
गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि समाप्त नहुँदै २५ वर्षका लागि थप गरिएको सम्झौतालाई महालेखा परीक्षकको कार्यालयले पुनः सैद्धान्तिक बेरुजूमा राखेको छ ।
आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा सम्झौतालाई पुनः सैद्धान्तिक बेरुजू कायम गरिएको नेपाल ट्रस्ट कार्यालय स्रोतले बतायो ।
‘कानून संशोधन गरी वर्तमान लिज अवधि समाप्त नहुँदै ५ वर्ष पहिले नै साविकको लिज अवधि थप भएको, फेयर मार्केट भ्यालु मूल्यांकन गर्ने फर्म छनोट गर्ने सूचना पत्रिकामा प्रकाशन नगरेको एवं लिज प्रतिस्पर्धा नहुने गरी साविककै सम्झौताकर्ताको म्याद थप गरेको देखिन्छ,’ महालेखाको प्रारम्भिक प्रतिवेदनमा थप लेखिएको छ, ‘ट्रस्टको सम्पत्ति लिजमा दिँदा प्रतिस्पर्धात्मक प्रक्रिया अवलम्बन गर्नुपर्ने भनी गत वर्ष बेरुजू औंल्याइएकोमा स्थिति यथावत छ ।’
आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदन अहिले सार्वजनिक भने भइसकेको छैन । तर, नेपाल ट्रस्टको कार्यालयमा लेखापरीक्षकले बुझाएको प्रारम्भिक प्रतिवेदनमा थपिएको लिज सम्झौताप्रति पुनः प्रश्न उठाइएको हो । विगतका वर्षमा पनि बेरुजू लेखिँदै आएकोमा हाल पनि महालेखाले त्यसलाई बेरुजूको रूपमा नै निरन्तरता प्रदान गरेको हो ।
तत्कालीन राजदरबारको डिपार्टमेन्ट अफ क्राउन प्रोपर्टी, रोयल प्यालेस काठमाडौं र एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिबीच २०५२ साउन ३१ गते गोकर्ण राजनिकुञ्जको जग्गा उपयोग गर्ने गरी शुरू सम्झौता भएको थियो ।
गोकर्ण राजनिकुञ्जको ३ हजार ९७० रोपनी १ आना ३ पैसा ३ दाम क्षेत्रफलमध्येको कुल क्षेत्रफल २ हजार ७९२ रोपनी ३ पैसा १ दाम जग्गामा फरेस्ट रिसोर्ट निर्माण तथा सञ्चालन गर्न ३० वर्षका लागि एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिसँग लिज सम्झौता गरिएको थियो । लिज पाएबापत एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिले अमेरिकी डलर ५० लाख बुझाउने गरी सम्झौता भएको थियो ।
सम्झौताअनुसार एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिले १ सय वटा कोठा, आगमन कक्ष, कफी हाउस र १८ होलको गल्फ कोर्स निर्माण गरेको थियो । प्रालिले लिज लिएको कुल जमिनको २० प्रतिशत क्षेत्रफल उपयोग गरेको थियो भने बाँकी जंगल क्षेत्र हो ।

सम्झौताबमोजिम लिजको अवधि २०८२ साउन ३१ गतेसम्म छ । अझै पनि १ वर्ष विगतकै लिज सम्झौताको अवधि बाँकी छ । तर, नेपाल ट्रस्ट सञ्चालक समितिको तत्कालीन प्रस्तावमा नेपाल सरकार (मन्त्रिपरिषद)ले लिज सम्झौता थप ३० वर्षका लागि दिने सम्झौता गरेको थियो ।
‘नेपाल ट्रस्ट सञ्चालक समितिको मिति २०७६ कात्तिक २६ गतेको ४९ औं बैठकको निर्णयबाट मौजुदा लिज अवधि समाप्त हुने मिति हुने १५ अगस्ट २०२५ (२०८२-४-३१) देखि परिमार्जित लिज भाडादर लागू हुने गरी नेपाल ट्रस्ट ऐन, २०६४ को ५ को उपदफा (३) (ख) अनुसार २५ वर्ष लिज अवधि थप गर्न नेपाल सरकार (मन्त्रिपरिषदमा) सिफारिश गरेअनुसार प्रस्ताव मन्त्री परिषदबाट २०७६ मंसिर २३ मा पारित भई नेपाल ट्रस्ट सञ्चालक समितिको मिति २०७६ पुस २९ गतेको ५१ औं बैठकबाट साविक एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिसँग लिजसम्बन्धी सम्झौता गरेको देखिन्छ,’ महालेखाको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
‘यसरी लिज अवधि थप गर्दा पुरानो सम्झौताकै बाँकी अवधिमा अमेरिकन डलर ३ लाख ७७ हजार ७ सय (नेपाली रुपैयाँ ४ करोड ३१ लाख ८३ हजार )प्रत्यक्ष आर्थिक लाभ हुने, २९ करोड लगानी गरी ४८ सुविधायुक्त कोठा तथा ४ सय व्यक्ति अट्ने सभाहल निर्माण हुने, लिज अवधि थप भएको २५ वर्षमा लिज भाडा दरबापत अमेरिकन डलर ८९ लाख ४ हजार ( १ अरब १ करोड ५१ लाख २ हजार नेपाली रुपैयाँ) प्राप्त हुने, प्रत्यक्ष रोजगारी सिर्जना, पर्यटन उद्योगमा टेवा लगायतका अप्रत्यक्ष लाभ पुग्ने आधार समेत उल्लेख भएबमोजिम लिज अवधि थप गर्ने निर्णय गरेको देखिन्छ,’ महालेखाको प्रतिवेदनमा थप उल्लेख छ ।
उक्त निर्माण कार्यका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन २०७८ माघ २५ गते स्वीकृत भएकोमा निर्माण कार्यका लागि २०७६ पुस २९ मा नै लिज सम्झौता गर्ने निर्णय भएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाको प्रारम्भिक प्रतिवेदनको अंश:

साविकको लिज अवधिकै म्यादमा पूरक सम्झौता
लएम सुभिर ब्रदर्स (नेपाल) प्रालि र नेपाल ट्रस्टको कार्यालयबीच नेपाल ट्रस्ट स्थापना भएपश्चात् गोकर्ण राजनिकुञ्जको मुख्य सम्झौता २०७६ वैशाख ५ गते भएको थियो । सोही एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालि, यती होल्डिङ्स र नेपाल ट्रस्टको कार्यालयबीच त्रिपक्षीय पूरक सम्झौता पनि भयो ।
त्यसमा लिज अवधि समाप्त हुनुअगावै दुवै पक्षको आपसी सहमतिमा लिज अवधि नवीकरण गर्न सकिने व्यवस्था थप गरियो ।
नेपाल ट्रस्ट सञ्चालक समितिका तत्कालीन अध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको अध्यक्षतामा २०७१ मंसिर २५ गते बसेको सञ्चालक समितिको ३४ औं बोर्ड बैठकको निर्णयबाट एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिमा रहेको शेयर विदेशी लगानीकर्ताहरूबाट यती होल्डिङ्स प्रालिलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गरिएको थियो । त्यतिबेला नेपाल ट्रस्टको संरक्षक भने तत्कालीन प्रधानमन्त्री सुशील कोइराला थिए ।
त्यसको ५ वर्ष पछि २०७६ वैशाख १० गते एलएम सुभिर बदर्स (नेपाल) प्रालिका तर्फबाट लिजमा लिएको संरचनामा आवश्यक मर्मत सम्भारका साथै थप ४८ कोठा र ४ सय जना अट्ने क्षमता भएको सभाहल निर्माण गर्नेगरी थप संरचना निर्माण गर्ने प्रस्तावसहित नयाँ लिज भाडादर प्रस्ताव गरी लिज अवधि ३० वर्ष थप गर्न नेपाल ट्रस्टको कार्यालयमा निवेदन दर्ता गराइएको थियो ।
त्यसपछि २०७६ जेठ २४ गते नेपाल ट्रस्टको सञ्चालक समितिको ४५ औं बोर्ड बैठकबाट एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिले पेस गरेको निवेदनको अध्ययन गरी प्रतिवेदन पेस गर्न तीन सदस्यीय समिति गठन गरिएको थियो ।
त्यसपछि २०७६ असार १५ गते बसेको ट्रस्टको सञ्चालक समितिको ४५ औं बोर्ड बैठकबाट एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिले पेस गरेको निवेदनको अध्ययन गरी उक्त प्रालिले प्रस्ताव गरेको नयाँ लिज भाडादरउपर नेट प्रेजेन्ट भ्याल्युका आधारमा फेयर मार्केट निर्धारण गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थामा पत्राचार गर्ने निर्णय गरिएको थियो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले २०७६ साउन ६ गते प्रस्तावित लिज दर मूल्यांकन गर्न स्वतन्त्र मूल्यांकनकर्ताको सेवा लिने गरी उक्त कार्य गर्न ट्रस्टको कार्यालयलाई सुझाव दिएको थियो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको सुझावअनुसार स्वतन्त्र मूल्यांकनकर्ता छनोट गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिका तथा ट्रस्टको कार्यालयमा सूचना टाँस गरी आह्वान गरियो ।
त्यसरी स्वतन्त्र मूल्यांकनकर्ताको सूचना केही सीमित कार्यालयमा मात्र टाँस गरिएकोमा भने महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । राष्ट्रिय पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गर्नुपर्नेमा नगरेको विषयमा महालेखाले प्रश्न उठाएको हो ।
ट्रस्टले टाँसेको सूचनाका आधारमा दुईवटा चार्टर्ड एकाउन्टेन्ट फर्मबाट मूल्याङ्कन गर्न प्रस्ताव पेस भएकोमा कम दर कवोल गर्ने एस देवकोटा एन्ड कम्पनीलाई छनोट गरी ट्रस्टको कार्यालयले कार्यादेश दियो ।
मूल्यांकनकर्ता एस देवकोटा एन्ड कम्पनीले नेट प्रेजेन्ट भ्याल्युका आधारमा निकालेको फेयर मार्केट भ्याल्यु एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिले प्रस्ताव गरेको लिज भाडादर भन्दा बढी पाइयो ।
त्यसपछि २०७६ कात्तिक ७ गते बसेको नेपाल ट्रस्ट सञ्चालक समितिको ४८ औं बोर्ड बैठकबाट एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिलाई पुनः परिमार्जित लिज भाडादर प्रस्ताव गर्न पत्राचार गर्ने निर्णय भयो । उक्त पत्राचारपछि २०७६ कात्तिक १७ गते उक्त एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिले मूल्यांकनकर्ताले निकालेको फेयर मार्केट भ्याल्युभन्दा बढी दरमा पुनः परिमार्जित लिज भाडादर प्रस्ताव गर्यो ।

त्यसपछि २०७६ कात्तिक २६ गते बसेको नेपाल ट्रस्ट सञ्चालक समितिको ४९ औं बोर्ड बैठकबाट तत्कालको मौजुदा लिज अवधि समाप्त हुने मिति १५ अगस्ट २०२५ देखि परिमार्जित लिज भाडादर लागू हुने गरी नेपाल ट्रस्ट ऐन, २०६४ को ५ को उपदफा (३) (ख) अनुसार २५ वर्ष लिज अवधि थप गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) मा सिफारिस गर्ने निर्णय भयो ।
सरोकारवाला निकायहरू नेपाल पर्यटन बोर्ड, गोकर्णेश्वर नगरपालिका, होटल एसोसिएसन अफ नेपालजस्ता निकायहरूले लिज थप्ने विषयमा सकारात्मक राय दिएको तथा ट्रस्टको कार्यालयलाई थप आर्थिक फाइदा हुने भन्दै लिज अवधि थप्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।
त्यसपछि २०७६ मंसिर २२ गते लिज अवधि थपसम्बन्धी प्रस्ताव २०७६ मंसिर २३ गते बसेको मन्त्रिपरिषद बैठकबाट पारित भयो ।
त्यसपछि २०७६ पुस २९ गते बसेको नेपाल ट्रस्ट सञ्चालक समितिको ५१ औं बोर्ड बैठकबाट नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम नै निर्णय गरी साविक एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिसँग लिज थपसम्बन्धी सम्झौता गरिएको थियो ।
लिज थप्ने प्रस्ताव सम्बन्धमा निर्णय गर्ने बेलामा तत्कालीन उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेपाल ट्रस्टको सञ्चालक समितिका अध्यक्ष थिए ।
ट्रस्टका तत्कालीन कार्यकारी सचिव गजेन्द्र ठाकुर, सीताराम सापकोटा, प्रवीणराज दाहाल र याङ्जोम शेर्पा सञ्चालक समितिमा सदस्य थिए भने तत्कालीन सहसचिव राजेश्वर ज्ञवाली सदस्यसचिव थिए ।
लिज दिएको अवधिमा लिज लिनेले थप पुँजी लगानीसहित अवधि थप गर्न पाउने गरी नेपाल ट्रस्ट ऐन, २०६४ लाई नै संशोधन गरिएको थियो । २०७५ फागुन १६ गते उक्त ऐनलाई संशोधन गरेर ऐनको दफा ५ को उपदफा ३(ख)मा अवधि तोकी लिजमा दिएको सम्पत्तिको उपभोग गर्ने पक्षले थप पुँजी लगानीसहित विद्यमान संरचनालाई मर्मत सम्भार गरी सञ्चालन गर्न चाहेमा र सोबाट ट्रस्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा त्यस्तो अवधि समाप्त हुनुअगावै आवश्यकताअनुसार ट्रस्टको सिफारिसमा नेपाल सरकारले लिज अवधि थप गर्न सक्ने व्यवस्था गरिएको थियो ।
कानूनमा भएको सोही संशोधनको आधारमा गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि थप भएको हो ।
हेर्नुहोस्, सम्बन्धित थप कागजात:


