
केहीलाई अझै भ्रम छ– राजा आए यो देशमा रातारात चमत्कार हुन्छ । पूर्वराजा ज्ञानेन्द्र शाहको दमनको सिकार भएको एक भुक्तभोगी सञ्चारकर्मीको नाताले म भन्छु– त्यो सोह्रै आना असत्य, भ्रम र कोरा कल्पना शिवाय केही होइन ।
ज्ञानेन्द्र शाहको चरित्र बुझ्न २०६१ माघ १९ पछिका केही घटनाको विवेचना गरौं । माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’मार्फत शासनसत्ता आफ्नो हातामा लिएपछि उनको निर्देशनमा सैनिक अधिकारी सञ्चार गृहहरूमा प्रवेश गरे ।
त्यसरी खटिएका सैनिकहरूले कान्तिपुर टेलिभिजनको न्यूज रूम (जहाँ म त्यतिबेला काम गर्थें) भित्र बजारेको बुट र बन्दुकको आवाज आज पनि कानमा ताजै छ । माघ १९ को कालो दिनपछि केही हप्ता कान्तिपुरको न्यूज बुलेटिनका स्क्रिप्ट सैनिकले पास गर्थे । हामी कम्प्युटरमा टाइप गरिरहेका हुन्थ्यौं । पछाडि बन्दुक बोकेका सैनिक उभिएका हुन्थे । स्क्रिप्ट उनीहरूले पढेपछि मात्र ‘अन एयर’ जाने/नजाने निर्णय हुन्थ्यो ।
यतिसम्मकि सैनिक अधिकारी स्टुडियोमै प्रवेश गरेर ‘के प्रसारण हुँदैछ ?’ भनेर अन्तिम सोधीखोजी गर्थे । प्रेस स्वतन्त्रतालाई ज्ञानेन्द्र शाहले सैनिक अधिकारीको बुट र बन्दुकको नालमार्फत सिधै आर्यघाटमा पुर्याइदिएका थिए ।

नेता, नागरिक अगुवा, मानवअधिकारर्मी, कानून व्यवसायी, पत्रकारलगायत धेरैलाई थुनेका थिए, राजाले । फोन र इन्टरनेट सेवा पूरै ठप्प पारिएको थियो । राजाको त्यो शासनकालमा बन्द गराइएको मेरो मोबाइल फोन पुनः सञ्चालनमा आउन ७ महिना लागेको थियो ।
प्रेस/नागरिक स्वतन्त्रता र मानवअधिकार ध्वस्त पारिएको त्यो समय मजस्ता कैयन सञ्चारकर्मीका लागि पत्रकारिता करियरकै सर्वाधिक पीडादायी समय थियो । ज्ञानेन्द्र शाहको उक्त कदमपछि केही पत्रकार साथीहरू पेशाबाटै पलायन हुनुपर्यो । यता हाम्रा पत्रकार साथीहरू पेशाबाट पलायन हुँदै गर्दा अहिले राजा ल्याउनुपर्छ भनेर कुर्लने रवीन्द्र मिश्र लन्डनमा बसेर बीबीसीमा विलासी पत्रकारिता गर्दै हुनुहुन्थ्यो । त्यसैले उहाँलाई ज्ञानेन्द्र शाह प्यारो लाग्छ, हामीलाई दुस्मनजस्तै । उतिबेला त पत्रकारलाई पलायन हुन बाध्य मात्र पारिएको थियो, आज त समाचार संकलन गर्न पुगेका एक पत्रकारलाई अराजक राजावादीहरूले जिउँदै जलाएका छन् । कोटेश्वरको एक घरमा राजावादीले लगाएको आगोमा जलेर एभीन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको खबर छ ।
माघ १९ को घटना गराउने ज्ञानेन्द्र शाह तिनै व्यक्ति हुन्, जसलाई आज १७ वर्षपछि फेरि शक्तिको भोक जागेको छ । उनी कति दम्भी, अव्यावहारिक र कुण्ठाग्रस्त व्यक्ति हुन् भन्ने विषय उनले छानेको आन्दोलनको कमान्डरबाटै प्रस्ट हुन्छ । ज्ञानेन्द्रका कमान्डरले आजभन्दा २० वर्षअघि इराकमा १२ नेपाली नागरिक मारिएको भोलिपल्ट काठमाडौंमा जुन प्रकृतिको हिंसा भएको थियो, शुक्रबार झण्डै त्यस्तै घटना घटाइदिएका छन् ।
आफूलाई सक्रिय शासनमा फर्काउने कथित आन्दोलनको अगुवा शाहले दुर्गा प्रसाईंलाई बनाए । प्रसाईं अति विवादित पात्र हुन् । शाह र प्रसाईंको निर्देशनमा शुक्रबार तीनकुनेमा अक्षम्य अपराध भएको छ । उक्त अपराधको भागीदार रवीन्द्र मिश्रले दाबी गरेजस्तो सरकार होइन, ज्ञानेन्द्र शाह र प्रसाईं हुन् । यो तहको हिंसात्मक आन्दोलन गर्न उक्साउने राजा फर्कन्छन्, र उनले कायापलट गर्छन् भनेर पत्याउने व्यक्ति जति मूर्ख अरू को हुनसक्छ ?
राजावादीको प्रदर्शनका लागि स्थानीय प्रशासनले तीनकुने क्षेत्र तोकिदिएको थियो । तर, आन्दोलनको नेतृत्व गरिरहेका प्रसाईं शान्तिपूर्ण आन्दोलन गर्ने मनसायमा थिएनन् । उनले केही समय अघिदेखि सार्वजनिक मञ्चबाटै बंगलादेश र श्रीलंकामा जस्तै नेपालमा पनि नेता र व्यापारीको घर–घरमा छिरेर सबैलाई लखेट्नुपर्छ भन्ने अभिव्यक्ति दिँदै आएका थिए ।
उनले जे भन्दै आएका थिए, शुक्रबार तीनकुनेमा त्यही भयो । पूर्वराजाको रोजाइमा परेका आन्दोलनका कमान्डर प्रसाईं आफैंले सुरक्षाकर्मीको ब्यारिकेड पेलेर आफ्नो कार कुदाए । लोकान्तर टीभीले गरेको प्रत्यक्ष प्रसारण र भिडियो रिपोर्टिङ हेर्दा तीनकुनेको घटनामा सुरक्षाकर्मीले निकै संयमता अपनाएको स्पष्ट देखिन्छ । तथापि, आत्मरक्षाका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको खबर छ, जुन दुःखद् कुरा हो ।

प्रसाईंको योजना र निर्देशनमा आन्दोलनमा उत्रिएका राजावादीहरू बिहानैदेखि उग्र देखिन्थे । उनीहरूको दाबी दिउँसो १ बजे सभा गर्ने भन्ने थियो । तर, आफ्ना सबै नेता भेला नहुँदै प्रसाईंका कार्यकर्ताले बिहानैदेखि प्रहरीसँग निहुँ खोज्न थालिसकेका थिए । सुरक्षाकर्मीले नयाँ बानेश्वरतर्फ आन्दोलनकारीलाई आउन नदिन सडकबीचमा ब्यारिकेड खडा गरेका थिए । संसद् भवन पनि भएकाले बानेश्वरलाई स्वभाविक रूपमा निषेधित क्षेत्र तोकिएको थियो ।
तर, प्रसाईंका कार्यकर्ता शान्तिपूर्ण प्रदर्शन गर्ने मूडमै थिएनन् । खासमा झडपको स्थिति प्रसाईंका कार्यकर्ताले निम्त्याएका थिए । प्रसाईं र उनी नेतृत्वको समूहले करोडौं मूल्य बराबरको निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेको छ । तीनकुने क्षेत्रमै रहेका दुई सञ्चार गृह (कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट)को कार्यालयमा तोडफोड भएको छ ।
निजी व्यक्तिका घर, कार्यालय, फर्निचर, कागजपत्र जलाइएको छ । ती भौतिक सामग्रीले ज्ञानेन्द्र शाहको के बिगारेका थिए र त्यत्रो आतंक सिर्जना गरेको ? यसको उत्तर के छ ज्ञानेन्द्र र प्रसाईंसँग ?
तीनकुने क्षेत्र वरपरका निजी सम्पत्तिमा तोडफोड मात्र होइन, राजावादीले सुरक्षाकर्मीमाथि पनि निर्मम कुटपिट गरेका छन् । एकजना महिला सुरक्षाकर्मीमाथि उनीहरूले गरेको निर्मम प्रहारको भिडियोले राजावादीहरू कति हिंस्रक र उग्र थिए भन्ने छर्लङ्ग देखाउँछ ।
हिंस्रक प्रदर्शनकारी निजी सम्पत्तिको तोडफोड र आगजनीमा मात्र रोकिएनन् । त्यसपछि उनीहरू विभिन्न पार्टीका कार्यालय खोज्दै हिँडे । नेकपा एसको कार्यालयमा तोडफोड र आगजनी गरे । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटभित्र प्रवेश गरेर सामान लुटेका फुटेज समेत बाहिर आएका छन् । तीनकुने, गैरीगाउँ, कोटेश्वर र जडिबुटी क्षेत्रका कैयौं निजी घर तथा सम्पत्तिमा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट भएको छ ।
अब प्रश्न उठ्छ– त्यो तोडफोड, आगजनी र लुटपाटको जिम्मेवारी कसले लिने ? कतिपयले पूर्वराजा शाह र प्रसाईंलाई ती घटनामा जिम्मेवार ठहर्याउँदै उनीहरूमाथि कारबाही हुनुपर्ने भनेर आवाज उठाइसकेका छन् । गृहमन्त्री रमेश लेखक र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तोडफोड, आगजनी र लुटपाटमा आयोजकलाई जिम्मेवार ठहर्याउने भनाइ सार्वजनिक गरेका छन् ।
खासमा तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनाले पूर्वराजा शाहको मुकुन्डो मात्र उतारेको छैन, आन्दोलन गर्ने तयारीमा रहेका राप्रपा र अन्य कतिपय राजनीतिक शक्तिलाई अप्ठ्यारोमा पारेको बुझ्न सकिन्छ । यो तहको हिंसात्मक आन्दोलनको जिम्मेवारी कसले लिने ? अब कसरी समाजमा मुख देखाउने ? शुक्रबार भएको तोडफोड, आगजनी र लुटपाटको कसरी प्रतिरक्षा गर्ने भन्ने विषयले उनीहरूको टाउको दुखेको हुनुपर्छ ।
राजेन्द्र लिङ्देन र कमल थापाहरू तीनकुनेमा देखिएका थिएनन् । अब उनीहरू आगामी दिनमा कसरी अघि देखा पर्छन् ? पूर्वराजा शाहले प्रसाईंलाई फेरि अघि सार्छन् कि सार्दैनन् ? शुक्रबार भएको हिंसाको जिम्मेवारी लिन्छन् कि लिँदैनन् ? समग्रमा अब राजावादीहरूको आन्दोलन के हुन्छ ? तीनकुनेमा पोखिएको पूर्वराजा शाह र प्रसाईंको हिंसात्मक/उग्र प्रदर्शनले यी र यस्तै तमाम सबाल सतहमा ल्याइदिएको छ ।
सरकारले घटनालगत्तै कर्फ्यु आदेश जारी गरेको छ र सेना पनि खटाएको छ । तीनकुनेमा भएको अक्षम्य अपराधको गहिरो र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन ढिला गरे सरकारप्रति थप आक्रोश बढ्ने पक्का छ ।