
केही समय अघिसम्म हरियालीको पहिचान बोकेको बुटवल–गोरुसिंगे सडक खण्ड अहिले उजाड बनेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने ५० किलोमिटर सडक खण्ड विस्तार गर्दा दशकौं पुराना ‘भ्यालुएबल’ रूख अन्य मुलुकमा जस्तै स्थानान्तरण गर्न नसकेर एकैपटक मासिएका हुन् ।
यात्रुले गाडी पर्खेर बस्दा होस् वा पानी पर्दा शीतल वा छहारीका रूपमा विश्राम लिने ठूला रूख मासिएपछि सडक किनारा उराठलाग्दो देखिएको छ ।

ऐतिहासिक महत्त्व बोकेका एवं औषधीय गुण भएका चौतारीसहितका रूखहरू वरपीपल, स्वामी, आँप, सित्तलचिनी, कदम, साल तथा सिमल मासिएका छन् ।
तराईमा बढ्दो तापक्रम नियन्त्रण गर्न र शहरको सौन्दर्य बढाउन ठूला रूखको महत्त्व निकै छ । विकासका नाममा हुने यस प्रकारको विनाशको तत्काल विकल्प खोजिनुपर्ने विज्ञहरू बताउँछन् । बुटवल–नारायणगढ सडक विस्तार गर्दा पनि धार्मिक आस्थासँग जोडिएका १ हजार बढी ठूला रूख मासिएका थिए ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका अधिकृत केशव खड्काले ठूला रूख ‘क्रेन’ मार्फत उखेलेर जराको आकारअनुसार खाडल बनाई स्थानान्तरण गर्न सकिने भए पनि नेपालमा त्यसको अभ्यास नहुँदा विकाससँगै महत्त्वपूर्ण रूख मासिने क्रम बढेको बताए ।
‘लुम्बिनी प्रदेश सरकारले शहरी क्षेत्रमा वृक्षरोपण गर्न र ठूला रूख एक ठाउँबाट उखेलेर अर्को ठाउँमा सार्न टिनेबल मशिन खरिदका लागि भनेर २ आर्थिक वर्षमा ६ करोड रूपैयाँ बजेट विनियोजन गरेको पनि थियो,’ खड्का भन्छन्, ‘पहिलो वर्ष टेन्डर परेर त्यसपछि कसैले ‘इन्ट्रेस्ट’ देखाएनन् । किनेर ल्याएपछि त्यसलाई हाम्रो प्राविधिकले चलाउन सक्ने हुन् कि होइनन् भन्ने कुरा आएपछि योजना सेलाएर गयो ।’
अधिकृत खड्काले थपे, ‘शहरी क्षेत्रका लागि यो अत्यावश्यक थियो । विदेशमा ठूला रूख स्थानान्तरण गरिन्छ । सडक विस्तार गर्दा वा अन्य विकासका काम गर्दा हटाउनुपर्ने रूख खाली ठाउँ र अतिक्रमण भएका क्षेत्रमा लगाउन सकियो भने हरियाली र सुन्दरता हुन्छ । हाम्रोमा काटेर सकिने भए ।’
अझै पनि शहरी क्षेत्रमा चौतारी र औषधीय गुण हुने ठूला रूख जोगाउनुपर्छ भन्ने सोच पाइँदैन । ६३ वर्षपछि विस्तार थालिएको सडकमा वन विभागसँग अनुमति लिएर दायाँ–बायाँका रूख काटिसकिएको छ । यीमध्ये केहीलाई सार्न सकिने उपाय हुँदाहुँदै पनि त्यस्तो अभ्यास नभएको जानकारहरूको गुनासो छ । कतिपय रूख त अहिले लोप हुने अवस्थामा भएको हुँदा उमार्नै धौ–धौ पर्ने खालका छन् ।

वातावरण क्षेत्रका जानकार प्राध्यापक युवराज कंडेलले महत्त्वपूर्ण रूख र चौतारी जोगाउने गरी सडकको डिजाइन नहुँदा पुराना वरपीपल मासिन पुगेको बताए ।
‘वरपीपलसँग नेपाली समाजको धर्म, संस्कार र परम्परा जोडिएको भए पनि डिजाइन गर्दा यी कुरालाई कहिल्यै ख्याल गरिएको छैन,’ प्राध्यापक कंडेलले लोकान्तरसँग भने ।
काटिएका रूखको सट्टामा अन्यत्र कतै रूख रोप्ने भन्दै सडक आयोजना कार्यालयले वन विभागको खातामा करोडौं रकम (करिब साढे ४ करोड रूपैयाँ) अग्रिम बैंक दाखिला गरेको छ ।
काटिएका झण्डै ७ हजार रूखको घाटगद्दी गरेर बिक्रीवितरण पनि वन मातहतका कार्यालयले नै गर्छन् । वन विभागले अन्य विकास आयोजनामा साना झाडीका कारण अनुमति प्रक्रियामा ढिलाइ गर्दै आएको भए पनि यसपटक भने ३ महिनामै हजारौं रूख काट्ने अनुमति दिएको छ, जुन सम्भवतः अहिलेसम्मकै छिटो प्रक्रिया हो ।
सडक विस्तार आयोजना कार्यालयकी प्रमुख इञ्जिनीयर कुशलता न्यौपानेले सडक विस्तारका लागि वन विभागले छिटो र सहजरूपमा अनुमति दिएर सहजीकरण गरेको बताइन् ।

विकासका नाममा पर्यावरणीय मुद्दालाई गौण ठान्दा भविष्यमा अर्को संकट आउने निश्चित रहेको वातावरण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विज्ञहरू बताउँछन् ।
वातावरण इन्जिनियर डा. खेटराज दाहालले त स–साना खोल्सा–खोल्सी मासिनु, हुर्केका रूखहरू एकैपटक सखाप पार्नुले पानीका प्राकृतिक मूलहरू मासिँदै गएको र वातावरणीय क्षेत्र कमजोर बन्दै गएको टिप्पणी गर्दै आएका छन् ।
वरपीपलजस्ता रूखहरू शुद्ध हावा र छहारी मात्र नभई जैविक विविधताका अभिन्न हिस्सा हुन् । यी रूखले भूक्षय रोक्न, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न तथा अन्य जीवजन्तुलाई आश्रय दिन महत्वपूर्ण भूमिका खेल्छन् । तर, विकासका नाममा यस्ता बहुमूल्य रूख मासिँदा वातावरणीय प्रभावबारे पर्याप्त छलफल नभएको उनको गुनासो छ ।

पूर्वाधार विकास महत्वपूर्ण छ, तर वातावरण संरक्षणलाई पनि उत्तिकै ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । रूख सार्ने प्रविधि अवलम्बन गर्न सकिने थियो, जसले वातावरणीय क्षति कम गर्ने थियो । भविष्यका योजनाहरूमा यस्तो अभ्यास अपनाइने सुनिश्चितता गर्नु आवश्यक रहेको विज्ञहरूको सुझाव छ ।
वन विभागका निर्देशक दीपक ज्ञवालीले रूख संरक्षणको चासोले सबैलाई गम्भीर बनाएको बताए । अबका योजना निर्माणमा वातावरणमैत्री उपायलाई प्राथमिकता दिइने उनको भनाइ छ ।
रूखलाई काट्नेभन्दा पनि जोगाउने र सार्ने काम विदेशहरूमा गरिन्छ । तर, हाम्रो मुलुकमा प्रविधिलाई अवलम्बन गर्नेतर्फ ध्यान नदिइँदा सबै क्षेत्रमा असर परेको उपभोक्ता हित संरक्षणकर्मी समुन्द्र जिसीले बताए ।

दश वर्षअघि बुटवल–बेलहिया (सुनौली) सडक खण्ड ‘सिक्स लेन’ मा विस्तार गर्दा त्यहाँ रहेका केही ठूला रूख लुम्बिनीमा स्थानान्तरण गरिएको थियो ।
थाइल्यान्डबाट वन प्राविधिक ल्याएर थाई बिहारले सडक दायाँ–बायाँका ठूला रूख अन्यत्र सार्ने देशकै पहिलो प्रयासलाई सफल बनाएको थियो । ३ दर्जनभन्दा बढी ठूला रूख अहिले पुरानै अवस्थाको जस्ता देखिन्छन् । त्यसको सफल अभ्यासलाई अहिलेसम्म अवलम्बन गर्न सकिएको छैन ।
पहिले गाउँमा मानिसहरूले धर्म कमाउन पोखरी खन्ने तथा वरपीपलका बिरुवा रोप्ने प्रचलन थियो । गाउँघरमा पनि गोरेटो बाटोनजिक वर र पिपलका बोटसँगै चौतारा पनि थिए । तर, अहिले गाउँमा पनि सडक निर्माणले वर र पिपलसँगै चौतारा मासिँदै गएका छन् ।

शहरमा मात्र होइन, गाउँमा पनि वर र पिपल तथा चौताराहरू विकासका गतिविधिसँगै वैदिक धर्म मासिँदै गएको छ । विकसित मुलुकहरूले रूख जोगाएर विकास गर्ने गरेको पाइन्छ । सडक भएर यात्रा गर्ने यात्रुले प्रतीक्षालय तथा चौतारीका कारण कुन ठाउँ पुग्यौं भनेर सहजै थाहा पाउने गरेको भए पनि अहिले ठाउँ ठम्याउनै मुस्किल पर्ने गरेको छ । पहिले धार्मिक आस्थाका कारण सडक किनारमा रोपेर हुर्काइएका वरपीपल चौतारीमा लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सहज हुने गरेको थियो ।
पहिले धार्मिक आस्थाका कारण सडक किनारामा रोपेर हुर्काइएका बर पिपलका चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सहज हुने गरेको थियो ।
समाज परिवर्तनको नाममा युगौंदेखि चलिआएका सनातन चालचलन र पद्धतिलाई बिगार्न नहुने कंडेलको भनाइ छ ।