०९ असार २०८३, मंगलबार

हेर्दाहेर्दै बाराहीघाट ‘रणभूमि’ बन्यो

फागुन २३, २०८१
पाेखरा
हेर्दाहेर्दै बाराहीघाट ‘रणभूमि’ बन्यो

‘धर्मका  लागि  अधर्म गर्न तयार छु ।’ विवादित धर्मगुरु विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले पोखरामा गर्न लागेको कोटीहोम विवादका विषयमा केही समय पहिले पत्रकारलाई दिएको टिप्पणी हो यो । जतिबेला पोखराका रुख धमाधम काटेको विषयमा उनको आलोचना भइरहेको थियो ।

लेकसाइडछेउ उनै विजय नेतृत्वको मानव सेवा फाउन्डेसनले महिनादिनसम्म कोटीहोम गर्ने भएपछि विगत केही समयदेखि पक्ष र विपक्षमा बहस भइरहेको छ । आफ्नो अनुमतिबिना कोटीहोम  गर्न नपाइने पोखरा महानगरको अडान र जसरी पनि कोटीहोम गरेरै छाड्ने विजयको जिद्धीले शुक्रबार उग्ररूप लियो । फेवाताल किनारको बाराहीघाट शुक्रबार करिब रणमैदानजस्तै बन्न पुग्यो ।

विजयले त्यहाँ शुक्रबार कोटीहोमा लागि भूमिपूजन कार्यक्रम राखेका थिए । तर, उक्त स्थानमा महानगरले स्वीकृति नदिएको बताउँदै आएको छ । यसै विषयमा माघ २७ गते पत्रकार सम्मेलन गर्दै विजयले धर्मका लागि अधर्म गर्न तयार भएको बताएका थिए । जसलाई पुष्टि गर्ने गतिविधि शुक्रबार भएको छ। 

null

शुक्रबार बाराहीघाटमा साइत हेराएर फाउन्डेसनले कोटीहोम शुरूआतका लागि शुक्रबार भूमि पूजनको कार्यक्रम गर्‍यो । महानगरको अनुमतिबिना कार्यक्रम थालेको भन्दै महानगर टोली कार्यक्रम शुरू हुनुअघि नै वार्ताका लागि कार्यक्रमस्थल पुगे । फाउन्डेसनले तय गरेको १०:२१ बजेको साइतअघि नै महानगर प्रवक्ता मोतिलाल तिम्सिना वार्ता गरि कार्यक्रम रोक्न पुगेका थिए । तर, फाउन्डेसनले महानगरको आग्रह नमानी भूमि पूजा सक्यो । 

फाउन्डेसनले महानगर टोलीलाई नेपाल ट्रष्टको मातहातमा रहेको बाराहीघाट स्थलबाट पूजा सक्नु अगावै निकालेको थियो । महानगर टोलीको गाडी कार्यक्रमस्थलभित्र थियो । महानगर टोली गाडी लिन भित्र जान खोजेलगत्तै विवाद भयो । जुन विवाद झडपमा परिणत हुँदा ११ जना नगर प्रहरी घाइतेका छन् । 

रड र हेल्मेटले प्रहार, प्रहरीको असहयोग !
महानगरको आदेशले कार्यक्रमस्थलमा ४५ नगरप्रहरी खटिएका थिए । आदेश अनुसार कार्यक्रमस्थलमा पुगेकी थिइन् नगर प्रहरी देउकी कार्की । झडपमा उनीमाथि हेल्मेट प्रहार भयो । प्रहारलगत्तै रक्तामे भएकी देउकी केहीबेर बेहोस भइन् । 

उनी गण्डकी मेडिकल कलेजमा उपचाररत छिन् । चिकित्सकले २४ घण्टा निगरानीमा राख्न सुझाएको छ । अस्पताल पुग्दा उनलाई भेट्न महानगरका सूचना अधिकारीसहितको टोली पुगेको थियो । उनीहरूलाई देखेलगत्तै देउकी रुन थालिन् । उनी बोल्न सक्ने अवस्थामा छैनन् । 

null

महानगनगरले खटाएकामध्ये ११ जना घाइते भएका छन् । नगर प्रहरी भुवन थापाको टाउकोमा चोट लागेको छ । मेट्रो सिटी अस्पताल उपचारत उनलाई चारवटा टाँका लागेको छ । झडपमा केबाट टाउकोमा प्रहार भयो भुवनलाई थाहा छैन । तर,विपक्षले रड, हेल्मेट प्रयोग गरेको उनी बताउँछन् । 

‘हामी भित्र रहेको सामान उठाउने भन्ने कुरा थियो । उहाँहरूले रोक्नुभयो । उहाँहरू सबैसँग रड लगायतका हतियार थिए । रड, हेल्मेट, इट्टाले केले हान्यो थाहा भएन । साथीलाई जोगाउन जाँदा मलाई लाग्यो’, भुवनले भने । 
 
अर्का नगरप्रहरी सिमन्त थारुको टाउकोमा चोट लागेको छ । चोटकै कारण उनी सहज रूपमा बोल्न सक्ने अवस्थामा छैनन् । उनलाई ढुंगाले चोट लागेको बताउँछन् । हड्डीसम्म पुग्नेगरी उनको टाउकोमा चोट लागेको छ । 

null

‘हामी भित्र छिर्दाछिर्दै उहाँहरूले ढुंगा र इट्टाले हान्नुभयो । हाम्रो गाडी भित्र थियो । गाडी लिन जाँदा उहाँहरूले हान्नुभयो । हाम्रो गाडीलाई उहाँहरूले छेकेर राखेको थियो । उहाँहरूको गाडी ब्याक भएपछि त्यही सँगसँगै उहाँहरूसँग ढुंगा र रड देख्यौं । उहाँहरू पहिल्यै तयारी गरेर बस्नुभएको रहेछ’, नगरप्रहरी सुमन श्रेष्ठले भने ।

सुरक्षा चुनौतीलाई मध्यनजर गरेर घटनास्थलमा नेपाल प्रहरीको टोली खटाइएको थियो । विजयका मानिसले हातमा रड लगायतका हतियार लिएको देख्दा पनि प्रहरीले नखोसेको प्रत्यक्षीदर्शी बताउँछन् । प्रहरीले समयमै उनीहरूसँग भएको हतियार नियन्त्रणमा लिएको भए दुर्घटना नआउने उनले बताए । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, एसपी श्यामबाबु ओलियाले ​प्रहरीले असहयोग गरेको भन्न नमिल्ने बताए । उनले प्रहरीले नै स्थिति नियन्त्रणमा लिएको दाबी गरे । ‘नेपाल प्रहरी मुकदर्शक भएर बस्ने कुरा भएन । आवश्यकता अनुसार कहाँ के बल प्रयोग गर्ने हाम्रो टोली खटिँदैथियो । हामीले आफ्नो काम गरेका छौं’, एसपी ओलियाले भने । 

प्रत्यक्षदर्शी समेत रहेका फोटो पत्रकार युनिश गुरुङ पनि फाउन्डेसनका मानिस रड बोकेर पहिल्यै तयारी अवस्थामा बसेको बताउँछन् । 

‘पूजा सकिएको थियो । महानगरको गाडी भित्र रैछ । कुरा मिलाउने भनेर नगरप्रहरी भित्र जाँदैथियो । त्यही कुरामा भनाभन भयो । त्यसपछि हानाहान भएको हो । कसले हान्यो ठ्याक्कै थाहा भएन । उनीहरू रड लिएर रेडी पोजिसनमा बसिरहेका थिए’, गुरुङले भने । 

null

फाउन्डेसनका मिडिया कोर्डिनेटर लेखराज ढकाल भने गुण्डाशैलीमा महानगरले आक्रमण गरेको आरोप लगाउँछन् । ‘पूजा सकेर निक्लिने क्रममा आक्रमण भयो । यसमा लाठी बोकेर, रड बोकेर विभिन्न किसिमका व्यक्तिहरू गुण्डाको शैलीमा आउनुभयो’, ढकालले भने, ‘महानगरको प्रहरी त छँदै हुनुहुन्थ्यो । त्यसको साथसाथै अरु व्यक्तिहरू पनि आउनुभएको थियो ।’

महानगरले कोटीहोमका लागि फाउन्डेसनलाई अनुमति नदिएको प्रवक्ता मोतिलाल तिम्सिना बताउँछन् । आयोजकले हातहतियार बोकेर पूर्वतयारीसहित आक्रमण गरेको तिम्सिनाले बताए । 

‘नगर प्रहरीलाई रडले हानिएको छ । ढुंगामुढा भएको छ । आयोजकहरू हातहतियार राखेर बसेको रहेछ । कार्यक्रमको स्वीकृति छैन । स्वीकृतिबारे सोध्न जाँदा हामीलाई स्वीकृति चाहिँदैन भनेर हिंसामा उत्रिनुभयो’, प्रवक्ता तिम्सिनाले भने ।

salt training

कमेन्ट गर्नुहोस्