
ललितपुरको लगनखेल–सातदोबाटो सडक खण्ड र लगनखेल–महालक्ष्मी स्थान निकै भीडभाड हुने क्षेत्र हो । एकतर्फ कर्मचारी सञ्चय कोषको भवन छ भने अकोतर्फ मानसिक अस्पताल र पाटन अस्पताल छन् । तीनै विपरीत भागमा छन् । तर, यो स्थानमा आकाशे पुल नहुँदा बाटो काट्न निकै मुस्किल पर्छ ।
त्यहाँ पुल बनाउने कुरा नउठेको पनि होइन । आजभन्दा २/३ वर्षअघि नै यस क्षेत्रमा आकाशे पुल बनाउने कुरा उठेको थियो । तर, पाटन अस्पताल, कर्मचारी सञ्चय कोष र मानसिक अस्पतालसँग समन्वय हुन नसकेपछि कुरा अगाडि बढ्न सकेको थिएन ।
तर, अब भने ललितपुरको पाटन अस्पताल, कर्मचारी सञ्चय कोष र मानसिक अस्पताल जोड्नेगरी लिफ्टसहितको स्मार्ट आकाशे पुल बन्ने भएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले गत माघ १३ गते जावलाखेलमा ‘साप्ताहिक ट्राफिक सचेतना’ कार्यक्रमको उद्घाटन गर्दै आगामी आर्थिक वर्षभित्रै पाटन क्षेत्रमा मास्टर प्लानको काम अगाडि बढ्ने बताएका थिए । कर्मचारी सञ्चय कोष, पाटन अस्पताल र मानसिक अस्पतालबीच समन्वय भएपछि अध्ययनको काम अगाडि बढाएको हो ।
जसलाई ‘पेडिस्ट्रोन ब्रिज एट पाटन एरिया’ परियोजना नामकरण गरिएको छ । पेडिस्ट्रोन ब्रिज परियोजनाको डीपीआर तयार भइसकेको छ । तीनै निकायसँग पुनः वार्ता गरेर डीपीआर स्वीकृत गर्ने र नमिलेका कुरा मिलाउने काम भने बाँकी छ ।

महानगरले ‘पेडिस्ट्रोन ब्रिज’ परियोजनाको अन्तिम स्वीकृति हुन मात्रै बाँकी रहेको सिनियर डिभिजनल इन्जिनियर (सीडीई) प्रदीप पौडेलले बताए । उनकाअनुसार अन्तिम स्वीकृति भएपछि महानगरपालिकाले परियोजनालाई सडक विभागबाट सहमति लिएर काम अगाडि बढाइने छ ।
‘डीपीआर तयार भएर खाका बनाउने काम सम्पन्न भइसकेको छ’, पौडेलले लोकान्तरसँग भने, ‘तीनै निकायसँग नमिलेका विषयमा पुनः छलफल गर्नुपर्ने छ । तीनै सकारात्मक छन् ।’

महानगरको मास्टर प्लान ‘पेडिस्ट्रोन ब्रिज’
कर्मचारी सञ्चय कोष, पाटन अस्पताल र मानसिक अस्पताल परिसरमा प्रेडिस्ट्रोन ब्रिज निर्माण हुनेछ । ब्रिजलाई स्मार्ट बनाइने महानगरले जनाएको छ । ब्रिजमा अपाङ्गता भएका, अशक्त, गर्भवती महिलालगायत आवतजावत गर्न लिफ्टको व्यवस्था गरिने छ ।
गत वैशाख २० गते क्रिड स्ट्रक्चरल डिजाइन कम्पनीले स्मार्ट ब्रिजको डीपीआर बनाउने काम शुरू गरेको थियो । कम्पनीले कार्तिक २० गते आफ्नो प्रतिवेदन बुझाएको थियो । करिब ६ महिनामा कम्पनीले डीपीआर तयार बनाएको हो । पुलको चौडाइ २.५ मिटर रहनेछ भने आवतजावत गर्ने बाटो करिब २.४ मिटरको हुनेछ । २.४ मिटरभित्रै लिफ्ट र सीडीहरू दुवै हुनेछन् ।

पाटन अस्पताल र मानसिक अस्पतालतर्फ मात्रै लिफ्ट राखिने छ । कर्मचारी सञ्चय कोषको भवनतर्फ भने लिफ्ट नरहने जनाइएको छ । दुवै अस्पतालतर्फ मात्रै लिफ्ट राख्न मिल्ने अध्ययनले देखाएको छ ।
पाटन अस्पताल, सञ्चयकोष भवन र मानसिक अस्पतालको कति क्षेत्रफल ओगट्ने र कति क्षेत्रफलमा समेट्ने कुरा अझै टुङ्गो लागेको छैन । कर्मचारी सञ्चयकोष भवनको तीनकुने पर्खाल हटाइनेछ । सञ्चयकोष अगाडिको दुई तर्फका पर्खाल हटाएर केही सानो बनाइने छ । उक्त स्थानमा नै पुलको एक हिस्सा आउनेछ ।

यस परियोजनाको कुल लागत ५ करोड ६१ लाख ९४ हजार २२० रुपैयाँ लाग्ने देखिएको छ । डीपीआर स्वीकृत हुन बाँकी परियोजनालाई सडक विभागबाट सहमति लिएपछि महानले आगामी आर्थिक वर्षको बजेटमा नै उल्लेख गर्ने योजना छ ।
ललितपुर महानगले आफ्नो क्षेत्रभित्र रहेका सडकमा स्मार्ट ट्राफिक लाइट जडान गर्दै लगिरहेको छ । जसले महानगरलाई व्यवस्थित बनाइरहेको छ । यस परियोजनाबाट लगनखेलमा हुने चापलाई केही मात्रामा कम गर्न सहयोग पुग्ने जनाइएको छ ।