२९ जेठ २०८३, शुक्रबार

नेपाली लोकरकमा रमायो पृथ्वीकै तल्लो शहर

चैत ६, २०८१
काठमाडौं
नेपाली लोकरकमा रमायो पृथ्वीकै तल्लो शहर
तस्वीरहरू : दिपित राज/नेपथ्य

पृथ्वीकै तल्लो शहर भनेर चिनिने अस्ट्रेलियाली टापु तास्मेनियाको राजधानीस्थित ‘ओडियन थिएटर’मा नेपथ्य गुञ्जिएको छ । 

एन्टाकर्टिका महादेशनजिकै पर्ने उक्त शहरमा नेपाली लोकरकमा दर्शकहरू रमाउन पुगे । त्यहाँ दुई दिनपछि नै ख्यातिप्राप्त बेलायती गायक बब गेल्डफ प्रस्तुत हुनेवाला छन् ।  

अस्ट्रेलियाको केन्द्रीय राजधानी क्यानबेराबाट शुरू भएको यस वर्षको शृंखलाबद्ध यात्रामा वेस्टर्न अस्ट्रेलियाको पर्थ र क्विन्सल्यान्डको ब्रिसबेनपछि तास्मेनियाको होबार्टमा नेपथ्यले प्रस्तुति दिएको हो ।

भरिभराउ हलमा नेपाली दर्शक शुरूदेखि नै रमाइलोसँग नाचिरहेका थिए तर त्योभन्दा पनि कम रमाइलो थिएन मार्टिन हिंगिन्स लगायतका थुप्रै विदेशी रमाइरहेको दृश्य ।

null

मार्टिन शुरूदेखि नै आफूलाई मञ्चको ठीक सामुन्ने राखेर प्रत्येक गीतमा उफ्रिँदै नाचिरहेका देखिन्थे । यहाँस्थित प्रसिद्ध संग्रहालय ‘मोना म्युजियम’मा काम गर्ने मार्टिन त्यसै स्थानमा काम गर्ने नेपाली साथीहरूबाट प्रभावित भएका रहेछन् । पोहोर मात्रै नेपाल गएर दुई महिना बसेको बेला उनलाई ‘रेशम’ गीत असाध्यै मन परेको रहेछ ।

‘त्यसै पनि संगीतको विश्वव्यापी भाषा हुन्छ’, कन्सर्ट सकिएपछि उनले मोबाइलमा प्रतिक्रिया दिए, ‘त्यसबाहेक त्यहाँ सबै जना शुरूदेखि झुमेर नाचिरहेको देख्दा म पनि स्वतः उनीहरूलाई साथ दिन पुगेँ ।’

अस्ट्रेलियाकै सबैभन्दा शान्त यो प्रादेशिक राजधानीमा नेपालीको संख्या बढिरहेको छ । यस प्रदेशमै अंग्रेजीपछि सबैभन्दा बढी बोलिने भाषा नै नेपाली बन्न पुगेको स्थानीय रेकर्डले देखाउँछ ।

केही वर्षअघिसम्म दोस्रो बढी बोलिने भाषा चिनियाँ थियो । तर, भुटानी शरणार्थीको समेत आप्रवासन गराइएपछि र नेपालबाटै तन्नेरी पनि आउने क्रम बढेपछि चिनियाँलाई नेपालीभाषीको संख्याले उछिनेको हो ।  

null

मञ्चमा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्ड दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ ।

नेपथ्य अब एडिलेड शहर पुग्नेछ । त्यहाँस्थित ‘हिन्डले स्ट्रिट म्युजिक हल’मा मार्च २१ मा नेपथ्यको पाँचौँ कन्सर्ट हुनेछ । मार्च २४ मा मेलबर्नको ‘फेस्टिभल हल’मा नेपथ्य प्रस्तुत हुनेछ । त्यसपछि अन्तिम शो आयोजना गर्न सिड्नीतर्फ लाग्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्