
कवाड व्यवसायी समाज नेपालले काठमाडौं उपत्यकालाई सुरक्षित र अपराधमुक्त बनाउन प्रहरीलाई सुझाव दिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्र लेख्दै समाजले कवाड व्यवसायीहरूको समस्या र उनीहरूलाई परिरहेको अप्ठेरोबारे प्रहरीले ध्यान दिनुपर्ने बताएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले कसरी काठमाडौं उपत्यकालाई सुरक्षित, अपराधमुक्त र भयरहित बनाउने भन्ने विषयमा निर्माण गर्न लागेको तीन वर्षे कार्ययोजनामा यस्ता विषय समेटिनुपर्ने समाजको सुझाव छ ।
समाजले एक वर्षदेखि काठमाडौं महानगरले कवाडहरूमा डोजर चलाउँदा कवाड व्यवसायी आन्दोलनरत रहेका र कवाडमा रोजगार/काम गर्ने एक लाख मानिस बेरोजगार हुनु परेको जनाएको छ ।
साइकलमा पुराना सामान संकलन गर्दै आएका संकलकहरूलाई समेत महानगरले जबर्जस्ती बल प्रयोग गरी साइकल र समान जफत गर्दा उनीहरूको दैनिकी कष्टकर बन्दै गइरहेको समाजले बताएको छ ।
जसका कारण कवाड व्यवसायीहरू र कवाड उठाउँदै आएका कवाड संकलकहरूलाई मानवीय र आर्थिक संकट हुँदै गएको कवाड समाजको भनाइ छ ।
‘फलस्वरूप काठमाडौं उपत्यकाभित्रका विभिन्न ठाउँमा कवाड व्यवसाय गर्दै आएका आम कवाड व्यवसायीलाई काठमाडौं महानगरको यस्तो खालको अराजक गतिविधिले कवाड व्यवसायी आर्थिक र मानसिक दबाबमा परेका छन्’, समाजले भनेको छ, ‘जसका कारण भोलिका दिनमा बेरोजगारी सिर्जना हुन गई बेरोजगार व्यक्तिबाट महानगर असुरक्षित, अपराधयुक्त र भयवित हुन सक्ने सम्भावना देखिएको छ ।’
त्यसकारण सुरक्षित काठमाडौं उपत्यका तीन वर्षे कार्ययोजनामा यस विषयलाई पनि समेट्नुपर्ने समाजको आग्रह छ ।
