
चितवनको भरतपुर अस्पतालमा मुटुका बिरामीको उपचारका लागि क्याथल्याब सञ्चालनको तयारी गरिएको छ । आगामी चैतभित्रमा काम सम्पन्न हुनेगरी उपकरण जडान भइरहेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा. कृष्णप्रसाद पौडेलका अनुसार एउटा सामान छुटेकाले थप केही समय लागेको हो । अस्पतालले यसै महिनादेखि क्याथल्याब सञ्चालन गर्ने तयारी गरेको थियो ।
पौडेलले भने, ‘जर्मनबाट सामान ल्याउँदा एउटा छुटेछ । चैतमा मात्र सामान आएर काम सम्पन्न हुनेछ ।’अस्पतालको वार्षिकोत्सव चैत्र २५ गते मनाउँदै गर्दा क्याथल्याब उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
क्याथल्याब जडानका लागि उपकरणमा ११ करोड ५० लाख खर्च भएको भन्दै उनले भौतिक निर्माणसहित १५ करोड हाराहारी खर्च हुने जानकारी दिए । उनका अनुसार अहिले अस्पतालमा मुटुको उपचारमा डीएम गरेका तीन जना चिकित्सक छन् ।
अस्पतालका मुटु रोग विशेषज्ञ डा. मणि गौतमले अहिले मुटुको बहिरंग (ओपीडी) सेवा, इको वार्डलगायत सेवा सञ्चालनमा रहेका जानकारी दिए । क्याथल्याब सञ्चालनमा आएसँगै ‘इन्टरभेन्सन कार्डियोलोजी’ सेवा शुरू हुनेछ । यससँगै ‘एन्जियोग्राफी’, ‘एन्जियोप्लाष्ट’, ‘पेजमेकर’ जडानलगायत सेवा दिन सकिने उनको भनाइ छ ।
क्याथल्याब (मुटुको नसाहरू, धमनीहरू हेर्ने काम गरिन्छ) सञ्चालनमा आएसँगै मुटुको नसामा बोसोले रोक्दा खोल्न सकिने डा. गौतमले बताउनुभयो । क्रमशः मुटुसम्बन्धी उपचार सेवा थप गर्दै लैजाने योजना रहेको उनले जानकारी दिए । उनका अनुसार प्रभावकारी सेवाका लागि अस्पतालमा कम्तीमा आठ जना मुटुरोग विशेषज्ञ (कार्डियोलोजिष्ट) आवश्यक पर्दछ ।
भरतपुर अस्पताल संघीय अस्पताल हो । यहाँ चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्दछन् । क्याथल्याब सञ्चालनमा आएसँगै सर्वसुलभ रूपमा यो सेवा आमनागरिकले पाउने अस्पतालले जनाएको छ ।