
अर्घाखाँचीको मालारानी गाउँपालिका–४ की गीता पोखरेलको जीवन आफ्नै लय र गतिमा चलिरहेको थियो । विसं २०६८ को साउनमा उनको जीवनमा एक्कासि कालो बादल मडारियो ।
जिल्लाको खिल्जी स्वास्थ्य चौकीमा कार्यरत गीता बेलुका खाना खाएर सुतेकी थिइन् । स्वास्थ्यकर्मी पोखरेलको राति अकस्मात् ढाड (कम्बर) दुख्यो । बिहानसम्म पनि दुखाइ कम नभएपछि ‘पेन किलर’ खाइन् ।
यसअघि कुनै रोग र समस्या नभएकी उनलाई कम्मरको दुखाइले दुःख नै देलाजस्तो गराएपछि साँझ सदरमुकाम सन्धीखर्कस्थित जिल्ला अस्पताल पुगिन् । अस्पतालमा कार्यरत तत्कालीन डा. चित्रप्रसाद वाग्ले (हाल निधन)लाई आफ्नो समस्या बताइन् ।
उपचार थाल्दासम्म छिनछिनमा पिसाब लाग्ने, खुट्टा झम्झमाउने र निदाउने समस्या थपिएको थियो । डा. वाग्लेले उनलाई तत्कालै भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्स (यूसीएसएस) रिफर गरे । तर, गीताले भैरहवाभन्दा बरू उपचारको लागि सिधै काठमाडौं जाने सोच बनाइन् । काठमाडौं जान एम्बुलेन्स रिजर्व गर्दासम्म उनको एउटा खुट्टा टेक्न नसक्ने भइसकेको थियो । आफू बिरामी भएको परिवारलाई जानकारी गराउँदै एम्बुलेन्स ‘म्यानेज’ गरेर उनी काठमाडौंको टिचिङ अस्पताल पुगिन् । टिचिङ अस्पतालमा गाडीबाट ओर्लिंदा उनका दुवै खुट्टा टेक्न नमिल्ने भएका थिए । समस्याले ठूलै रूप लिए पनि अस्पताल आइसकेकाले पूर्ण रूपमा निको होला भन्ने आशा थियो ।
उपचार थाल्दा हप्ता/दस दिनमा निको हुनसक्ने चिकित्सकले बताएका थिए । उपचार गर्दा उनको ढाडको नसासम्बन्धी (एक्युट टार्न्स्भर्स माइलाइटिस) समस्या भएको रहेछ । एक हप्ता भर्ना भएर उपचार गर्दा पनि ‘रिकर्भर’का संकेत देखिएनन् । चिकित्सकले घुमाउरो शैलीमा गीतालाई पहिले झै सामान्य अवस्थामा फर्काउन नसकिने जवाफ दिए ।
शुरूमा त उनलाई डाक्टरको कुरा विश्वास पनि लागेन । अन्य अस्पतालमा गए पनि निको होला भन्ने सोचिन् । तर, चिकित्सकको भनाइ यथार्थ नै थियो । निको भएर सामान्य अवस्थामा फर्किन नसक्ने भएपछि उनी छाँगाबाट खसेजस्तै भइन् ।
हाँस्दै/खेल्दै हिँडडुल गरेर जागिर खाइरहेकी उनको जीवनले अचानक १८० डिग्रीको फन्को मार्यो । त्यो कुरा अहिले व्यक्त गर्नै नसकिने उनी बताउँछिन् । ‘२३ वर्षको उमेरमा पढेर जागिर खाइसकेको बेला अपाङ्गगता हुँदाको त्यो कुरा अहिले व्यक्त गर्न सक्दिनँ,’ उनी भन्छिन्, ‘झर्झराउँदो उमेरमा कम्मरमुनिको भाग गुमेजस्तै हुनु सामान्य पीडा थिएन । जीवन सकिएजस्तो पनि भयो । मर्न विष किन्न जान्छुभन्दा पनि सक्ने अवस्था थिएन । बाँच्न पनि यो हालतमा कसरी बाँच्ने भन्ने सोचाइ आयो ।’
लाखौंमा एक/दुई जनाको ढाडमा अकस्मात आउने समस्या उनलाई आइपर्दा जीवनभर ‘स्पाइनल इन्जुरी’ हुन पुगिन् । केही दिन उनी आफू सम्हिालिन सकिनन् । अस्पताल बाहिर बसेर फिजिओथेरापी गर्नुस् ‘सेन्स’ आउन पनि सक्छ भनेर डक्टरले भनेका थिए । आफूले एसएलसीपछिको उच्च शिक्षा अध्ययन गरेको र आफन्तहरू पनि पोखरामा भएकोले पोखराको हरियोखर्क अस्पतालमा गएर थेरापी गर्ने निधो गरिन् ।

त्यहा दुई महिना उनलाई थेरापी र ह्वीलचियर चलाउन सिकाउँदै धेरै कुराको काउन्सिल गरियो । उनले बल्ल आफू अपाङ्गता भएको महसुस गरिन् । ‘यस्तै हुनेरहेछ कि क्या हो ? जिन्दगी चल्दैन कि क्या हो ? म अब यस्तो हुने भएँ भन्ने मानसिकता विकास हुन थाल्यो,’ त्यो बेलाको स्मरण गर्दै उनी भन्छिन, ‘केही गर्ने नसकिने रहेछ । बाँचिएकला कि मरिएला जे पर्ला पर्ला भन्ने सोच्न थालें ।’
पोखरामा दुई महिना बसेपछि थपिएको एउटा सारथि थियो ह्वील चियर । उनी घर अर्घाखाँची गइन् । पहाडमा ह्वीलचियरभित्र बाहिर लैजान पनि गाह्रो । उनलाई शौचालय ल्याउन/लैजान पनि झनै गाह्रो भएपछि दिदीको घर रूपन्देहीमा बस्ने सल्लाह भयो ।
गीताको मनले अझै मानेन । केही भए पनि सुधार हुन्छ कि भनेर उनले भारतमा उपचार गर्न जाने योजना बुनिन् ।
आयुर्वेद राम्रो हुन्छ भनेर भारतमा बाबा रामदेवको पतन्जलीको सम्पर्कमा गइन् । त्यहाँको औषधि खाँदा उनलाई ‘रियाक्सन’ भयो । अब निको हुने सम्भावना छैन । यसैमा संघर्ष गर्नुपर्छ भन्ने मानसिकता बनाइन् ।
उनको अहिले नाइटोदेखि तलको भाग चल्दैन । दिसा पिसाब लागेको पनि उनले थाहा पाउँदिनन् । ‘ठयाक्कै मेरोजस्तो समस्या भएर उपचार गर्न आएको भारत जाँदा एक जना मात्र भेटेको थिएँ,’ उनी भन्छिन्, ‘अरू अहिलेसम्म भेटेकी छैन ।’
पोखराबाट ‘प्लस टु’ र दमौलीबाट ‘एएनम’ पास गरेकी उनले पोखराका केही निजी अस्पतालमा पनि काम गरेकी थिइन् । अर्कोतिर पीडाबीच पनि गीताको दृष्टिकोण भने फरक हुँदै गयो । जिन्दगीलाई अझ वास्तविक रूपमा देख्न र बुझ्न पाइन् । उनलाई अब जीवनमा केही गरेर देखाउनुपर्छ भन्ने मनैदेखि नै लाग्न थाल्यो । उनले सरकारी जागिर खानुपर्छ भन्ने सोचलाई दरिलो बनाइन् । आफूलाई बलियो बनाउँदै सरकारी जागिर खानुपर्छ भनेर अध्ययनलाई तीब्रता दिइन । नभन्दै पहिलो पटकमा एनम (स्वास्थ्यतर्फ)मा उनले विसं २०७० मा नाम निकालिन् । उनको जीवनले फेरि १८० डिग्रीको फन्को मार्यो ।
गीताको जीवनमा एकाएक आएको दुःख र संघर्षको पहाडमा केही मल्हमपट्टी लगाइदिएजस्तो भयो । उनको पहिलो ‘पोस्टिङ’ नवलपरासीको सुनवलमा भयो । उनले अफिस नजिकै डेरा लिएर बस्न खोजिन् तर, भनेजस्तो घर पाउन मुस्किल भयो । कतै ह्वील चियर नजाने र कतै घरधनीले आफूहरूलाई हेर्ने नजर नै अर्को ।
भाडामा डेरा लिएर दिदीकी ६ वर्षको छोरीलाई आफ्नो सहाराको रूपमा राखिन् । नानी स्कूल आफू अफिसको जीवन शुरूआत भयो । केही वर्षपछि मुलुक संघीय प्रणालीमा गएपछि उनले कर्मचारी समायोजनको चरणमा उनी प्रदेशमा परिन् । प्रदेश छानिएपछि नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा सरुवा भयो । पहिलेकै कोठाबाट चार पाङ्ग्रे स्कुटरमा त्यहाँ पृथ्वीचन्द्र अस्पताल जान आउन थालिन् ।
केही महिना त्यहाँ काम गरेपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा काज सरुवा मिलाएर आइन् । पछि दरबन्दी खाली भएपछि प्रादेशिक अस्पतालमा आइन् । अहिले अस्पतालको स्वास्थ्य बीमा शाखामा कार्यरत छिन् । उनी अस्पतालले उपलब्ध गराएको क्वाटरमा बस्छिन् । अहिले बुबा आमालाई पनि बसाइँसराइँ गरेर सैनामैना नगरपालिका–२ सरौलीमा ल्याएकी छन् ।
२३ वर्षको उमेरबाट मेरूदण्डको पक्षघातसँग लडिरहेकी गीता कतै डेरामा बस्दा घरधनीले गर्ने व्यवहारले पिरोल्थ्यो । उपचारको क्रममा लाखौं रकम सकियो । उनी भन्छिन्, ‘अवसर पाए अफिसको काम मात्र होइन, धेरै गर्न सक्छु, कम्मरमुनिको भाग नचले पनि ज्ञान र हातले गर्ने क्षमता मेरो पूर्ण छ । सरकारले बनाएका पूर्वाधारको कारण उनले एक्लै पुग्न र जान सक्ने ठाउँमा पनि जान सक्दिनन् । सरकारी कार्यालय र अपाङ्गताको क्षेत्रमा हेर्ने नजर नैं राम्रो देखिँदैन ।
उनले बस्ने सरकारी क्वाटरमा समेत अपाङ्गमैत्री शौचालय छैन । अहिले पुस्तक र ह्वीलचियर नजिकको सारथि हुन् । उनको साहरा दिदीको छोरी बिहान कलेज जान्छिन्, पोखरेल आफैं खाना पकाउँछिन् र खान्छिन्, अनि अफिस जान्छिन् ।
उनी सबै अपाङ्गता भएका व्यक्तिलाई अघि बढ्न सुझाव दिन्छिन् । राज्यले अपाङता भएका व्यक्तिमैत्री योजना र कार्यक्रम ल्याएर उनीहरूलाई शिक्षा र रोजगारी प्रदान गर्नुपर्ने गीताको भनाइ छ । ‘त्यस्ता कार्यक्रमलाई अपाङ्गता क्षेत्रमा काम गर्ने संस्थाले गर्व गर्नेछन्, समर्थन जनाउनेछन्,’ उनले भनिन् ।
गीताका आमाबुवा, दुई दिदी, दुई बहिनी र एउटा भाइ छन् । उनी घरकी जिम्मेवार छोरी हुन् । उमेरले अहिले ३७ वर्ष लागेकी उनले अहिलेसम्म बिहेको सोच बनाएकी छैनन् । अब बिहेको झन्झटमा नपर्ने उनी बताउँछिन् । ‘दुखाइ शुरू भएर दुई वटा खुट्टा चलिरहेको बेलासम्म अस्पतालमा पुगेर अपरेशन गरेको भए उनलाई रिकर्भर हुने सम्भावना बढी हुने थियो रे,’ शुरूमा केही सामान्य दुखाइ होला भनेर कम गर्न थालियो । अनि त्यो बेला गाउँबाट कसरी काठमाडौं आइपुग्ने ? मेरो कर्म नै यस्तै लेखेको रहेछ । जे पर्यो त्यो आखिर भोग्नु न छ ।’
लेख्ने पढाइसँगै साहित्यमा पनि उनको रूचि छ । उनले लुम्बिनी प्रादेशिक अस्पतालले मनाएको ११५औं वार्षिकोत्सवमा गजल वाचन गरेर तृतीय स्थान हाँसिल गरिन् । पाँचौ तहकी स्वास्थ्यकर्मी उनी अधिकृतमा बढुवा हुने प्रक्रियामा छिन् । ‘जीवनमा जे पर्छ त्यो भोग्न पर्दो रहेछ, मलाई पनि अकल्पनीय आइलाग्यो त्यसमा संघर्ष गर्दै छु । संघर्ष नै जीवन रहेछ,’ उनी सन्तोषका साथ भनिन् ।