२९ जेठ २०८३, शुक्रबार

लुम्बिनी प्रादेशिक अस्पतालमा इन्डोस्कोपीका लागि महिनौं कुर्नुपर्ने बाध्यता हट्यो

दैनिक ५० जनालाई सेवा दिने तयारी
चैत ८, २०८१
बुटवल
लुम्बिनी प्रादेशिक अस्पतालमा इन्डोस्कोपीका लागि महिनौं कुर्नुपर्ने बाध्यता हट्यो

लुम्बिनी प्रादेशिक अस्पतालमा इन्डोस्कोपी सेवाका लागि महिनौं पालोको कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

अस्पतालमा इन्डोस्कोपीका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै आइतबारदेखि दैनिक रूपमा नै यो सेवा उपलब्ध गराउने तयारी भएको इसीजी/इन्डोस्कोपी विभाग प्रमुख भेषराज बन्जाडेले जानकारी दिए ।

‘विगतमा इन्डोस्कोपीका लागि ३ महिना लामो समय कुर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘उक्त संख्या र समयावधिलाई घटाउँदै दुई महिना, एक महिना हुँदै अब एकै दिनमा सेवा उपलब्ध गराउने गरी तयारीमा पुगेका छौं ।’​ 

इन्डोस्कोपी सेवाका लागि आइतबार, मंगलबार र बिहीबार ३ दिन समय छुट्याउँदै आएकोमा अब दैनिक रूपमा यो सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

अस्पतालमा रहेको ३ वटा इन्डोस्कोपी मशिनबाट अब दैनिक ३० देखि ५० जनासम्मलाई यो सेवा उपलब्ध गराइने छ । एउटा मशिनबाट दैनिक १० जनासम्मलाई सेवा उपलब्ध गराउन सकिने विभाग प्रमुख बन्जाडेको भनाइ छ ।

साधारणतया नाकको समस्या वा साइनस, गलाको समस्या, खानेकुरा निल्न समस्या भएमा, बान्ता गर्दा रगत देखिएमा, आन्द्रा, सुन्निए वा पीडा हुँदा, कब्जियतबाट ग्रसित हुँदा, पित्त थैलीमा पत्थरी हुँदा, पेटको अल्सर हुँदा, गर्भाशयको जाँचका लागि, पिसाबबाट रगत आउँदा, दिसाबाट रगत आउँदा, गर्भावस्थामा भ्रूण जाँच, गम्भीर शल्यक्रिया अघि तथा कानको रोगका लागि इन्डोस्कोपी गर्ने गरिन्छ ।

अस्पतालमा सेवालाई सहज बनाउन अस्पताल प्रशासनले हरसम्भव प्रयासहरूलाई जारी राखेको बताउँदै मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले धेरै सुधारका काम भएको दाबी गरे ।

सोही अन्तर्गत इन्डोस्कोपीका लागि महिनौं पालो कुर्नुपर्ने बाध्यताको अन्त्य गरिएको बताउँदै उनले त्यसका लागि अतिरिक्त शुल्कसमेत नलाग्ने र पहिलेकै शुल्क दरमा सेवा लिन सकिने जानकारी गराए ।

लुम्बिनी प्रदेश आपूर्ति केन्द्रको सहयोगमा इन्डोस्कोपी मशिनको व्यवस्था गरी एकै दिनमा सेवा उपलब्ध गराउन थालिएको उनको भनाइ छ ।

सीमित स्रोत साधनका बाबजुद पनि अस्पताल परिवारको मेहनत र लगनशीलतालेनै एकपछि अर्को सफलता प्राप्त हुँदै गएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए ।

salt training

कमेन्ट गर्नुहोस्