
रंगिन किताब हातमा लिएर ‘ए फर एप्पल’ पढ्थे आफैंसँगका साथी । बेरंग पानाका किताबमा ‘कपुरी क’ पढ्दै हुर्किए तनहुँको भिमाद नगरपालिका-९ का शिवकुमार आले । साथीसँगीको रंगिन किताब देख्दा शिवकुमारलाई लाग्थ्यो– मसँग यस्तै किताब भइदिए !
बालहठले आमाका अघि रोइदिन्थे, स्याउको चित्र भएको पुस्तकका लागि । ‘लाउन खान’को जोडजाम काँधमा बोकेकी आमालाई, छोराको रंगिन किताबको रहर पूरा गर्नु अक्करे भीर उक्लिनुजस्तै थियो ।
आमा भिमाद-९, पार्थदीमा खेतीकिसानी गर्थिन् । गर्जो टर्न पुग्थो । आवश्यकता र रहन थाती नै हुन्थे । यस्तै परिवेशमा हुर्किए शिवकुमार । प्राइभेट स्कुल जान खोज्ने शिवकुमारले बुझ्न थालेका थिए, सामाजिक संरचना र आर्थिक विपन्नता । किताब किन्न जिद्दी गर्ने छोराले बुझेको थियो, आमाले गरेको श्रमले पेटलाई मात्र पुग्थ्यो । कृषि पेशाले घरमा बिहान-बेलुका छाक टार्न पुग्छ । आवश्यकता पर्दा एक पैसा निकाल्न धौधौ हुन्छ । उनी सोच्थे- यो कृषि कस्तो खालको हो ?
एसएलसी दिएर थप अध्ययनका लागि भीमाद झरेका थिए उनी । २०६८ मा सिभिल सब ओभरसियरसको २४ महिने कोर्स सके । त्यतिबेला विद्यार्थी राजनीतिमा पनि सक्रिय भए उनी । राजीनितिको बाटोले उनलाई सकारात्मक बाटोतर्फ डोर्यायो । उनी केही गर्नुपर्छ भन्ने हुटहुटीमा थिए । त्यसको शुरूआत आफूबाट गर्नुपर्छ ठान्थे । विद्यार्थी राजनीतिको प्रभावले उनलाई समुदाय रूपान्तरण गर्नुपर्छ भन्ने सोच ल्यायो ।

२०६८ ताका पार्थदी र सदरमुकामबीच ढुवानी सेवा सहज थिएन । तीन महिनामा मुस्किलले एकपटक गाडी जान्थ्यो । उनी कृषि पेशामा आउनुपर्छ भनेर सोच्थे । तर, गाउँमा बसेर कसरी सम्भव । उत्पादनले बजार पाउनुपर्यो ।
‘म आफू कृषि पेशामा आउनुपर्छ भनेर किन लाग्यो भने बजार र शहरको पहुँचभन्दा टाढा थियौं । ढुवानीको समस्या थियो । अनि, हाम्रो शहर र बजारमा चाहिँ जोड्न सक्ने कुनैपनि आधार नभएकाले ग्रामीण भेगमा थियौं । त्यहाँका समुदायलाई कसरी रूपान्तरण गर्ने भन्ने चुनौतीको विषय थियो’, शिवले भने ।
तरकारी खेती, दूग्ध उत्पादन । यी सम्भव थिएन उनको गाउँबाट । उनले के गरे उत्तम होला भन्ने सोच्न थाले । त्यसपछि लाग्यो बाख्रापालन व्यवसाय । त्यसपछि २०६८ सालमा १८ वर्षको ठिटोले खोल्यो ‘सिर्जनशील बाख्रा फार्म’।
आमाको गहना बेचेर बाख्रा फार्म
गाउँमा सबै निर्वाहमूखि कृषिमा आबद्ध थिए । व्यावसायिक रूपमा कोही कृषक थिएनन् । यसबाट आम्दानी हुन्छ वा आर्थिक रूपमा अघि बढ्न सकिन्छ भनेर त्यसबेला उनको गाउँमा कोही अघि बढेको थिएन । २४ महिनाको कोर्स सकेर बिदाइ कार्यक्रममा साथीहरू दार्जिलिङ घुम्न जाँदै थिए । घुम्न जाने पैसाले एउटा बाख्रा भएपनि किनेर व्यवसाय शुरू गर्छु भन्ने सोच शिवमा आयो ।
उनी साथीहरूसँग घुम्न गएनन् । साथीहरूले दार्जिलिङको बाटो नाप्दा त्यसको विपरीत दिशामा हुइँकिए उनी । जसले जिन्दगीको यात्रालाई व्यवसायतिर मोड्यो । तत्कालीन जिल्ला पशु सेवा कार्यालयमा पुगेर भेटघाट गरे । बाख्रा पाल्न इच्छुक रहेको सुनाउँदा सहयोग के पाइन्छ भनेर सोधे । अधिकृतले तालिम मिलाइदिए । तीन दिनको तालिम लिए । धेरथोर प्राविधिक ज्ञान भयो । अब परिवारलाई फकाउनु थियो । पैसा जुटाउनु थियो, लगानीका लागि ।

‘तीन दिनको तालिम लिएँ । तालिम लिएर आएपछि परिवारलाई सम्झाउन पर्थ्यो । म जिद्दी खालको, आफूले गर्छु भनेपछि गर्नैपर्ने खालको थिएँ । आमाबाबासँग म बाख्रा पाल्ने हो भनेर ‘झगडा’ गरेँ । त्यतिखेर ४८ हजार तोलामा बजारमा लगेर आमाको सुन बेचेँ । त्यसपछि एउटा सहकारीबाट ऋण लिएर मैले एक लाख रूपैयाँ लगानी गरेको हो’, शिवले शुरूआती दिन सम्झिए ।
जोडजाम गरेर एक लाख लगानीमा १० वटा बाख्राका माउबाट फार्म शुरू गरेको उनी बताउँछन् । अहिले फार्ममा ८० लाख लगानी गरिसकेका छन् । जसबाट वार्षिक खर्च कटाएर १२ लाख बढी आम्दानी हुन्छ । उनले व्यवसाय शुरू गरेपछि पहिलोपटक प्रतिकिलो २ सय ४० रूपैयाँमा खसी बेचे । यसरी पनि आम्दानी गर्न सकिने रहेछ भनेर गाउँलेमा पनि चेतना आयो । त्यसपछि गाउँका ६४ घरधुरीमा ६० घरधुरी व्यावसायिक बाख्रा पाल्नमा जोडिए । उनको प्रयासपछि निर्वाहमूखि कृषि गर्ने गाउँलेको जीविकोपार्जनको बाटो खुलेको छ । सम्पूर्ण किसानले प्राविधिक तालिम लिएर सुधार गरिएका खोरमा बाख्रा पालन गरेको शिव सुनाउँछन् ।
शुरूआतमा बाख्रा पालन गर्दा सडक सञ्जाल थियो न उनको चिनाजानी । हातमा खसी डोर्याएर सदरमुकाम झर्थे बेच्नका लागि । १९, २० वर्षको ठिटो व्यापार गर्न बजार झर्थ्यो । अहिले गाउँमा सडक पुगेको छ । बाख्रा लिन उनको घरमा नै गाडी पुग्छ । उनले बोयर ब्रिडको प्रजनन्योग्य बाख्रा पाठा बेच्छन् । उनको फार्ममा ४७ वटा बाख्रा छन् अहिले ।
‘त्यति धेरै संख्याभन्दा क्वालिटी प्रजनन्योग्य बोका पाठापाठीहरू बिक्री गर्छौं। त्यहाँबाट निस्किएका सबै पाठापाठी प्रजनन्का लागि योग्य हुँदैन । त्यो नहुँदाको दिनमा मात्र हामीले बाहिर मासुको लागि मार्केटमा ल्याउँछौं’, शिवले भने ।

शुरूआती समयमा सीमित ज्ञान थियो । तत्कालीन गाविस हुँदा काम गर्न साथसहयोग उत्तिकै कम पनि । यो अन्तरालमा युवा व्यवासय भएर उनले निकै चुनौती व्यहोरे । १३ वर्ष भयो उनी यो पेशामा लागेको । उनी आफ्नो व्यवसायप्रति सन्तुष्ट छन् । तर, अस्थिरता र राज्यसँग कृषिलाई अगाडि लैजान कृषकमैत्री नीति नभएकोमा चाहिँ उनको गुनासो छ ।
त्यसबीच साथीसंगी सबै विदेश छन् । कोही रहर त कोही बाध्यताले विदेशिएका छन् । त्यो सम्झँदा उनलाई एक्लो महसुस हुन्छ । भन्छन्– ‘व्यवसायको कारण पलायन हौं जस्तो लाग्दैन । तर, देशको परिस्थिति, सबै बाहिर गएको देख्दा र आफू यहाँ एक्कै टुपलुक्क बस्दा एक्लो महसुस हुन्छ । बाहिरको माहोल हेर्दा बुझौं के छ त भन्ने पनि लाग्छ ।’