२८ जेठ २०८३, बिहीबार
प्रसाईं पक्राउपछि राजावादी आन्दोलन

'भस्मासुर'लाई कमान्डर तोकेर व्यवस्था पल्टाउने ‘ज्ञानेन्द्र सपना’को दुःखान्त !

चैत २९, २०८१
काठमाडौं
'भस्मासुर'लाई कमान्डर तोकेर व्यवस्था पल्टाउने ‘ज्ञानेन्द्र सपना’को दुःखान्त !

केपी शर्मा ओलीको शब्दमा अवाञ्छित तत्त्व, प्रचण्डको शब्दमा हावादारी मान्छे र गगन थापाको शब्दमा 'मूर्ख लम्पट' दुर्गा प्रसाईं तीनकुने घटना गराएर भागेयता राजावादीको आन्दोलन शिथिल बनेको छ । 

घटना भएको १५ दिन बितिसक्दा समेत समाज शान्त हु  न सकेको छैन । तीनकुने वितण्डाका कारण २ जनाको अकालमा ज्यान गयो । कयौं घाइते भए । करोडौंको धनमाल नोक्सान भयो । व्यक्तिका घर फुटाइए । सरकारी गाडीमा आगजनी भयो । तर, भयंकर घटनाको जिम्मेवारी न कथित जनकमान्डर दुर्गा प्रसाईंले लिए, न उनलाई कमान्डर बनाएर निर्देशन दिने पूर्वराजा ज्ञानेन्द्रले नै । 

तीनकुने हिंसात्मक घटनाको मुख्य योजनाकार प्रसाईं रहेको निष्कर्षसहित प्रहरीले उनलाई खोजिरहेको थियो । तीनकुनेमा हिंसा भड्काउन उक्साएर फरार भएका प्रसाईं बिहीबार राति पक्राउ परे ।

पक्राउ गरेर ल्याइँदै गरेका दुर्गा प्रसाईं

प्रसाईंविरुद्ध प्रहरीले राज्यद्रोहलगायत विभिन्न मुद्दा लगाउने तयारी गरेको छ । प्रसाईंको कार्यक्रममा सहभागी भएका राप्रपा महामन्त्री एवं सांसद डा. धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अहिले प्रहरी हिरासतमा छन् । 

प्रसाईं पक्राउले सबैभन्दा बढी मर्माहत कोही भएका होलान् भने त्यो शायद पूर्वराजा ज्ञानेन्द्र शाह हुनुपर्छ, जो आफ्नो गुमेको साम्राज्य प्रसाईंले फर्काइदिन्छन् भन्ने आशामा थिए । यस्ता हुतिहारा, जो आन्दोलनको मैदानबाट भागे, त्यस्तालाई ज्ञानेन्द्रले राजसंस्था फर्काउने आन्दोलनको कमान्डर तोकेका थिए ।  

पढ्नुहोस्, यो पनि : 

तीनकुनेमा विसर्जन भएको राजावादी आन्दोलन र ज्ञानेन्द्रमाथि उत्पन्न धर्मसंकट !
 

सबैभन्दा बेवकुफी ज्ञानेन्द्रको छ– प्रसाईंजस्ता भस्मासुर खलपात्रलाई अगाडि सारेर व्यवस्था उल्ट्याउने सपना देखे । यही पात्रको अनुहारका कारण पूर्वपञ्चको पार्टी राप्रपा समेत राजसंस्था फर्काउने आन्दोलनमा सहभागी भएन । 

तीनकुने पुगेका बुद्धिमान तामाङलगायत नेताहरू पूर्वराजासरह प्रसाईंको फोटो ब्यानरमा देखेपछि कुलेलम ठोकेर भागे । अर्थात्, प्रसाईंले आफूलाई ज्ञानेन्द्रपछिको स्थानमा राखेका थिए ।

हिंसात्मक घटना हुनुपूर्व चैत्र १५ गते प्रसाईंको निवासमा भेला भएकाहरू प्रसाईंलाई बालुवाटार पुर्‍याएर मात्र फर्किने भन्दै नारा लगाइरहेका थिए । 

कुनै संगठन, योजना र पृष्ठभूमिबेगर राजनीतिक दलका नेता र केही व्यापारिक घरानालाई अपुष्ट आरोप र लाञ्छना लगाएको भरमा प्रसाईंले आफूलाई समकालीन नेताको दाँजोमा तुलना गर्दथे । आफूलाई पेरुका कम्युनिस्ट नेता गोन्जालोसँग तुलना गरे र पक्राउ परेर विमानमा चढाइँदै गर्दा बीपी कोइरालाले जस्तो अभिवादन गरे, मानौं कि उनी लोकतन्त्रका लागि लामो लडाईं लडेर आएका थिए । 

५–७ हजार मान्छे जम्मा गरेर व्यवस्था नै परिवर्तन गरी ज्ञानेन्द्रलाई नारायणहिटी फर्काउने र आफू प्रधानमन्त्री बन्ने हावादारी सपना बुनेर प्रसाईंले ‘केपी ओली बाइ–बाइ, दुर्गा दाइ हाइ–हाइ’को नारा घन्काउन लगाए । 

यस्ता चरम विवादास्पद पात्रलाई ‘जनकमान्डर’को फुली लगाइदिएर ज्ञानेन्द्रले देशमा व्यवस्था उल्ट्याउने तानाबाना बुनेका थिए । ज्ञानेन्द्रको यही मूर्खतापूर्ण कदमले राजसंस्था (ज्ञानेन्द्र होइन)लाई मन पराउनेहरूलाई पनि लज्जाबोध भएको छ ।

अतीतदेखि वर्तमानसम्म ज्ञानेन्द्रको यो शैली

ज्ञानेन्द्रले विगतदेखि नै त्यस्तै विवादस्पद पात्रलाई अगाडि सारे, जसले उनको पतनको समयलाई अझ् नजिक्याइदियो । सान्दर्भिकता गुमाइसकेका तुलसी गिरीजस्ता पात्रलाई ल्याएर उनले शासनसत्ता लम्ब्याउने कुचेष्टा गरे, प्रत्युत्पादक भइदियो । 

राजनीतिक दललाई गाली गर्नका लागि सच्चित शमशेर जबरा (पूर्वप्रधानसेनापति) र शिरिश शमशेर राणालाई अगाडि सारे, जसले ज्ञानेन्द्रप्रतिको वितृष्णा र अलोकप्रियतालाई झनै तीव्र बनायो । यस्तै कारणले उनको शासन मात्र ढलेन, नेपालबाट राजतन्त्र नै पतन भयो । 

पढ्नुहोस्, यो पनि :

ज्ञानेन्द्रको च्याप्टर सकियो, 'डीपीकेहरू नयाँ राजा' बन्न नखोजून् !

औचित्य र सान्दर्भिकता सकिएका पात्रलाई अगाडि सारेर ज्ञानेन्द्रले फेरि वैतरणी तर्ने सपना देखेका छन्, २१ औं शताब्दीको चेतनशील समाजमा ।

पञ्चायतमै गन्हाएका नवराज सुवेदी, जगमान गुरुङ या दुर्गा प्रसाईंजस्ता कुनै जनाधार र पृष्ठभूमि नभएका पात्रलाई अगाडि सारेर व्यवस्था उल्टाउने सपना देख्ने ज्ञानेन्द्रको सोच २००७ सालतिरकै जस्तो ‘ब्ल्याक एन्ड ह्वाइट’ देखिन्छ । 

तीनकुने घटनाको दृश्य

तीनकुनेको आपराधिक घटनाको आलोकमा प्रसाईं पक्राउपछि ज्ञानेन्द्र र राजसंस्था फर्काउँछौ भनेर सपना देख्नेका लागि ‘सेटब्याक’ भएको छ । प्रसाईंको हर्कतका कारण राजतन्त्र मान्ने पार्टीका नेता समेत अप्ठ्यारो र चेपुवामा परेका छन् । 

यस्तो गम्भीर अपराधमा पक्राउ परेका प्रसाईंले सहजै सफाइ पाउने ठाउँ देखिँदैन, उनी कानूनी कारबाहीको दायरामा आइसकेका छन् । शायद प्रसाईंको बयानपछि पूर्वराजा ज्ञानेन्द्र समेत तानिन सक्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रोस्ट्रमबाट भनिसकेका छन्– ‘तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रले उन्मुक्ति पाउने ठाउँ छैन ।’ 

‘उहाँ (पूर्वराजा ज्ञानेन्द्र)ले चैत १४ गते समाज बिथोल्न लागिपरेका एक अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो,’ ओलीले चैत्र १८ गते संसदमा सम्बोधन गर्दा भनेका थिए– ‘आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनुहुन्न । यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु, भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिस मार्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानको संयोजक, धनजनको क्षति र लुटपाट अनि शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ (ज्ञानेन्द्र)हो, उहाँले लिनुपर्छ ।’ 

निर्मल निवास बोलाएर आफैंले छानेको कमान्डरको बबन्डरले ज्ञानेन्द्र शाहलाई बुढेसकालमा छटपटी र बेचैनी बढाएको हुनुपर्छ । तीनकुने घटनाप्रति माफी माग्दै व्यवस्थाविरुद्ध नलाग्न आलमदेवीले ज्ञानेन्द्रलाई सदबुद्धि दिऊन् !

salt training

कमेन्ट गर्नुहोस्