
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ ।
अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै थापा प्रहरी प्रमुख बन्ने पक्का भएको उच्च सरकारी स्रोतले लोकान्तरलाई जानकारी दियो ।
रातभरिमा कुनै नाटकीय परिवर्तन नभए थापा नेपाल प्रहरीको नेतृत्वमा पुग्ने निश्चित भएको स्रोतको दाबी छ।
महानिरीक्षक वसन्त बहादुर कुँवर अवकाशमा जाने भएपछि सोमबारदेखि प्रहरी महानिरीक्षक पद रिक्त हुँदैछ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गर्न लागेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।
‘एआईजीमध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा थापालाई आईजी बनाउन लागिएको हो’, उक्त स्रोतले लोकान्तरसँग भन्यो ।
थापासँगै एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि महानिरीक्षकको प्रतिस्पर्धामा छन् । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रहरीको महानिरीक्षक नियुक्त गर्छ ।
सरकार र उच्च राजनीतिक नेतृत्वबीच थापाको नाममा मोटामोटी सहमति भएको स्रोतको दाबी छ । थापाले आइतबार सरकार र राजनीतिक तहको उच्चस्तरीय भेटघाट समेत गरिसकेका छन् ।
थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख छन् । एआईजीमध्ये थापा वरिष्ठतम् हुन् । विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ ।