२८ जेठ २०८३, बिहीबार

सप्तरीको भेटेरिनरी कार्यालय भवन ठेक्कामा मिलेमतो, तीन कर्मचारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जेठ २८, २०८३
काठमाडौं
सप्तरीको भेटेरिनरी कार्यालय भवन ठेक्कामा मिलेमतो, तीन कर्मचारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

केन्द्रको भवन निर्माण ठेक्कामा मिलेमतो गरी राज्यलाई १ करोड २६ लाख ९६ हजार रूपैयाँभन्दा बढी नोक्सानी पुर्‍याएको आरोपमा तीन कर्मचारी, एक निर्माण कम्पनी र त्यसका सञ्चालकविरुद्ध आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झा, हनुमाननगर कंकालिनी नगरपालिकाका इन्जिनियर अशोक कुमार सिंह, असिस्टेन्ट सब–इन्जिनियर प्रेम कुमार सिंह तथा राधाकृष्ण निर्माण सेवा र त्यसको प्रबन्धक कौशल्या कुमारी रजकविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा भवन निर्माणका लागि ४ करोड ४९ लाख ९८ हजार २७२ रूपैयाँ लागत अनुमान तयार गरिएको थियो । सार्वजनिक सूचना नै प्रकाशन नगरी सूचना प्रकाशित भएको देखाउने नक्कली पत्रिका प्रति तयार गरी बोलपत्र आह्वान गरिएको अनुसन्धानबाट खुलेको छ ।

बोलपत्र प्रक्रियामा राधाकृष्ण निर्माण सेवा र श्रीराम निर्माण सेवा सहभागी भएकोमा मूल्यांकन समितिले मिलेमतो गरी श्रीराम निर्माण सेवालाई प्राविधिक मूल्यांकनमै अयोग्य ठहर गरेको अख्तियारको आरोप छ । त्यसपछि श्रीराम निर्माण सेवाको आर्थिक प्रस्ताव नै नखोली राधाकृष्ण निर्माण सेवाको बोलपत्र स्वीकृत गरिएको बताइएको छ ।

पुनरावलोकन प्रक्रियापछि सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रतिनिधिको रोहबरमा खोलिएको आर्थिक प्रस्तावमा श्रीराम निर्माण सेवाले मूल्य अभिवृद्धि करसहित २ करोड ८९ लाख ६४ हजार २४१ रूपैयाँ ३१ पैसा कबोल गरेको देखिएको छ । तर राधाकृष्ण निर्माण सेवासँग ४ करोड १६ लाख ६० हजार ५१० रूपैयाँ २ पैसामा सम्झौता गरिएको थियो ।

यसरी कम मूल्यमा काम गर्न तयार कम्पनीलाई अयोग्य बनाएर बढी रकममा ठेक्का सम्झौता गर्दा १ करोड २६ लाख ९६ हजार २६८ रूपैयाँ ७१ पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुगेको अख्तियारले जनाएको छ ।

आयोगले डा. प्रभात झा, अशोक कुमार सिंह र प्रेम कुमार सिंहविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत जनही १ करोड २६ लाख ९६ हजार २६८ रूपैयाँ ७१ पैसा बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको छ ।

यस्तै, राधाकृष्ण निर्माण सेवाकी प्रबन्धक कौशल्या कुमारी रजकविरुद्ध पनि सोही बराबरको बिगो, जरिवाना तथा कैद सजायको माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्