
कवि दिनेश अधिकारीको कवितासंग्रह 'पानीको परेड' लोकार्पण गरिएको छ । कवि दिनेश अधिकारीका कविता छापिन थालेको ५० वर्षको अवसर पारेर पब्लिकेशन नेपालयले 'पानीको परेड' प्रकाशन गरेको हो ।
‘२०३२ चैतमा ‘रत्नश्री’मा मेरा दुइटा कविता छापिएपछि मेरो काव्यिक परेड सुरु भएको हो,’ 'पानीको परेडु पुस्तक लोकार्पण कार्यक्रममा अधिकारीले भने, ‘पुस्तकका रुपमा 'अन्तरका छिटा' देखि आज 'पानीको परेड' सम्म आइपुगेको छु ।’
कवि सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भूपी शेरचन, वासु शशीको घरलाई प्रमुख काव्यिक गन्तव्य बनाएको पनि कवि अधिकारीले स्मरण गरे । २०३६ सालमा अभिव्यक्ति स्वतन्त्रता, प्रजातन्त्र र बहुदलीय व्यवस्थाको पक्षमा उभिएर अग्रज कविहरु मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरेहरुका साथमा आन्दोलनमा होमिएको स्मरण गर्दै अधिकारीले त्यतिबेला आफ्नो जागिर संयोगले जोगिएको बताए ।
'पानीको परेड' कविता संग्रहभित्र कवि अधिकारीले पछिल्लो १५ वर्षयता लेखेका धेरै कविताबाट छानेर ७७ वटा समेटिएको छ । जीवनको ज्वार, आस्थाको आकाश, वक्र-वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्डमा ७७ कविता छन् ।
१८० पृष्ठको 'पानीको परेड' को मूल्य ५२५ रुपैयाँ रहेको छ ।