
काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको नेतृत्वकर्ता दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार रातिदेखि नै खोजिरहेको छ । प्रसाईं भेटिएका छैनन् ।
पछिल्लोपटक हिजो (आइतबार) सामाजिक सञ्जाल फेसबूकमा एउटा भिडियो सार्वजनिक भयो । कुनै मन्दिर अगाडिबाट खिचिएको भिडियो सार्वजनिक गर्दै प्रसाईंले आफू काठमाडौंमै रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई देख्नेबित्तिकै ‘सुट’ गर्न प्रहरीलाई निर्देशन दिएकाले लुकेर बस्नुपरेको प्रस्टीकरण प्रसाईंले दिएका थिए ।
उक्त भिडियो आएलगत्तै साइबर ब्यूरोले अनुसन्धान थाल्यो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि त्यस्तो मन्दिर रहेको ठाउँका बारेमा सोधीखोजी गर्यो । तर, पत्ता लागेन ।
अनुसन्धान कार्यालयले ७० जना सुरक्षाकर्मीलाई विभिन्न टोली बनाएर प्रसाईं लुकेर बस्न सक्ने सम्भावित स्थानहरूमा पठाइरहेको छ ।
मोबाइल स्वीच अफ गरेर बेपत्ता भएका प्रसाईंलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको छ । पछिल्लोपटक प्रहरी एउटा निष्कर्षमा पुगेको छ– प्रसाईं भारत वा नेपाल–भारत सीमा छेउछाउ लुकेर बसेका छन् ।
उच्च प्रहरी स्रोतले लोकान्तरसँग भन्यो, ‘काठमाडौंमा उपलब्ध इन्टलिजेन्ट टोली प्रसाईंको खोजीमा जुटेको छ । उनी भारत पुगेको हो कि भन्ने हाम्रो आशंका छ । भारतसँग जोडिएका सीमा नाकामा पनि प्रहरीलाई अलर्ट गराएका छौं ।’
गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक दीपक थापालाई प्रसाईंको खोजीमा सूक्ष्म ढंगले लाग्न निर्देशन दिएका छन् ।
उपल्लो निर्देशन कुर्दाकुर्दै फुत्किए प्रसाईं !
शुक्रबार हात हल्लाउँदै प्रसाईं आफ्नै गाडीमा तीनकुने आइपुग्दा त्यहाँको माहोल बिग्रिसकेको थियो ।
प्रसाईं गाडी आफैं हाँक्दै मीनभवनतर्फ अगाडि बढे । ‘आऊ, आऊ’ भनेर प्रदर्शनकारीलाई इसारा गर्दै अगाडि बढेका प्रसाईंले प्रहरीको पहिलो घेरा तोडे ।
दोस्रो घेरा पुग्नुअघि उनको गाडी रोकियो । त्यतिबेलै फिल्डमा खटिएका प्रहरी कमान्डरले ‘प्रसाईंले हामीलाई मारौंलाझैँ गरेर गाडी अगाडि लगे, पक्राउ गर्ने हो ?’ भनेर उपल्लो तहको निर्देशन मागे ।
प्रसाईंलाई तत्काल पक्राउ गर्दा भीड झन् उत्तेजक हुने भन्दै उनलाई तत्काल नियन्त्रणमा नलिन निर्देशन आयो । प्रसाईं गाडी त्यहीँ छाडेर आफ्नो टोलीसहित भाग्न भ्याए ।
भीड झन् उत्तेजित भयो । प्रहरीले अश्रुग्यास हानिरह्यो । पानीको फोहरा फालिरह्यो । प्रदर्शनकारीले व्यक्तिगत घर तोडफोड र आगजनी गरे ।
भीडलाई साम्य बनाउन सजिलो नदेखेपछि केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । कर्फ्यु लगाउने निर्णय भयो । सेना सडकमा आएपछि भीड साम्य भयो ।
राति ८ बजेपछि मात्रै प्रसाईंलगायत राप्रपाका नेतालाई पक्राउ गर्न प्रहरीलाई निर्देशन आयो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतलाई प्रहरीले पक्राउ गर्यो । प्रसाईं खोज्दा पनि भेटिएनन् । प्रहरी प्रसाईंकै भक्तपुरस्थित घरमा पुग्दा उनी त्यहाँ थिएनन् ।
कुनै पनि बेला घर आउन सक्छन् भन्ने आशंकामा रातैभरी प्रहरी प्रसाईंको घर रुंगेर बसे । उनी फर्किएनन् ।
‘प्रहरीलाई मारौंलाझैँ गरी घेरा तोडेर आइसकेका प्रसाईंलाई नियन्त्रणमा लिन धेरै बेर निर्देशन कुरेर बस्नुपर्यो,’ तीनकुनेमा खटिएका एक असईले लोकान्तरसँग भने, ‘भीड झन् उत्तेजित हुन्छ भनेर पक्राउ नगर्न आदेश आयो । जब उनी फुत्किए, अनि मात्र निर्देशन आएपछि कहाँ भेटिन्छ ?’
प्रदर्शनका क्रममा प्रहरीलाई ढुंगा हान्ने धर्मगुरु भनेर चनिने पुष्कर खतिवडालाई पक्राउ गर्न प्रहरी शनिबार बिहान उनको घर पुग्यो । त्यसअघि प्रसाईं र खतिवडा एउटा सटरमा लुकेर बसेको भिडियो भाइरल भएको थियो । प्रहरीले खतिवडालाई प्रसाईं खै ? भनेर सोध्दा उनले राति नै फलफूल खाएर हिँडिसके भन्ने जवाफ दिए । प्रहरीले खतिवडालाई मात्रै पक्राउ गरेर कार्यालय ल्यायो ।
प्रसाईंको खोजीका लागि अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, विशेष ब्यूरो, प्रहरी मुख्यालयकै विशेष टोली, अपराध अनुसन्धान कार्यालयलगायतमा इन्टलिजेन्समा लामो समय काम गरेका प्रहरीहरूलाई खटाइएको छ ।
प्रहरी महानिरीक्षक थापाले सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई भारतीय सीमा जोडिएका जिल्लाका नाकाहरूमा कडा निगरानी गर्न भनिएको छ ।
सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’मा रहन निर्देशन छ । उता सशस्त्र प्रहरी बल सीमामै खटिएको छ । सीमामा खटिएका सशस्त्रका बीओपीले पनि प्रसाईं आए/नआएको निगरानी गरिरहेका छन् ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले प्रसाईंलाई खोज्न प्रहरीको विशेष टोली खटिएको बताए ।
उनले भने, ‘प्राविधिक सँगै म्यानुअली पनि प्रसाईंको खोजी भइरहेको छ । लुक्ने व्यक्ति जहाँ पनि लुक्न सक्ने भयो । प्रसाईंले बाहिर अन्य सर्वसाधारणले देख्ने गरी मुभमेन्ट नबढाएकाले पनि पत्ता लगाउन समय लाग्ने देखिन्छ ।’