०८ असार २०८३, सोमबार
कृषिमा युवा

आमाको गहना बेचेर शिवले शुरू गरेको बाख्रा फार्म, जसले गाउँलाई नै बनायो आत्मनिर्भर

फागुन २४, २०८१
पाेखरा
आमाको गहना बेचेर शिवले शुरू गरेको बाख्रा फार्म, जसले गाउँलाई नै बनायो आत्मनिर्भर

रंगिन किताब हातमा लिएर ‘ए फर एप्पल’ पढ्थे आफैंसँगका साथी । बेरंग पानाका किताबमा ‘कपुरी क’ पढ्दै हुर्किए तनहुँको भिमाद नगरपालिका-९ का शिवकुमार आले । साथीसँगीको रंगिन किताब देख्दा शिवकुमारलाई लाग्थ्यो– मसँग यस्तै किताब भइदिए !

बालहठले आमाका अघि रोइदिन्थे, स्याउको चित्र भएको पुस्तकका लागि । ‘लाउन खान’को जोडजाम काँधमा बोकेकी आमालाई, छोराको रंगिन किताबको रहर पूरा गर्नु अक्करे भीर उक्लिनुजस्तै थियो । 

आमा भिमाद-९, पार्थदीमा खेतीकिसानी गर्थिन् । गर्जो टर्न पुग्थो । आवश्यकता र रहन थाती नै हुन्थे । यस्तै परिवेशमा हुर्किए शिवकुमार । प्राइभेट स्कुल जान खोज्ने शिवकुमारले बुझ्न थालेका थिए, सामाजिक संरचना र आर्थिक विपन्नता । किताब किन्न जिद्दी गर्ने छोराले बुझेको थियो, आमाले गरेको श्रमले पेटलाई मात्र पुग्थ्यो । कृषि पेशाले घरमा बिहान-बेलुका छाक टार्न पुग्छ । आवश्यकता पर्दा एक पैसा निकाल्न धौधौ हुन्छ । उनी सोच्थे- यो कृषि कस्तो खालको हो ? 

एसएलसी दिएर थप अध्ययनका लागि भीमाद झरेका थिए उनी । २०६८ मा सिभिल सब ओभरसियरसको २४ महिने कोर्स सके । त्यतिबेला विद्यार्थी राजनीतिमा पनि सक्रिय भए उनी । राजीनितिको बाटोले उनलाई सकारात्मक बाटोतर्फ डोर्‍यायो । उनी केही गर्नुपर्छ भन्ने हुटहुटीमा थिए । त्यसको शुरूआत आफूबाट गर्नुपर्छ ठान्थे । विद्यार्थी राजनीतिको प्रभावले उनलाई समुदाय रूपान्तरण गर्नुपर्छ भन्ने सोच ल्यायो । 

null

२०६८ ताका पार्थदी र सदरमुकामबीच ढुवानी सेवा सहज थिएन । तीन महिनामा मुस्किलले एकपटक गाडी जान्थ्यो । उनी कृषि पेशामा आउनुपर्छ भनेर सोच्थे । तर, गाउँमा बसेर कसरी सम्भव । उत्पादनले बजार पाउनुपर्‍यो । 

‘म आफू कृषि पेशामा आउनुपर्छ भनेर किन लाग्यो भने बजार र शहरको पहुँचभन्दा टाढा थियौं । ढुवानीको समस्या थियो । अनि, हाम्रो शहर र बजारमा चाहिँ जोड्न सक्ने कुनैपनि आधार नभएकाले ग्रामीण भेगमा थियौं । त्यहाँका समुदायलाई कसरी रूपान्तरण गर्ने भन्ने चुनौतीको विषय थियो’, शिवले भने । 

तरकारी खेती, दूग्ध उत्पादन । यी सम्भव थिएन उनको गाउँबाट । उनले के गरे उत्तम होला भन्ने सोच्न थाले । त्यसपछि लाग्यो बाख्रापालन व्यवसाय । त्यसपछि २०६८ सालमा १८ वर्षको ठिटोले खोल्यो ‘सिर्जनशील बाख्रा फार्म’।

आमाको गहना बेचेर बाख्रा फार्म 

गाउँमा सबै निर्वाहमूखि कृषिमा आबद्ध थिए । व्यावसायिक रूपमा कोही कृषक थिएनन् । यसबाट आम्दानी हुन्छ वा आर्थिक रूपमा अघि बढ्न सकिन्छ भनेर त्यसबेला उनको गाउँमा कोही अघि बढेको थिएन । २४ महिनाको कोर्स सकेर बिदाइ कार्यक्रममा साथीहरू दार्जिलिङ घुम्न जाँदै थिए । घुम्न जाने पैसाले एउटा बाख्रा भएपनि किनेर व्यवसाय शुरू गर्छु  भन्ने सोच शिवमा आयो । 

उनी साथीहरूसँग घुम्न गएनन् । साथीहरूले दार्जिलिङको बाटो नाप्दा त्यसको विपरीत दिशामा हुइँकिए उनी । जसले जिन्दगीको यात्रालाई व्यवसायतिर मोड्यो । तत्कालीन जिल्ला पशु सेवा कार्यालयमा पुगेर भेटघाट गरे । बाख्रा पाल्न इच्छुक रहेको सुनाउँदा सहयोग के पाइन्छ भनेर सोधे । अधिकृतले तालिम मिलाइदिए । तीन दिनको तालिम लिए । धेरथोर प्राविधिक ज्ञान भयो । अब परिवारलाई फकाउनु थियो । पैसा जुटाउनु थियो, लगानीका लागि । 

null

‘तीन दिनको तालिम लिएँ । तालिम लिएर आएपछि परिवारलाई सम्झाउन पर्थ्यो । म जिद्दी खालको, आफूले गर्छु भनेपछि गर्नैपर्ने खालको थिएँ । आमाबाबासँग म बाख्रा पाल्ने हो भनेर ‘झगडा’ गरेँ । त्यतिखेर ४८ हजार तोलामा बजारमा लगेर आमाको सुन बेचेँ ।  त्यसपछि एउटा सहकारीबाट ऋण लिएर मैले एक लाख रूपैयाँ लगानी गरेको हो’, शिवले शुरूआती दिन सम्झिए । 

जोडजाम गरेर एक लाख लगानीमा १० वटा बाख्राका माउबाट फार्म शुरू गरेको उनी बताउँछन् । अहिले फार्ममा ८० लाख लगानी गरिसकेका छन् । जसबाट वार्षिक खर्च कटाएर १२ लाख बढी आम्दानी हुन्छ । उनले व्यवसाय शुरू गरेपछि पहिलोपटक प्रतिकिलो २ सय ४० रूपैयाँमा खसी बेचे । यसरी पनि आम्दानी गर्न सकिने रहेछ भनेर गाउँलेमा पनि चेतना आयो । त्यसपछि गाउँका ६४ घरधुरीमा ६० घरधुरी व्यावसायिक बाख्रा पाल्नमा जोडिए । उनको प्रयासपछि निर्वाहमूखि कृषि गर्ने गाउँलेको जीविकोपार्जनको बाटो खुलेको छ । सम्पूर्ण किसानले प्राविधिक तालिम लिएर सुधार गरिएका खोरमा बाख्रा पालन गरेको शिव सुनाउँछन् । 

शुरूआतमा बाख्रा पालन गर्दा सडक सञ्जाल थियो न उनको चिनाजानी । हातमा खसी डोर्‍याएर सदरमुकाम झर्थे बेच्नका लागि । १९, २० वर्षको ठिटो व्यापार गर्न बजार झर्थ्यो । अहिले गाउँमा सडक पुगेको छ । बाख्रा लिन उनको घरमा नै गाडी पुग्छ । उनले बोयर ब्रिडको प्रजनन्‌योग्य बाख्रा पाठा बेच्छन् । उनको फार्ममा ४७ वटा बाख्रा छन् अहिले । 

‘त्यति धेरै संख्याभन्दा क्वालिटी प्रजनन्‌योग्य बोका पाठापाठीहरू बिक्री गर्छौं। त्यहाँबाट निस्किएका सबै पाठापाठी प्रजनन‌्का लागि योग्य हुँदैन । त्यो नहुँदाको दिनमा मात्र हामीले बाहिर मासुको लागि मार्केटमा ल्याउँछौं’, शिवले भने । 

null

शुरूआती समयमा सीमित ज्ञान थियो । तत्कालीन गाविस हुँदा काम गर्न साथसहयोग उत्तिकै कम पनि । यो अन्तरालमा युवा व्यवासय भएर उनले निकै चुनौती व्यहोरे । १३ वर्ष भयो उनी यो पेशामा लागेको । उनी आफ्नो व्यवसायप्रति सन्तुष्ट छन् । तर, अस्थिरता र राज्यसँग कृषिलाई अगाडि लैजान कृषकमैत्री नीति नभएकोमा चाहिँ उनको गुनासो छ । 

त्यसबीच साथीसंगी सबै विदेश छन् । कोही रहर त कोही बाध्यताले विदेशिएका छन् । त्यो सम्झँदा उनलाई एक्लो महसुस हुन्छ । भन्छन्–  ‘व्यवसायको कारण पलायन हौं जस्तो लाग्दैन । तर, देशको परिस्थिति, सबै बाहिर गएको देख्दा र आफू यहाँ एक्कै टुपलुक्क बस्दा एक्लो महसुस हुन्छ । बाहिरको माहोल हेर्दा बुझौं के छ त भन्ने पनि लाग्छ ।’

salt training

कमेन्ट गर्नुहोस्