०५ असार २०८३, शुक्रबार
माटोको माया र मेहनत

स्वदेश फर्केर उद्यमी बनेका सुरेश : जोखिमपूर्ण विगत, रहरलाग्दो वर्तमान

चैत ९, २०८१
बुटवल
स्वदेश फर्केर उद्यमी बनेका सुरेश : जोखिमपूर्ण विगत, रहरलाग्दो वर्तमान

कोरियामा पाँच वर्ष काम गरेर फर्केपछि रुपन्देहीका सुरेश क्षेत्रीले फेरि ‘इपीएस’ फारम भरेनन् । अरूको देशमा काममा खट्नुभन्दा आफ्नै माटोमा लगानी गरी मजदुर र मालिक बन्ने योजना बुनेर उनी पुनः कोरिया फर्केनन् ।

कोरियाको सीप, अनुभव र कार्यक्षमतालाई प्रयोग गरी १८ लाख रुपैयाँ लगानीबाट उनले कृषि र पर्यटन क्षेत्रमा उद्यम यात्रा शुरू गरे । अहिले उनले तीन वटा अलग–अलग फार्म स्थापना गरिसकेका छन् ।

नेपालको कृषि र पर्यटन क्षेत्रमा भविष्य छैन भन्ने कुरा वेवास्ता गर्दै लगानी गरेका सुरेशको वर्तमान भने रहरलाग्दो छ । बागलुङको बरेङ गाउँपालिका– ४ मा  जन्मिएर रुपन्देहीको सियारीमा हुर्किएका क्षेत्रीले अहिले नाम र दाम दुवै कमाएका छन् । उनी दश वर्षमा ५ करोडका मालिक भएका छन् ।

बुटवलको रानीगञ्जमा उनको कृषक एकीकृत वाइल्ड एग्रो फार्म छ । जहाँ कालिज (वन कुखुरा) र स्थानीय प्रजातिका (लोकल) कुखुरा पालन गरिएको छ । 

उनको एग्रो फार्ममा एक हजार कुखुरा र कालिज छन् । त्यस्तै, हालसालै तिलोत्तमाको मणिग्राममा सेवाग्राहीलाई विशुद्ध अर्गानिक उत्पादन खुवाउने गरी  यार्सा अर्गानिक हाउस सञ्चालनमा आएको छ । त्यस्तै, बुटवल मिलनचोकमा होटल द यार्सा विगत दश वर्षदेखि ग्राहकको मन जितिरहेको छ । 

उनका तीन वटै फार्ममा अर्गानिक खाद्य वस्तुहरू मात्र पाइन्छ । ‘पाँच वर्ष कोरियाको अनुभव बटुलियो,’ उनी भन्छन्, ‘परिवारको जीविका चलाउने र पाल्ने पैसा पनि कमाइयो । तर, त्यहाँ खटेजत्तिकै आफ्नै भूमिका खट्ने हो भने अरूको भर पर्नु पर्दैन भन्ने बुझेर उद्यममा हात हालेको हुँ, अहिले सफल भएजस्तो महसुस गरेको छु ।’

null

उनको होटल द यार्सामा तीन करोड, कालिज फार्ममा ८० लाख र यार्सा अर्गानिक हाउसमा एक करोड रूपैयाँ लगानी पुगेको छ । सन् २०११ देखि २०१६ सम्म सुरेशले कोरियाको उत्पादन क्षेत्रमा काम गरे । 

सुरेशले आफूलाई नयाँ र फरक काम गर्न चाहने युवाको रूपमा चिनाउँछन् । कालिज र लोकल कुखुरा आफ्नै होटलमा प्रयोग गर्छन् । त्यस्तै, मणिग्रामको यार्सा हाउसमा त्यहीँ उत्पादन गरेका खाद्य वस्तु बिक्री गरिन्छ ।

हाउसभित्र तरकारीदेखि माछा र गोलभेडासम्म अर्गानिक उत्पादन गरिन्छ । त्यहाँ गएका ग्राहकले कुनै विषादी प्रयोग नभएका कृषिजन्य परिकार र माछा आफैं फिसिङ गरेर ग्राहककै अगाडि पकाएर पस्किने गरिएको छ, जसलाई गेस्टले खुबै रुचाएको सुरेशको भनाइ छ । ‘यार्सा हाउसमा ८० प्रतिशत त्यहीँ फलाएका र पालेका परिकार प्रयोग गरिन्छ,’ उनी भन्छन्, ‘कोरियामा अर्गानिकलाई विशेष जोड दिइन्छ । मैले पनि त्यस्तै ‘कन्सेप्ट’ अपनाएको हुँ, यसलाई धेरैले रुचाउनुभएको छ ।’

मौसमी तथा बेमौसमी तरकारीहरू उत्पादन गर्न टनेल हाउसमा बसेर ग्रिनरी हेर्दै आफैंले साग टिप्दै खान पाउने व्यवस्था मिलाइएको छ ।

विषादी राखेका तरकारीको प्रयोगले मानिसलाई विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि अर्गानिक खानेकुराप्रति रूचि बढ्दो छ । ग्राहकलाई गुणस्तरीय खानेकुरा सकेसम्म सस्तो मूल्यमा दिन यार्सा सचेत रहेको उनको धारणा छ । होटल क्षेत्रमा १० वर्ष बढीको अनुभव बोकेका सुरेशले अहिले मौसमी र बेमौसमी तरकारी लगाउन १ विघा क्षेत्रफल जग्गामा टनेल तथा अन्य पूर्वाधार निर्माण गरिरहेका छन् । ‘नेपाली समाजले केही दशकयता युवा पलायनको समस्या झेलिरहेछ । उद्यममा आत्मसन्तुष्टि भन्ने पहिलो कुरा हो, आफ्नो घर, आफ्नै गाउँमा काम गर्न पाउँदा आनन्द लाग्छ,’ उनी भन्छन् । 

व्यवसायी र किसानको पक्षमा राज्यको नीति नहुँदा भने दुःख लाग्ने उनी बताउँछन् । ‘राज्यले व्यवसायीलाई सबसिटी’ दिँदैन । ब्याजमा ऋण लिएर काम गर्नुपर्छ । कृषि र पर्यटन कर्ममा चाहिँ चर्को ब्याज तिर्नुपरेको छ,’ सुरेश गुनासो पोख्छन् ।

उनी काठमाडौंमा पनि केही समय अफिस खोलेर बसेका थिए, तर, आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर जिल्लामै आएको सुरेश बताउँछन् ।

होटल र फार्ममा दक्ष कामदारको अभाव उनले झेलिरहेको छन् । ‘नेपालमा हामीले आफ्नो उत्पादनलाई ब्रान्डिङ गर्न सकेका छैनौं,’ विदेशीले खुर्सानी र टमाटर टिप्न मासिक ३ लाख रुपैयाँसम्म दिएर कामदार लैजान्छन्, हाम्रा उत्पादन बजारमा खपत नभएर खाल्डो खनेर पुर्नुपर्ने अवस्था छ ।’

उनीसँगै हुर्किएका र खेलेका साथीहरू विदेशतिर बसे पनि उनी नेपालमै फर्किएर काम गर्न सुझाउँछन् । ‘विदेशबाट नेपाल फर्केर आफ्नै माटोमा काम गर्न पाएकोमा म खुशी छु,’ उनी भन्छन् ।

व्यवसायी र किसानको पक्षमा राज्यको नीति नहुँदा भने दुःख लाग्ने उनी बताउँछन् । ‘राज्यले व्यवसायीलाई सबसिटी’ दिँदैन । ब्याजमा ऋण लिएर काम गर्नुपर्छ । कृषि र पर्यटन कर्ममा चाहिँ चर्को ब्याज तिर्नुपरेको छ,’ सुरेश गुनासो पोख्छन् ।

‘मुलुक सम्पन्न हुन नागरिक धनी हुनुपर्छ । जनताको आर्थिक स्तर सुधारिनु पर्छ । उद्यम व्यवसाय फस्टाउनुपर्छ । काम गर्ने उमेरका सबै युवाले लगनशील भएर कर्म गर्नुपर्छ,’ उनले भने, ‘देशमा अधिकांशलाई कामको अवसर दिनु भनेको उद्यम/व्यवसाय हो । त्यसैले अरू युवाहरूलाई प्रेरित गर्न पनि आफूले व्यवसाय गरेको उनको भनाइ छ ।

मुलुकले निर्माण गरेको नीति पूर्ण कार्यान्वयन नहुनुजस्ता कारणले नेपालमा साना लगानीमा उद्यम गर्न चुनौती रहेको उनको बुझाइ छ ।

अब यहीँ क्षेत्रलाई प्रभावकारी बनाउँदै अघि बढ्ने उनको योजना छ । ‘मलाई जोखिमसँग लड्न त मन पर्छ । पहिलो कोभिडमा मैले कालिज सञ्चालन गरेको हुँ, सेकेन्ड कोभिडपछि होटल द यार्सा विस्तार गरेको हुँ, कठिन अवस्था जित्ने हो भने त सानातिना समस्या आफैं टरेर जान्छन्,’ उनी भन्छन् । परिवारबाट पूर्ण सहयोग र साथ पाउँदा उनले यो क्षेत्रमा खुलेर काम गर्न पाएका छन् । 

उनले १५ जना युवालाई रोजगार दिएका छन् । आफूजस्तै किसानले पनि कालिज पालन गर्न सकून् भनेर तालिम पनि सञ्चालन गरेको उनी बताउँछन् । त्यस्तै, कुक क्षेत्रमा पनि विभिन्न तालीमहरू सञ्चालन गरिरहेका छन् । 

‘आन्तरिक तथा बाह्य पर्यटकलाई कृषि पर्यटनमार्फत् कृषि शिक्षा, अनुसन्धान र विकासबारे ज्ञान दिएर पनि आर्थिक लाभ लिन सकिन्छ । साथै अर्गानिक कृषिको विस्तार गर्न सके देशमा भइरहेको खाद्यान्न आयातलाई रोक्न पनि सकिन्छ,’ उनी भन्छन्, ‘त्यसका लागि राज्यले किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्