२९ जेठ २०८३, शुक्रबार
संघर्षको क्यानभासमा रंगिएको जीवन

समाज, साहित्य र संस्कृतिका सेतु– डा. टीएन जोशी

चैत ३०, २०८१
धनगढी
समाज, साहित्य र संस्कृतिका सेतु– डा. टीएन जोशी

साहित्य र पत्रकारिता केवल शब्दहरूको खेल मात्र होइन, यो समाज देखाउने ऐना पनि हो । समाजलाई ऐना देखाउने यात्राका सारथि हुन् डा. टीएन जोशी (डा.त्रैलोक्य नाथ जोशी), जसले साहित्य, लेखनी र पत्रकारितामा मात्र होइन, समाजको हरेक क्षेत्र र पाटोमा परिवर्तन ल्याउन अथक मेहनत गरेका छन् । 

धुलो उडाउने पाखा र हरिया खेतबारीमा हुर्केका थिए डा. जोशी।  डोटीको (हाल धनगढी–२ सन्तोषीटोल) एक साधारण परिवारमा जन्मेका जोशीले पत्रकारिता र साहित्यमा आफ्नो स्थान बनाउन कडा परिश्रम र अपार समर्पण गरेका छन्। 

हजुरबुवाको प्रेरणाले साहित्यकार, सङ्घर्षले पत्रकार 
बाल्यकालमै संस्कृति, कला, भाषा र साहित्यप्रतिको मोह गहिरिँदै गयो। उनका हजुरबुवा तत्कालीन प्रधानपञ्च थिए । कला साहित्य र मनोरञ्जनमा हजुर बुवाको  लगावले उनलाई किताबभन्दा बढी साहित्यमा रम्न सिकायो। ‘कविता (साहित्य) सुनेर होइन, बोलेर महसुस गर्नुपर्छ,’ भन्ने भावनाले उनलाई विस्तारै मञ्चतिर तानेको थियो। कक्षा पाँचमा पहिलो पटक विद्यालयको कार्यक्रममा कविता वाचन गर्दा उनले शिक्षकबाट पाँच रुपैयाँ पुरस्कार पाए। त्यही पाँच रुपैयाँको मिठास अझै उनको स्मृतिमा जीवित छ। रेडियो नेपालमा गुञ्जिने स्वरहरू उनी टाँसिएर सुन्थे – ‘कसरी यति मिठो बोल्न सकिन्छ ?’ भन्दै बाल मष्तिष्कमा कौतुहलता जाग्थ्यो।

स्कुल स्तरमै म्याथ र साइन्सभन्दा नेपाली, साहित्य र उद्घोषण कलामा रुचि राख्ने टीएनले पहिलो कविता ‘खुल्दुली’ लेखे – जुन गुड मर्निङ्ग भन्ने पत्रिकामा प्रकाशित भयो। त्यो पहिलो प्रकाशनले उनलाई आत्मविश्वासको दियो जलायो । एसएलसीपछि धनगढीको कैलाली मल्टिपल क्याम्पसमा अध्ययन गर्दै गर्दा उनले ’सौरभ’ नामक साहित्यिक पत्रिका त्रैमासिक रूपमा निकाल्न थाले। स्थानीय पत्रिकादेखि राष्ट्रिय पत्रिका गोरखापत्र, मधुपर्क,घटनाविचारसम्म उनको कलम चल्न थाल्यो।

null

डा. जोशीको जीवनमा साहित्य र पत्रकारिता छुट्टै दुई धार थिएनन्, बरू एउटै नदीका दुई किनारा जस्तै थिए – जहाँ शब्द बग्थे, आवाज गुन्जिन्थे, र विचारहरू बहसमा उत्रिन्थे। हालसम्म आइपुग्दा रेडियो नेपाल, खप्तड सन्देश, हिमाल अपी, दिनेश एफएम, सुदूर साप्ताहिक, सुन्दराञ्चल राष्ट्रिय दैनिक, महामाया, सुरभी, मालिका, सौरभ, नौलो पाइलो र सगुन यी सबै पत्रिका र मञ्चहरू उनका विचार, दृष्टिकोण र भाषा शैलीले समृद्ध भएका छन्। 

उनका सम्पादकीयहरू केवल सूचना थिएनन्, त्यो समाजप्रति जिम्मेवारी थियो। उनका लेखनमा साहित्यको सौन्दर्य थियो, पत्रकारिताको सत्य थियो,र मानवीय चेतनाको गहिराइ थियो। आज पनि उनले आफ्नो सक्रियता रोकेका छैनन्। उनी निरन्तर लेखिरहेका छन्, सम्पादन गरिरहेका छन् र नयाँ पुस्तालाई कलम समाउने बाटो देखाइरहेका छन्।

null

‘जीवनका दुई धाराहरू—साहित्य र पत्रकारिता। एउटा मनको स्पर्श हो, अर्को यथार्थको प्रतिबिम्ब। यी दुई फरक देखिए पनि जब एउटै व्यक्तित्वभित्र मिल्छन्, तब सिर्जना र सूचना सँगै बहन थाल्छन्। एकातिर कलमले खबर लेख्थ्यो—ठोस, जिम्मेवार र तथ्यपूर्ण। अर्कोतिर त्यो कलमले कविता र गद्यमार्फत् समाजको भावनालाई शब्दमा बाँध्थ्यो—नरम, गहिरो र जीवन्त। रिपोर्टको हेडलाइनमा जुन खबर हुन्थ्यो, त्यसको छाया कहिलेकाहीँ उनका कविताका हरफमा झुल्कन्थ्यो,’ उनी भन्छन् ।

संवाददातादेखि सम्पादकसम्म, १८ वर्षदेखि प्राध्यापनमा 
केएमसीमा ब्याचलर अध्ययन गर्ने बेला उनले एक कार्यक्रममा तत्कालीन सञ्चार राज्यमन्त्रीको उपस्थितिमा उद्घोषण गरेका थिए। ती शब्दहरू यति प्रभावशाली थिए कि मन्त्री स्वयं प्रभावित भएर रेडियो नेपालमा संवाददाताको प्रस्ताव राखे। त्यही मोड थियो जहाँबाट उनको पत्रकारिता विस्तृत भयो । २०५६ सालदेखि २०६६ सालसम्म रेडियो नेपाल सुदूरपश्चिम संवाददाताको हैसियतमा उनले देशको आवाज बन्दै सुदूरका सन्देश काठमाडौं पुर्‍याए। त्यो दशक उनको जीवनको साँच्चिकै आवाजको युग थियो, जहाँ उनले माइक्रोफोनबाट समाजलाई आवाज दिन थाले।

null

जुन समय देशमा माओवादी जनयुद्ध उत्कर्षमा थियो । सुदूरपश्चिममा एफएमहरू खुलेकै थिएनन् । रेडियो नेपाल नै यहाँका आम नागरिकले सुन्ने भरपर्दाे सूचना केन्द्र थियो । सरकारी सेना र विद्रोही माओवादी सेनाको दोहोरो त्रासपूर्ण वातावरणमा उनले त्यसबेला निडर भइ स्थलगत सुदूरपश्चिमका ९ वटै जिल्लामा पुगेर रिपोर्टिङ्ग गर्ने साहस गरेका थिए । त्यसबेला साहसी पत्रकारिता गरेवाफत् रेडियो नेपालले उत्कृष्ट सम्वाददाताका रूपमा सम्मानित गरेको उनी सम्झिन्छन् ।

तर, रेडियो मात्र उनको अभिव्यक्तिको माध्यम थिएन। उनी सम्वाददाताभन्दा पनि सिर्जनाकर्मी थिए – जसले कलमको धारमा यथार्थ कोर्थे। त्यसपछि उनले खप्तड सन्देश, हिमाल अपि, दिनेश एफएम, सुदूर साप्ताहिक, सुन्दराञ्चल राष्ट्रिय दैनिकलगागत दर्जनौँ स्थानीय मिडियामा सम्वाददातादेखि सम्पादकसम्मको जिम्मेवारी पूरा गरिसकेका छन् ।

उनको योगदान यतिमै सीमित छैन। डा. टीएन जोशीका शब्दहरू कागजमा मात्र सीमित छैनन्, यी शब्दहरू जीवन र समाजको हरेक पाटोमा गहिरो प्रभाव पार्दै फैलिएका छन्। पत्रकारिता र मिडियामा अढाइ दशक बिताएका उनले शिक्षामा पनि अथाह योगदान पुर्‍याएका छन्। 

कैलाली, कञ्चनपुरका एसपीए कलेज, कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य कलेज, कृष्ण उच्च माध्यमिक विद्यालय र सिद्धार्थ कलेजलगायत प्रतिष्ठित दर्जन बढी कलेज तथा विद्यालयहरूमा उनले झण्डै दुई दशक पत्रकारिता र नेपाली विषयमा अध्यापन गराइ सकेका छन्। 

null

उनले मिडिया र शिक्षा दुवै क्षेत्रमा आफ्नो अद्वितीय योगदान पुर्‍याएर सुदूरपश्चिमका विद्यार्थी र समुदायलाई गहिरो प्रभाव छोडेका छन्। उनका शब्दहरू र शिक्षाले आज पनि हजारौँ युवालाई प्रेरित र मार्गदर्शन गर्दै आएका छन्। 

लोक संस्कृतिमा पीएचडी, पत्रकारितामा पनि स्नातकोत्तर 
२०५८ सालमा कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह उत्तीर्ण गरेर उनको उच्च शिक्षा यात्रा  शुरू भएको थियो। नेपाली मूल विषयमा स्नातकोत्तर अध्ययन गर्ने मनसायका साथ उनले एक वर्ष ग्याप लिएका थिए।  २०६३ मा त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गरेका डा. जोशी सुदूरपश्चिम फर्किए र एसपीए कलेजले उनलाई अध्यापन गराउन बोलायो। त्यहाँ उनले पत्रकारिता र नेपाली विषयका पाठ्यक्रम पढाउन थाले । 

पत्रकारिता गर्दा गर्दै आमसञ्चार विषयसमेत पढाउन थालेका जोशीलाई पत्रकारितामा समेत डिग्री लिने हुट्हुटीले छोडेन । उनले भारतको इलाहाबाद विश्वविद्यालयबाट आमसंञ्चार र पत्रकारितामा समेत स्नातकोत्तरको उपाधि लिन सफल भए ।

डा.जोशीको पीएचडी यात्रा पनि प्रेरणादायी छ। जोशीले डोटेली संस्कृति र सुदूरपश्चिमको प्रमुख चाड गौरापर्वमा विद्यावारिधि  गरेका छन् । उनले नेपाल संस्कृत विश्वविद्यालयबाट २०७४ सालमा विद्यावारिधिको उपाधि लिएर नेपाल विद्याभूषण ‘क’समेत प्राप्त गरिसकेका छन्।

null

गौरा पर्वको पौराणिक अध्ययनमा विद्यावारिधि गर्दा संस्कृतिविद् प्राध्यापक डाक्टर स्वर्गीय जयराज पन्तले प्रेरणा दिएको उनी सम्झिन्छन् । पत्रकारितामा पनि स्नातकोत्तर (डिग्री) लिएका जोशीलाई पत्रकारितामा पनि विद्यावारिधिका गर्ने धोको छ । यसका लागि आवश्यक तयारी पनि थालिसकेको उनी बताउँछन् ।

साहित्य, समाज र पत्रकारितामा अमिट छाप
डा. टीएन जोशीको योगदान नेपाली भाषा, साहित्य, संस्कृति र पत्रकारितामा विशेष र अमिट छ। साहित्य र संस्कृतिको गहिरो सागरमा डुबुल्की मारेका डा. जोशी हाल सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति हुन्, जहाँ उनको नेतृत्वले यस प्रतिष्ठानलाई नयाँ दिशामा पुर्‍याइरहेको छ। उनको काव्यात्मक र सांस्कृतिक यात्रा केवल एक शैक्षिक पदमा सीमित छैन, बरू उनी समाजका विभिन्न क्षेत्रमा सक्रिय छन् । 

जोशी सुदूरपश्चिमको सबै भन्दा जेठो ऐतिहासिक कैलाली जनपुस्तकालयका अध्यक्ष पनि हुन्, दुई कार्यकाल उक्त पुस्तकालयको अध्यक्षभइ काम गर्दा उनले पुस्तकालयको समग्र विकास र पठन संस्कृतिलाई विस्तार गर्नमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । पुस्तकालयलाई स्मार्ट लाइब्रेरीका रूपमा स्थापितगरी उनकै कार्यकालमा १८ वटा राष्ट्रिय पुरस्कारका लागि अक्षयकोष स्थापना भएका छन् ।

डा. जोशीको साहित्यिक योगदानको एक महत्वपूर्ण भूमिका सुदूरपश्चिमाञ्चल साहित्य समाजको महासचिव र उपाध्यक्षका रूपमा रहेको छ। यस भूमिकामा रहँदा उनले नेपाल र भारतका लेखकहरूको सम्मेलन, राष्ट्रकवि माधव घिमिरेको रथारोहणसहित नागरिक अभिनन्दन, दर्जनौँ स्रष्टाहरूको सम्मान, सन्धानमूलक पत्रिका सुरभिको प्रकाशन, साहित्य समाजको भवन निर्माण तथा नयाँ पुस्तालाई साहित्य र संस्कृतितर्फ आकर्षित गर्न अभियानको थालनी गरे । त्यस्तै, गोदावरी महाकुम्भ २०७२ को मूल आयोजक समितिको महासचिवको रूपमा समेत उनले भूमिका निर्वाह गरे ।

उनको लेखन कविता, गजल, लोक संस्कृति र समालोचना विद्यामा छ। उनको ‘देश रोएका बेला’ गजल संग्रह २०६२ मा प्रकाशित भएको थियो, जसले नेपाली साहित्यमा महत्वपूर्ण स्थान ओगटेको छ। साथै, उनको ‘सुदूरपश्चिमको लोक संस्कृति’ पुस्तक प्रकाशनको तयारी अवस्थामा छ, जसले सुदूरपश्चिमको मौलिक सांस्कृतिक धरोहरलाई उजागर गर्ने उनको विश्वास छ ।

३ दर्जनभन्दा बढी पुरस्कार र सम्मान 
डा. टीएन जोशीले सुदूरपश्चिमको सांस्कृतिक र साहित्यिक समृद्धिमा गहिरो छाप छोड्दै हालसम्म  थुप्रै सम्मान र पुरस्कारहरू प्राप्त गरेका छन्। उनको योगदानलाई कदर गर्दै, नेपाल सरकारले उनलाई राष्ट्रिय प्रतिभा पुरस्कार (२०७८),राष्ट्रिय शिक्षा पुरस्कार (२०७०),नेपाल विद्याभूषण ‘क’ (२०८०)जस्ता प्रतिष्ठित पुरस्कार प्रदान गरेको छ। यसबाहेक बालकृष्ण सम राष्ट्रिय पुरस्कार, देवकान्त लोकसाहित्य पुरस्कार,गलजरत्नको उपाधिसहित विभिन्न साहित्यिक, सामाजिक,शैक्षिक संघसंस्थाहरूबाट ३ दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्। यी पुरस्कारहरूले उनको कडा परिश्रम र सामाजिक योगदानको कदर गरेको छ  ।

null

डा. जोशीको लेखन कार्यले सुदूरपश्चिम नेपालको संस्कृति, समाज र इतिहासलाई सजिलै प्रस्तुत गरेको छ। उनका शब्दहरूले गहिरो प्रभाव पारेका छन् र समाजमा सचेतना फैलाउनमा सघाएका छन्। यी सबै पुरस्कारहरूले उनका असाधारण कार्यहरूको सम्मान गर्ने अवसर प्रदान गरेका छन्, जसले उनलाई नेपालका प्रमुख साहित्यकारहरूको सूचीमा उच्च स्थान दिलाएको छ।

उनी अझै पनि साहित्य र पत्रकारितामा निरन्तर सक्रिय छन् र आफ्नो कलमबाट सामाजिक परिवर्तनका लागि काम गरिरहेका छन्।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान, साहित्य र संस्कृति उत्थानको नयाँ युग
२०७९ असोज ६ गते, सुदूरपश्चिम प्रदेश सरकारले उनलाई सुदूरपश्चिम प्रज्ञा ̵प्रतिष्ठानको पहिलो उपकुलपति पदमा नियुक्ति गर्‍यो ।  यो नियुक्ति सुदूरपश्चिमको साहित्य र सांस्कृतिक क्षेत्रका लागि एक नयाँ युगको शुरूआतको सङ्केत थियो। डा. जोशीको नेतृत्वमा सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले सुदूरपश्चिमको सांस्कृतिक धरोहरलाई उजागर गर्दै यसको संरक्षण र संवर्द्धनका लागि प्रभावकारी कदम चालिरहेको छ।

डा. जोशीले सुदूरपश्चिममा प्रज्ञा-प्रतिष्ठानको जग बसाएका छन् र यसको कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन र संस्थाको मूल उद्देश्यलाई स्पष्ट गर्दै अनेकौँ चुनौतिका बाबजुद यहाँको साहित्य र संस्कृति जगेर्ना गर्न अथाह प्रयासहरू गरेका छन्। उनका अविस्मरणीय कार्यहरूका कारण अहिले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा स्रष्टाहरूबाटै चयन हुने नयाँ परिपाटी आरम्भ भएको छ।

उनको नेतृत्वमा सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले नियमित रूपमा ‘सगुन’ नामक अनुसन्धानमूलक ग्रन्थ प्रकाशन गर्दै यहाँका साहित्यकारहरूको कृतित्वलाई प्रोत्साहित र सम्मानित गरेको छ। सुदूरपश्चिमको लोक संस्कृतिको सम्वर्द्धनमा यस ग्रन्थले महत्वपूर्ण योगदान दिएको छ । डा. जोशी नै यस ग्रन्थका प्रधान सम्पादक हुन् र यसले सुदूरपश्चिमका साहित्यकारहरूको रचनाशीलता र सांस्कृतिक धरोहरलाई एक ऐतिहासिक दस्ताबेजका रूपमा जोगाउँदै आएको छ।

साहित्य र संस्कृतिको उत्थानमा डा. जोशीको योगदान व्यापक छ। उनले सुदूरपश्चिमका उत्कृष्ट रचनाकारलाई विभिन्न विद्यामा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गर्ने कार्य शुरूआत  गरेका छन् । जसबाट प्रदेशका दर्जनौँ स्रष्टाहरू सम्मानितसमेत भइसकेका छन्। न्यूनतम २० हजारदेखि १ लाखसम्मका विभिन्न पुरस्कारहरूले यहाँका रचनाकारहरूको हौसला र समर्पणलाई सम्मानित गरेको छ।

प्रादेशिक लोकनृत्य महोत्सव, प्रादेशिक ललितकला प्रदर्शनी, प्रादेशिक कविता महोत्सव, प्रादेशिक लोक साहित्य महोत्सव, प्रादेशिक लोक गायन प्रतियोगिता, बहुभाषिक अन्तराष्ट्रिय साहित्यिक सम्मेलन, पहमानसिंह स्वार राष्ट्रिय साहित्य सम्मेलन, सुदूरपश्चिमका विभिन्न जिल्लामा साहित्यिक र सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गर्दै प्रदेश भित्रका रानाथारू, डगौरा थारू, मगर, राउटे, राजीलगायत विभिन्न लोपोन्मुख जातजातिको सांस्कृतिक अध्ययनमा समेत कार्य अगाडि बढाएका छन् ।

अनुसन्धानात्मक कृतिहरूको प्रोत्साहनका लागि डा. जोशीले विभिन्न क्रियाकलापहरू सञ्चालन गरेका छन्। यहाँका नौ वटै जिल्लामा भाषा, साहित्य र कला सम्बन्धी जागरण अभियान चलाइरहेका डा. जोशीले सुदूरपश्चिमका कला र सांस्कृतिक गतिविधिहरूलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन आफ्नो अहम् भूमिका रहने प्रतिबद्धता जनाएका छन्।

उनका नेतृत्वमा, टीकापुर र धनगढीमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलनहरू सफलतापूर्वक आयोजना भएका छन्, जसले सुदूरपश्चिमको साहित्यिक क्षितिजलाई थप विस्तार दिएको छ। डा.जोशीका अर्को महत्वपूर्ण पहल भनेको यहाँका साहित्यकार र कलाकारहरूको परिचय कोष तयार गर्ने कार्य हो, जसले सुदूरपश्चिमका कलाकारहरूको पहिचान र सम्मान बढाउने कार्यमा ठूलो भूमिका खेल्नेछ।

null

डा.जोशीका योजनाहरू यथार्थमा परिणत हुने तर्फ उन्मुख छन्। उनले यहाँका कलाकारहरूको आपतकालीन समस्याहरू समाधान गर्न झन्डै एक करोडको अक्षय कोष स्थापना गर्ने योजना बनाएका छन्। यसका साथै, देउडा संस्कृति पुरस्कारको स्थापना र देउडा आइडलको आयोजना गर्दै देउडा संस्कृतिको प्रोत्साहन र संरक्षणमा समेत नयाँ दिशा दिने कार्य गर्ने उनले सोच बनाएका छन् ।

यसरी डा.टीएन.जोशीको नेतृत्वमा सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले एक नयाँ युगको प्रारम्भ गरेको छ, जहाँ सृजनशीलता, समर्पण र सांस्कृतिक उत्थानको नयाँ अभियानको थालनी भएको छ।

डा. जोशी विगत २५ वर्षदेखि नेपाली भाषा, साहित्य, कला, संस्कृति र पत्रकारिताको क्षेत्रमा सक्रिय छन् । सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान, कैलाली जनपुस्तकालय, सुदूरपश्चिमाञ्चल साहित्य समाज, नेपाल प्रेस युनियन कैलाली,नेपाल पत्रकार महासंघ कैलाली, विद्यार्थी साहित्य प्रतिष्ठानलगायत संघ संस्थाको नेतृत्व गर्दै  डा. जोशीले साहित्य, कला र संस्कृति क्षेत्रमा अनगिन्ती क्रियाकलापहरू सञ्चालन गरेर सुदूरपश्चिमको सांस्कृतिक परम्परा र रचनात्मकता बढाउने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

डा.जोशीको साहित्यिक भ्रमणको दायरा पनि अत्यन्त विस्तृत छ। नेपाल, भारत, इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड, सिङ्गापुर, बर्मा र तिब्बतका सांस्कृतिक धरोहर र साहित्यिक परिवेश अध्ययन गर्न उनले वैदेशिक यात्रा समेत गरेका छन्। 

डा. टीएन जोशीको साहित्यिक र सांस्कृतिक योगदान केवल शब्दमा मात्र सीमित छैन, उनको योगदान सुदूरपश्चिमको भाषा र संस्कृति, नेपाली साहित्य र पत्रकारिता क्षेत्रको विकासमा अमिट रहनेछ।

कमेन्ट गर्नुहोस्