
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५, मझौलेका स्थानीयले सामान्य स्वास्थ्य सेवा लिन घण्टौं हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ ।
गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो । नागरिकलाई सहज सेवा प्रदान गर्न साविक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत् सेवा प्रवाह भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।
नागरिकले पाएको सास्तीलाई समाधान गर्न आफूले जनप्रतिनिधि बन्दै गर्दा गरेको वाचा अनुसार नै स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गरेको उनको भनाइ छ ।
‘यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन निकै समस्या थियो’, उपाध्यक्ष राईले भनिन्,‘सामान्य स्वास्थ्य सेवा लिन पनि तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो । जनप्रतिनिधि बन्दै गर्दा गरेको वाचा अनुसार यहीँबाट सेवा प्रवाह गर्न सफल भएका छौं ।’
नागरिकलाई सहज रुपमा स्वास्थ्यसेवा पुर्याउनलाई आफ्नो तहबाट भूमिका खेलिरहेको उपाध्यक्ष राईले बताइन् । भौगोलिक रूपमा विकट रहेका अन्य स्थानमासमेत आधारभूत सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह भइरहेको उनले जानकारी दिइन् ।
सामान्य रुघाखोकी तथा जीवनजल लिनका लागि घण्टौं पैदलयात्रा पार गर्नुपर्ने अवस्थामा गाउँबाट नै स्वास्थ्य सेवा लिन पाउँदा खुसी लागेको टेम्केमैयुङ– ५ का रमेश विष्टले बताए ।
स्वास्थ्य इकाई स्थापनाले यहाँका नागरिकले तीनदेखि चार घण्टा समय लगाएर अन्य ठाउँमा सेवा जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । ‘सामन्य स्वास्थ्य सेवा लिन नै समस्या थियो’, उनले भने, ‘अहिले गाउँबाट नै सेवा लिन पाएका छौं । अहिले हाम्रो वर्षौंदेखिको समस्या हटेको छ ।’
गाउँघरमा नै स्वास्थ्य संस्था सञ्चालन भएपछि बिरामी हुँदा नियमित स्वास्थ्य जाँच गराउन पाइएको स्थानीयवासी देवबहादुर विष्ट बताउँछन् । स्वास्थ्य केन्द्र स्थापनाले सामान्य उपचार लिनका लागि घण्टौं पैदल यात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले जानकारी दिए ।
‘पुस्तौंबाट हामीले सामान्य स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका थियौ’, उनले भने, ‘अहिले गाउँमा नै स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज भएको छ । स्वास्थ्य केन्द्र नहुँदा हामीलाई धेरै दुःख थियो । अहिले आफ्नै ठाउँमा नियमित स्वास्थ्य जाँच गराउन पाएका छौं ।’