१२ साउन २०८३, मंगलबार

ग्लोबल मनि वीकमा सिद्धार्थ बैंकद्वारा विद्यार्थीलाई वित्तीय शिक्षा

चैत १३, २०८१
काठमाडौं
ग्लोबल मनि वीकमा सिद्धार्थ बैंकद्वारा विद्यार्थीलाई वित्तीय शिक्षा

सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले सप्ताहव्यापी रूपमा मनाइएको ग्लोबल मनि वीक २०२५ को अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।

यस वर्षको ग्लोबल मनी विक २०२५ को नारा ‘Think before you follow, wise money tomorrow’लाई सार्थक बनाउने प्रयास स्वरूप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी २४ स्थानमा विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा १,२१२ जना विद्यार्थीको सहभागिता रहेको थियो । 

साथै, विद्यार्थीलाई बैंकको आधारभूत बैकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यम सम्बन्धी व्यवहारिक रूपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ४४८ जना विद्यार्थीलाई बैंकको विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो । 

सप्ताहव्यापी रूपमा मनाइएको ग्लोबल मनि वीकमा बैंकले कूल ३८ कार्यक्रम मार्फत १,६६० विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरेको थियो । 

बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पुर्‍याउने र हरेक वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

उक्त कार्यक्रमबाट वित्तीय शिक्षाको महत्त्वका बारेमा जागरण ल्याउने हेतुले वार्षिक रूपमा मनाइने साप्ताहिक अन्तर्राष्ट्रिय अभियान ग्लोबल मनि वीकको उद्देश्यलाई प्राप्त गर्न मद्दत पुगेको बैंकले विश्वास लिएको छ । 

कमेन्ट गर्नुहोस्