०३ असार २०८३, बुधबार

डढेलो न्यूनीकरणमा के गरिरहेको छ गण्डकी प्रदेश सरकार ?

चैत ३१, २०८१
पाेखरा
डढेलो न्यूनीकरणमा के गरिरहेको छ गण्डकी प्रदेश सरकार ?

गर्मीयाम शुरू भएसँगै गण्डकी प्रदेशका १६० स्थानका वनमा डढेलो लाग्यो । फागुन यतादेखि १५ सय ६७ हेक्टर वन क्षेत्रमा डढेलो लागेको वन निर्देशनालय गण्डकीको तथ्यांक छ ।

निर्देशनालयका अनुसार यसबीचमा आगलागीबाट ४ गौशाला र ३ घरमा क्षति पुगेको छ । गतवर्ष प्रि-मनसुन शुरू भएदेखि वैशाख दोस्रो सातासम्म गण्डकीका ४६७ स्थानमा डढेलो लागेको थियो । सो अवधिमा ८ हजार २७७ हेक्टर क्षेत्र प्रभावित भएको थियो ।

यसपटक फागुनदेखि लागेको डढेलोले सबैभन्दा बढी नवलपुरको २९ स्थान प्रभावित भएका छन् । निर्देशनालयका अनुसार हालसम्म नवलपुरको ७९३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । 

कास्कीका २७ स्थानमा डढेलो लाग्दा रूपाताल परियोजनाले कटान गरेको काठमा क्षति पुगेको छ । यस्तै, तनहुँका १२ स्थानमा लागेको डढेलोले रुख बिरुवा जलेर क्षति पुर्‍याएको छ । 

पछिल्ला वर्षमा डढेलोको समस्या मनसुनको समयमा नेपालले भोगेको डरलाग्दै चुनौती हो । सरकारले डढेलो नियन्त्रणका लागि विभिन्न कार्यक्रम पनि गर्दै आइरहेको छ । डढेलो सम्बन्धी सचेतनामूलक कार्यक्रमदेखि सामाजिक सञ्जालमार्फत् सचेतना फैलाउने काम सरकारी तवरबाट भइरहेको छ । 

वन निर्देशनालय गण्डकीका वन अधिकृत तिलक थापाका अनुसार डढेलो रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् । 

‘डढेलो सचेतना कार्यक्रम भनेर सामुदायिक वन उपभोक्ता समूहहरूसँग सचेतनाको काम गर्छौं । विद्यालय शिक्षा कार्यक्रम, सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा ज्वलनशील पदार्थ व्यवस्थापन गर्ने, ट्रलीसहितको पानी ट्यांकी निर्माण लगायतका काम भएका छन्’, थापाले भने । 

आर्थिक वर्ष २०८१/०८२ मा वन डढेलो नियन्त्रणमा १ करोड ४४ लाख रूपैयाँ विनियोजित भएको छ । प्रदेशका ११ जिल्लाका लागि विनियोजित यस बजेटले वन डढेलो नियन्त्रण सम्बन्धी प्रचारप्रसारदेखि डढेलो नियन्त्रण उपकरण खरिद शीर्षकमा बजेट छुटाइएको छ । 

डढेलो नियन्त्रणका लागि सरकारको यो असफल प्रयासले क्षति रोक्न भने सकिरहेको छैन । प्रदेशले विनियोजन गरेको यो बजेट विशेषगरी वन डढेलो नियन्त्रण सम्बन्धी प्रचारप्रसार, स्कूल शिक्षा कार्यक्रम, सचेतनाका गोष्ठी शीर्षकमा छुट्याइएको छ । डिभिजन वन कार्यालय, तनहुँले मात्र वन डढेलो नियन्त्रण उपकरण खरिद शीर्षकमा रकम छुट्याएको छ ।

वन डढेलोबाट सबैभन्दा बढी नवलपुर प्रभावित हुन्छ । यसवर्ष पनि नवलपरासीको ७९३ हेक्टर क्षेत्रमा वन डढेलो लागेको छ । पछिल्ल्लो समय डढेलो लाग्नुमा मानवीय कारणसँगै जलवायु संकट पनि जोडिन्छ । जसमा डढेलोको लागि इन्धनका रूपमा काम गर्ने सुक्खा पातपतिंगरले थप समस्या बढाउने गर्छन् । 

विकसित देश जस्तै; संयुक्त राज्य अमेरिका, अस्ट्रेलियाले जंगलको आगो नियन्त्रण र रोकथाम गर्न उन्नत प्रविधि र सक्रिय वन व्यवस्थापन रणनीतिको प्रयोग गर्छन् । जसमध्ये प्रमुख विधि हो वनस्पति व्यवस्थापन । जहाँ सुक्खा पात, झाडीलाई विशेष वन उपकरण, जस्तै; मल्चिङ मेसिन, काट्ने ब्लेडसहितको बुल्डोजर प्रयोग गरेर हटाइन्छ । प्रारम्भिक पहिचानका लागि नासा र युरोपेली अन्तरिक्ष एजेन्सी जस्ता निकायहरूले उपग्रहमा आधारित थर्मल इमेजिङ प्रयोग गर्छन् । अन्तरिक्षबाट ताप संकेतको निगरानी गर्नाले आगोको प्रकोपलाई फैलिनुअघि न्यूनीकरण गर्न सकिन्छ । 

वन डढेलो न्यूनीकरणमा नवलपरासीको प्रयास 
वन डढेलो नियन्त्रणका लागि प्रदेशले छुट्याएको बजेट अधिकांश सचेतनामूलक गोष्ठी कार्यक्रमलाई छुट्याइएको छ । नवलपुर जिल्लाले वन डढेलो न्यूनीकरण र रोकथामका लागि भने भिन्न रूपमा काम गरिरहेको छ । 

नवलपुरले एक वर्ष यतादेखि डढेलो नियन्त्रणका लागि (विन्ड ब्लोअर)मेसिन प्रयोग गर्दै आएको छ । डढेलो नियन्त्रणमा हावाको झोक्का दिने यस मेसिनले सुकेका पात हटाउन मद्दत गर्छ । जसले गर्दा आगो फैलिन नदिन फायरब्रेक बनाउन सकिन्छ । आगलागी भइरहेका क्षेत्रमा ब्लोअर प्रयोग गरेर आगोको दिशा नियन्त्रित गर्न सकिन्छ । अग्नि नियन्त्रण टोलीका लागि उपयोगी रहेको ब्लोअरले आगोको फैलावटलाई सीमित गर्न मद्दत गर्छ । 

डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिशिर लम्साल यो ब्लोअर बहुउपयोगी भएको बताउँछन् । 

‘पातहरू उडाएपछि फायरलाइन सफा गर्नका लागि पनि प्रयोग हुन्छ । डढेलो नलाग्दै पूर्वतयारीको रूपमा प्रयोग हुन्छ । डढेलो लागेकोतिर जल्न बाँकी पदार्थ त्यतैतिर पठाएर त्यहाँ फायरलाइन तत्काल काटेर वन डढेलोलाई थप बढ्न नदिन प्रयोग हुन्छ । जल्ने जति जल्छ, त्योभन्दा अगाडि बढ्न पाउँदैन । यो चाहिँ फायरलाई ब्रेक गर्न खोजेको’, सूचना अधिकारी लम्सालले बताए । 

यो बाहेक वन डिभिजन नवलपरासीले प्रज्वलनशील पदार्थ मानिने वनमारालाई काटेर जैविक मल बनाउने काम गरिरहेको छ । 

यता, वन डढेलो न्यूनीकरणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले समुदायस्तरमा सचेतनामूलक काम गरिरहेको प्रमुख रविन कडरिया बताउँछन् । 

‘बढी मात्रामा समुदायमा सचेतनाका कार्यक्रम गरेका छौं । आगलागी भयो भने समुदाय परिचालन गरेर निभाउने प्रयास पनि भएको छ । अटेर गरेर आगलागी गरेमा त्यसलाई कानूनी कारबाही पनि गरेका छौं । समुदायले घरमा मल बनाउन वा छापो बनाउन लैजान सक्नुहुन्छ । त्यसलाई छेकबार छैन’, एक्याप प्रमुख कडरियाले भने । 

उनका अनुसार गत वर्ष एक्यापका ४२ स्थानमा डढेलो लागेको थियो । डढेलो लागेका स्थान अधिकांश बस्ती नजिक रहेको उनको भनाइ छ । यस्तै, एक्यापले समुदायस्तरसँग मिलेर वन डढेलो न्यूनीकरणका लागि नयाँ काम शुरू गर्ने बताए । 

‘हामीले आगामी दिनमा समुदाय परिचालन गरि गाउँ वस्ती नजिकको क्षेत्रबाट सुक्खा पात हटाएर मल बनाउने अभियान पनि शुरू गर्ने भन्ने सोचिरहेका छौं’, कडरियाले भने ।

salt training

कमेन्ट गर्नुहोस्