
विश्व फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता ‘फिफा विश्वकप–२०२६’को महाकुम्भ आज रातिदेखि शुरू हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले सन् २०१० को विश्वकप आयोजक दक्षिण अफ्रिकाको सामना गर्दैछ ।
पहिलो पटक ४८ टोलीले सहभागिता जनाएको २३ औं संस्करणमा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक गणतन्त्र समूह ‘ए’मा छन् ।
मेक्सिको सिटीस्थित ऐतिहासिक ‘एस्टादियो एज्टेका’ स्टेडियममा खेलाइने उद्घाटन खेल नेपाली समय अनुसार, शुक्रबार मध्यराति १२:४५ बजे शुरू हुनेछ ।
इतिहास रच्दै ‘एस्टाडियो एज्टेका’
विश्वकपको उद्घाटन खेल शुरू भएसँगै मेक्सिको सिटीको प्रतिष्ठित ‘एस्टाडियो एज्टेका’ रंगशालाले पनि गजबको कीर्तिमान बनाउने छ ।
यो रंगशाला विश्वकपको उद्घान खेल तीनपटक खेलाउने पहिलो रंगशाला बन्नेछ । सन् १९७० मा पहिलो पटक यो रंगशालामा विश्वकपको उद्घाटन खेल खेलाइएको थियो ।
त्यसपछि, सन् १९८६ मा यो रंगशालाले विश्वकपको उद्घाटन खेल आयोजना गर्यो । अहिले, सन् २०२६ को विश्वकपको उद्घाटन खेल पनि यही रंगशालामा खेलाइँदै छ ।
इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउने तयारीमा रहेको यो रंगशालामा यसपटक उद्घाटन खेल खेलाइँदा ८० हजार दर्शक उपस्थित हुनेछन् ।
१६ वर्षअघिको त्यो खेल !
यो खेलले १६ वर्षअघि आयोजित दक्षिण अफ्रिका विश्वकपको उद्घाटन खेलको सम्झना ताजा गराउने पक्का छ ।
सन् २०१० मा जोहानेसबर्गको सकर सिटीमा भएको विश्वकपको पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिकाले १–१ गोलको बराबरी खेलेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५५ औं मिनेटमा लरेन्स सिफिवे साबालालाले दक्षिण अफ्रिकालाई अग्रता दिलाएका थिए ।
प्रतिस्पर्धात्मक खेलको ७९ औं मिनेटमा मेक्सिकोका राफेल मार्क्वेजले जवाफी गोल फर्काएका थिए । त्यो खेल विश्वभरका करोडौं समर्थकको सम्झनामा अहिले पनि ताजै हुनुपर्छ ।
घरेलु समर्थकको साथ र दबाब
फुटबललाई धर्म मान्ने मेक्सिकोका लागि यो १७ औं विश्वकप सहभागिता हो । त्यसैले मेक्सिकोमाथि घरेलु मैदानमा पहिलो खेलमै उत्कृष्ट सुरुवात गर्नुपर्ने ठूलो दबाब रहने छ ।
मेक्सिको फिफा वरीयताको १४ औं स्थानमा छ । आफ्नो उच्च लय र घरेलु मैदानको फाइदा उठाउँदै मेक्सिको सुखद शुरूआत गर्ने धुनमा रहने छ ।
१६ वर्षपछि ‘एस्टाडियो एज्टेका’ स्टेडियममा फेरि त्यही इतिहास दोहोरिँदैछ । यसपटक मेक्सिको घरेलु दर्शकको बलियो समर्थनसहित मैदान ओर्लने छ ।
जेभियर एगुइरेको प्रशिक्षणमा रहेको मेक्सिको पछिल्लो समय उच्च लयमा छ । सन् २०२६ मा खेलेका आठवटा अभ्यास खेलमा मेक्सिको अपराजित छ ।
आठमध्ये ६ खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको मेक्सिकोका खेलाडीको मनोबल पनि निकै उच्च छ ।
यो अवधिमा मेक्सिकोले घाना (२–० गोल), अस्ट्रेलिया (१–० गोल) र सर्बिया (५–१ गोल)जस्ता बलिया टोलीलाई पराजयको स्वाद चखाएको छ ।
दक्षिण अफ्रिकाविरुद्धको खेलमा मेक्सिको ४–३–३ को आक्रामक ढाँचामा मैदानमा ओर्लने सम्भावना छ । कप्तान एड्सन अल्भारेज (डिफेन्डर), अल्भारो फिदाल्गो (मिडफिल्डर) र अनुभवी राहुल जिमेनेज (अग्रपंक्ति) मेक्सिकोका प्रमुख हतियार हुन् ।
सन् १९९४ पछि मेक्सिकोले विश्वकपको आफ्नो पहिलो खेलमा हार ब्यहोरेको छैन । यो तथ्यांकले पनि मेक्सिकोको उत्साह बढाउने सहयोग पुर्याउने छ ।
सन् २०१३ यता मेक्सिकोको टोलीले एस्तादियो आजतेका रंगशालामा कुनै पनि ठूला प्रतियोगितामा पराजय भोगेको छैन । टोलीका लागि यो अर्को सकारात्मक पक्ष हुनेछ ।
मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआ सन् २०१० र सन् २०२६ को विश्वकप टोलीमा पर्ने दुवै टोलीका एकमात्र सक्रिय खेलाडी हुन् ।
यसैगरी, मेक्सिको आफ्ना दुई प्रभावशाली खेलाडी लुइस एन्जेल मालागोन र मार्सेल रुइज बिना नै मैदान ओर्लने छ ।
अन्डरडग दक्षिण अफ्रिकाको चुनौती
अर्कोतिर, दक्षिण अफ्रिका पहिलो खेलमै बलियो आयोजकलाई हराएर बाँकी खेलका लागि आफ्नो मनोबल उच्च बनाउने धुनमा रहने छ ।
१६ वर्षको लामो पर्खाइपछि विश्वकपमा फर्किएको दक्षिण अफ्रिका (बाफाना बाफाना)का लागि यो खेल निकै चुनौतीपूर्ण छ ।
फिफा वरीयताको ६० औं स्थानमा रहेको दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुस आफ्नो टोली ‘अप्रत्यासित’ नतिजा पस्कन तयार रहेको बताउँछन् ।
‘हामीलाई रंगशालाको माहोल र भीडले फरक पार्दैन । हामी आफ्नो खेल योजनामा अडिग छौं’, प्रशिक्षक ब्रुस भन्छन् ।
दक्षिण अफ्रिकी टोली यतिबेला तुलनात्मक रूपमा कठिन अवस्थाबाट गुज्रिरहेको छ । टोलीको पछिल्लो प्रदर्शन खासै उत्साहजनक छैन ।
निकारागुआ र जमैकासँगको बराबरीपछि प्रशिक्षक ब्रुसले टोलीको मानसिकता र खेलस्तरमा ठूलो सुधार आवश्यक रहेको सार्वजनिक रूपमै स्वीकार गरेका छन् ।
दक्षिण अफ्रिकी टोली मेक्सिकोविरुद्धको खेलमा ४–२–३–१ को रक्षात्मक र सन्तुलित संरचनासहित मैदानमा ओर्लने बलियो सम्भावना देखिन्छ ।
कप्तान तथा गोलरक्षक रोनवेन विलियम्स र मुख्य फरवार्ड लिल फोस्टर टोलीका आधारस्तम्भ हुन् । चोटका कारण अन्योलपूर्ण अवस्थामा रहेका प्रभावशाली डिफेन्डर ओब्री मोदिबा अभ्यासमा फर्कनु दक्षिण अफ्रिकाका लागि सकारात्मक पक्ष हो ।
दक्षिण अफ्रिका र मेक्सिकोबीच विश्वकपमा हालसम्म चार खेल खेलिएको छ । त्यसमध्ये मेक्सिकोले दुई र दक्षिण अफ्रिकाले एक खेल जितेका छन् । एक खेल भने बराबरीमा सकिएको थियो ।
समग्रमा, घरेलु समर्थकको अपार माया र हालको उत्कृष्ट लयका कारण मेक्सिको यो खेलमा तुलनात्मक रूपमा केही बलियो देखिन्छ । यसको अर्थ, दक्षिण अफ्रिका कमजोर पक्कै छैन । त्यसैले विश्वकपको उद्घाटन खेलमा जुनसुकै नतिजा आउन सक्छ ।