमा पुनरागमन हुने बुझेपछि बालेन एमालेसँग जुध्नुपर्छ भन्ने मानसिकतामा पुगेरै सोमबार आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
महानगरपालिकाका एमालेनिकट कर्मचारी संगठनका प्रतिनिधिहरूले पार्टीको माथिल्लो नेतृत्व तहबाट बालेनको प्रतिवाद नगर्न आग्रह गरेका थिए । त्यसले झन् नकरात्मक सन्देश गएकाले महानगरमा पार्टीबाट निर्वाचित वडाध्यक्ष र उपमेयरलाई बालेनको प्रतिवादमा उत्रन निर्देशन दिन सुझाएका थिए । सोही सुझावअनुसार सुनितालाई निर्देशन दिइएको थियो ।
काठमाडौं महानगरपालिका वा जनमतका लागि २०८४ मा मुख्य बाधक एमाले हुने आकलनमा बालेन पुगेका छन् । सामाजिक सञ्जालमा बढेका आफ्नो समर्थकहरूबाट एमालेलाई टाढा पुर्याउने योजनामा बालेन लागिपरेका छन् । राजनीतिमा शत्रु र मित्र स्थायी नहुने भएकाले बालेन यतिखेर एमालेप्रति आक्रामक देखिएर आफ्नो शक्ति सञ्चय गर्दै २०८४ मा एमालेसँग ‘बार्गेनिङ पावर’ बढाउने रणनीतिमा पनि जान सक्छन् ।
बालेनले जसरी ‘जोसँग पनि जुध्ने’ धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरिरहेका छन्, त्यसले उनलाई पनि हित गर्दैन । प्रशासकीय अधिकृत गुरागाईँ छानबिनबाट दोषी ठहर नभएकाले उनलाई एकाध महिना सहज काम गर्ने वातावरण बनाउनु जिम्मेवार जनप्रतिनिधिको दायित्व हो । गुरागाईँ पनि मेयरलाई बेखुस पारेर काठमाडौं महानगरमै बस्नुपर्छ भन्नेमा पक्कै छैनन् होला । महानगरले गुरागाईँको सम्मानपूर्वक बिदाइबाहेक अर्को विकल्प सोच्नुहुँदैन ।
जुध्ने कानूनी आधारमा हो । मेयर बालेनले सार्वजनिक खपतका लागि ‘सुशासन’को शब्दका आधारमा आफ्नो साइबर सेनालाई आक्रमण गर्न लगाएर, जुधेर समृद्धिको बाटो समाउन सक्दैनन् । मेयर बालेनले जसरी प्रधानमन्त्री ओलीसँग जुध्ने भनेर घोषित ‘लडाइँ’को निमन्त्रणा दिएका छन्, प्रधानमन्त्री ओलीले त्यसको उत्तर दिनु जरुरी छैन । बालेनको ‘जुध्ने आमन्त्रण’को जवाफ एमालेले जिताएका उपमेयरसहितको टोलीले दिनुपर्छ ।
मेयर बालेनले महानगरको नेतृत्व लिएपछिको दुई वर्षे कार्यकालमा उनले गरेका गलत र सही कामलाई नजिकबाट देख्ने उपमेयर सुनिता नै हुन् । भोलि कार्यकाल सकिएपछि दोष र गुणको जस/अपजसको भागीदार स्वयं उपमेयर सुनिता हुने हो । सुनिताहरूको मौनताकै कारण यो दुई वर्षसम्म बालेन एमालेप्रति आक्रामक भइरहेका छन् ।
महानगरको एक मेयरसँग एमाले नेतृत्व तहले नै ‘जुहारी’ खेल्नुपर्ने अवस्था आएको छ । तसर्थ, बालेन जति एमाले नेतृत्वप्रति आक्रामक छन्, त्यति नै प्रतिवाद गर्न सुनिताहरू महानगरभित्रै एमाले बन्नुपर्छ ।