२९ जेठ २०८३, शुक्रबार

झापामा क्षयरोगका सात सय नयाँ बिरामी भेटिए

चैत ११, २०८१
झापा
झापामा क्षयरोगका सात सय नयाँ बिरामी भेटिए

झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । 

कार्यालयका अनुसार गत आवमा क्षयरोगका कारण मृत्यु हुनेको संख्या ४८ थियो । कार्यालयका अनुसार ४७१ जनाको फोक्सोमा क्षयरोग देखिएको छ भने फोक्सोबाहेकमा १६२ जना, टिबी र एचआईभी दुवै भएका आठ जना, औषधि प्रतिरोधी क्षयरोगका बिरामी (डीआरटीबी) १६ जना छन् । 

झापामा आव २०७७/७८ मा ९९२, आव २०७८/७९ मा एक हजार १८६ र आव २०७९/८० मा एक हजार १६५ र आव २०८०/८१ मा एक हजार २६५ नयाँ क्षयरोगी फेला परेका थिए ।

स्वास्थ्य कार्यालय झापासँगै १५ वटा स्थानीय तह अन्तर्गतका ७९ वटा स्वास्थ्य संस्थामा क्षयरोगको निःशुल्क उपचार, निःशुल्क खकार परीक्षणका लागि २२ वटा माइक्रोस्कोपिक केन्द्र, तीन वटा जिनएक्स्पर्ट केन्द्र र डीआरटीबीको बिरामीका उपचारका लागि चार वटा सब डीआर सेन्टरको व्यवस्था छ ।

औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई प्रोत्साहन मासिक ५०० रूपैयाँ दिने गरिएको छ । संघीय कार्यक्रम अन्तर्गत झापाको तीन वटा पालिका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियान समेत सञ्चालित छ । 

‘हो हामी क्षयरोग अन्त्य गर्ने सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको अवश्यकता’ भन्ने नाराका साथ सोमबार देशभर विश्व क्षयरोग दिवस मनाइँदै छ । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य छ । 

क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको संक्रमणका कारण हुने संक्रमणजन्य सरुवा रोग हो । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्दछ । 

क्षयरोगीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिस सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुने हुन्छ । कुपोषण भएका, धुम्रपान तथा सूर्तीजन्य प्रदार्थको सेवन, मधुमेहका बिरामी, मद्यपान गर्ने मानिस, एचआईभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा क्षयरोगको उच्च जोखिम रहेका हुन्छन् ।    

कमेन्ट गर्नुहोस्